हेपाटाइटिस ‘बी’ फैलिएको आशंकामा मन्त्रालयको टोली डोटीमा

 भदौ २५, २०७५ सोमबार १५:३:२१ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको जोरायल गाउँपालिका वडा नम्बर –२, छतिवनमा हेपाटाइटिस ‘बी’ फैलिएको आशंकामा प्रदेश नम्बर ७ को सामाजिक विकास मन्त्रालयको टोली मंगलबार छतिवन पुगेको छ । 

छतिवनको रुपसकाँडा गाउँमा केही दिन यता हेपाटाइटिस ‘बी’ को सन्त्रास फैलिएपछि स्थानीय नागरिकको विशेष आग्रहमा डाक्टर विकास दुवाडीलगायत ५ जनाको टोली छतिवन पुगेको हो । हेपाटाइटिस ‘बी’ हो वा होइन पत्ता लगाउन स्वास्थ्य परीक्षण गर्ने गरी प्राविधिक उपकरणसहित टोली छतिवन पुगेको डा. दुवाडीले बताउनुभयो । जोरायल गाउँपालिका वडा नं. २ का अध्यक्ष मानबहादुर मल्लका अनुसार त्यस गाउँका ७/८ जनामा हेपाटाइटिस ‘बी’ प्रमाणित भइसकेको छ ।

हेपाटाइटिस ‘बी’ को आशंकामा गाउँका केही व्याक्तिले बाँकेको कोहलपुरमा र केहीले कैलालीको अत्तरियामा रगत जाँच गराएको बुझिएको छ । रुपसकाँडा गाउँमा ३ जना व्यक्तिमा २०७३ सालदेखि नै हेपाटाइटिस ‘बी’ रोग रहेको र उनीहरुले हाल औषधि सेवन गरिरहेको वडाध्यक्ष मल्लले बताउनुभयो । झण्डै एक सातादेखि फेरि उक्त गाउँमा हेपाटाइटिस ‘बी’ फैलिएको आशंकामा एक सय ५१ जनाले रगत परीक्षण गराएको जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘रुपसकाँडा गाउँमा हेपाटाइटिस ‘बी’ फैलिएको छ भन्ने खबरले सबै गाउँलेले आ–आफनो रगत परीक्षण गराउन थालेका छन् । रगत जाँचको रिपोर्ट आएपछि सबै कुरा थाहा हुन्छ ।’
 

अन्तिम अपडेट: चैत १८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Shiva sk

    Sept. 10, 2018, 3:16 p.m.

    होइन, त्यस्तो कुन बिमारी होला /

  •  0 Reply

तपाईको प्रतिक्रिया