प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच द्वन्द्व छैन : मुख्यमन्त्री शाही

 भदौ २५, २०७५ सोमबार १४:५३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी ओली र मुख्यमन्त्रीहरुबीच द्वन्द्व नरहेको स्पष्ट पार्नु भएको छ । 

मुख्यमन्त्री शाहीले संविधानले सबै अधिकारको व्यवस्था गरेकाले संघीय सरकार र प्रदेश सरकारबीच द्वन्द्व हुने कारण नरहेको प्रष्ट्याउनु भएको हो । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले संविधानको बर्खिलापमा भने कोही पनि जान नहुने चेतावनी दिनु भयो । 

मुख्यमन्त्री शाहीले संविधानले सबै अधिकार दिएकाले ‘संघीय सरकारले दिने र प्रदेशले लिने’ भन्ने सोचाई नराख्न पनि सबैलाई आग्रह गर्नुभयो । उहाँले अभाव भएका कर्मचारीको व्यवस्थापनका लागि पनि प्रदेशमै लोक सेवा आयोग गठन गर्ने संविधानमै व्यवस्था भएकाले यस सम्बन्धमा पनि प्रधानमन्त्री ओलीसँग असन्तुष्टि राख्नु पर्ने कारण नरहेको पनि स्मरण गराउनु भयो ।

मुख्यमन्त्री शाहीले एक वर्षभित्र कर्णाली प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने घोषणा पनि गर्नु भयो । उहाँले स्थानीय स्तरमै मल, बीउ उत्पादन गरी कृषकहरुलाई निःशुल्क वितरण गर्ने योजना पनि अघि सार्नु भयो । कर्णाली प्रदेशलाई कृषि र पर्यटन क्षेत्रको विकास गरेर समृद्ध बनाउने मुख्यमन्त्री शाहीको भनाई छ ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश गरिब नभएको र यसलाई छिट्टै समृद्ध बनाउन लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया