पुनर्निर्माणले महंगियो कामदारको ज्याला

 जेठ २०, २०७५ आइतबार १८:५८:११ | शिव ढुंगाना

ओखलढुंगा – गएको वर्षसम्म एक दिन काम गर्ने दक्ष कामदारलाई लिखु गाउँपालिका वडा नम्बर–६, गाम्नाङ्टारका निलकमल भट्टराईले सात सय रुपैयाँ दिएर काम लगाउनुभएको थियो ।

भूकम्पले भत्काएको घर निर्माण गर्न उहाँले यो साल कामदार नै पाउनुभएन । पश्चिम नेपालको कैलाली र कञ्चनपुरबाट कामदारको रुपमा ओखलढुंगा आएका दक्ष कामदारलाई एक हजार दुई सय रुपैयाँ दिएर काम लगाएको बताउनुभयो ।

चिसंखुगढी गाउँपालिका वडा नम्बर–३, दियालेका पुष्पलाल ढुंगानाले पनि घर पुनर्निर्माण गर्न खाना र खाजा समेत दिएर कामदारलाई प्रतिदिन एक हजारका दरले काम लगाउनुभयो । दुई वर्ष यता काम नै लगाउन नसकिने गरी कामदारको ज्याला बढेको उहाँको भनाई छ ।

‘गाउँमा प्रशस्त कामदार नपाइने, दक्ष कामदारको भाउ त दोब्बर बढेको छ’, उहाँले भन्नुभयो, ‘कामदार लगाउनै नसक्ने अवस्था आयो ।’ गाउँका युवाहरु विदेश गएपछि गाउँमा कामदार नै नपाइने उहाँको भनाई छ । भूकम्पको पुनर्निर्माणका लागि तालिम प्राप्त कामदार प्रशस्त नभएपछि कामदारले माग अनुसारको ज्याला नदिए घर निर्माण गर्नै नसकिने अवस्था रहेको चिसंखुगढी २ का बलबहादुर परियारले बताउनुभयो ।

‘निम्न आय भएका गरिबहरुले कामदार लगाउनै नसक्ने अवस्था आयो’, परियारले भन्नुभयो । जिल्ला दररेट समितिले तय गरेको ज्याला दक्ष कामदारको ७ सय मात्रै छ । तर, पुनर्निर्माणको कामले कामदारको ज्याला दोब्बर पुगेको सुनकोसी गाउँपालिका ५ का वडा अध्यक्ष गोविन्द तामाङले बताउनुभयो ।

अनुदानको किस्ता लिन हतारमा काम गर्नु पर्ने भएकाले मागे अनुसार नै दाम दिएर काम लगाउने प्रचलनले कामदारलाई फाइदा भएको उहाँको भनाई छ ।  
भूकम्पको पुनर्निर्माणमा राम्रो आम्दानी भएको कैलालीबाट मिस्त्रीको काममा ओखलढुंगा आएका गोपाल जोशीले बताउनुभयो । ‘अहिले राम्रै फाइदा छ, हाम्रो गाउँभन्दा ज्याला निक्कै बढी छ’, उहाँले भन्नुभयो । 

पुनर्निर्माणका कामदार प्रयाप्त नहुँदा ज्यालादर मनपरी रुपमा बढेको स्थानीयको गुनासो छ । ओखलढुंगामा पुनर्निर्माणको तालिम लिएका दक्ष कामदारको संख्या ७ सय हाराहारी मात्रै छ । ओखलढुंगामा भूकम्पले क्षति पुगेका १७ हजार घर निर्माण भइरहेका छन् । कामदारको ज्याला निर्धारण गर्न स्थानीय सरकारसँग स्थानीयले माग गरेका छन् । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया