कृषि विकास बैंकका एक जना कर्मचारीले गरे म्यानेजरको आईडी ह्याक गरी लाखौँ अनियमितता

 भदौ २५, २०७५ सोमबार १७:१७:५१ | उज्यालो सहकर्मी

बाँके – बाँकेको खजूरा बजारमा रहेको कृषि विकास बैङ्कको शाखा कार्यालयमा एक जना कर्मचारीले बैङ्क प्रबन्धकहरुको आईडी ह्याक गरी लाखौं रुपैयाँ अनियमितता गरेको पाइएको छ । 

अनियमितताको घटना सार्वजनिक भएपछि व्यवसाय सहायक घनश्याम अधिकारीलाई निलम्बन गरिएको छ । ६६ लाख रुपैयाँ हिनामिना गरिसकेका अधिकारीले  गएको साउन ४ गते चार करोड २८ लाख रुपैयाँ अनियमितता गर्न खोजेपछि केन्द्रीय कार्यालयको टोलीले छानबिन सुरु गरेको हो । कृषि विकास बैङ्क खजूरा शाखाका प्रमुख सञ्जय श्रेष्ठले कर्मचारीबाट ६६ लाख रुपैयाँ बैङ्कमा दाखिला भएको जानकारी दिनुभयो ।

‘यस विषयमा आन्तरिक छानबिन चलिरहेको छ, मैले धेरै कुरा भन्न मिल्दैन’, शाखा प्रबन्धक श्रेष्ठले भन्नुभयो, ‘केन्द्रीय टोलीले छानविन गरिरहेको छ ।’ अधिकारीले एकैपटक धेरै रकम स्थानान्तरण गर्न लागेपछि पेन्डिङ्गमा बसेपछि केन्द्रीय कार्यालयले शंकास्पद भन्दै अनुसन्धान थालेको हो ।  खजूरा शाखाबाट एकै पटक दुई करोड भन्दा बढी स्थानान्तरण नहुने भएकाले चार करोड २८ लाख रुपया पेण्डिङ्गमा बसेको हो ।

अधिकारीले करिब दुई वर्षको अवधिमा थप रकम पनि अनियमितता गरेको हुन सक्ने भन्दै अनुसन्धान भैरहेको बैङ्क श्रोतले जनाएको छ । अधिकारीलाई भदौ १३ गते निलम्बन गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया