६ वटा ‘ए’ डिभिजन क्लबलाई काठमाडौं महानगरपालिकाले दियो प्रतिटिम ९ लाख ३० हजार

 भदौ २५, २०७५ सोमबार १७:५८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ६ वटा ‘ए’ डिभिजन क्लबलाई प्रतिटिम ९ लाख ३० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
 
झन्डै चार वर्षपछि हुन लागेको शहीद स्मारक ‘ए’ डिभिजन लिगलाई मध्यनजर गर्दै महानगरपालिकाले काठमाडौंका ६ ‘ए’ डिभिजन क्लबलाई ५ लाख नगद र ४ लाख ३० हजार बराबरको खेल सामग्री हस्तान्तरण गरेको हो ।
 
सोमबार एक कार्यक्रमकाबीच महानगरले क्लबहरुसँग सम्झौता पत्रमा हस्ताक्षरमा पनि गरेको छ ।
 
महानगरपालिकाले काठमाडौं जिल्लाभित्रका सिएमजी क्लब संकटा, न्युरोड टिम (एनआरटी), मच्छिन्द्र क्लब, लक्ष्मी हुन्डाई मनाङ–मर्स्याङदी क्लब, सरस्वती युवा क्लब र हिमालयन शेर्पा क्लबलाई सहयोग गरेको हो ।
 
यी बाहेक ‘ए’ डिभिजन लिगमा रुस्लान थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, च्यासल युवा क्लब, फ्रेन्डस् क्लब, ब्रिगेड ब्वाइज क्लब र जावलाखेल युथ क्लब रहेका छन् ।
 
कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष तथा हिमालयन शेर्पा क्लवका अध्यक्ष कर्मा छिरिङ शेर्पाले घरेलु फुटबलमा सरकारी निकायको सहयोग अपरिहार्य रहेकोमा काठमाडौं महानगरले त्यसको सुरुआत गरेकोमा कृतज्ञता व्यक्त गरे ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पहिलो चरणमा सानो रकम सहयोग प्रदान गरिए पनि भविश्यमा यसलाई थप गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । उनले आसन्न ए डिभिजन लिगमा काठमाडौं जिल्लाकै टोलीले उपाधि जितेको हेर्न चाहेको पनि बताए ।

‘ए’ डिभिजन लिग असोज १३ बाट हुँदैछ । जसमा १४ क्लबले भाग लिनेछन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया