सांसदको प्रश्न, प्रधानन्यायाधीश मिश्रको जवाफ

 भदौ २६, २०७५ मंगलबार ७:४०:१८ | रासस
unn.prixa.net

काठमाडौं – प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा भ्रष्टाचारको अन्त्य गरी  नागरिकको अदालतप्रति आशा बढाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

संसदीय सुनुवाइ समितिमा परेका उजुरी र भावी कार्ययोजनाका बारेमा सुनुवाइका क्रममा उहाँले अदालतमा हुने गरेको भ्रष्टाचारलाई अन्त्य गरी नागरिकको न्यायमाथिको विश्वास बढाउने काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“अदालतमा भ्रष्टाचारी र बिचौलियालाई प्रवेश नै निषेध गर्न गोप्य निगरानी गर्ने संयन्त्र बनाउने योजना छ, यदि त्यस्ता व्यक्ति प्रवेश गरेको पाइएमा आकस्मिक निरीक्षण गर्ने योजना छ”, मिश्रले भन्नुभयो, “मेरो कार्यकालमा अदालतमा भ्रष्टाचार र बिचौलियाको अन्त्य गर्नेछु, आम नागरिकमा न्यायालयप्रतिको आस्था बढाउने काम गर्नेछु ।”

प्रधानन्यायाधीश मिश्रले न्याय सम्पादनका क्रममा आफूले १७ हजार मुद्दा फैसला गरेको बताउनुभयो । मिश्रको इजलासबाट  ‘साना गाडीको प्रयोग कम गरी ठूला गाडी चलाउँदा धुलोधुवाँ नियन्त्रण हुँदा काठमाडौँको वातावरणमा सुधार’ हुने तथा राजदूत कूटनीतिक क्षेत्र भएकाले नियुक्तिमा योग्यता चाहिन्छ भन्ने फैसला भएको छ । 

फेवातालको अतिक्रमण हटाउन र सुन्दर पोखरा बनाउन निर्देशनात्मक आदेश  तथा विज्ञापनमा महिलालाई प्रस्तुत गर्दा होर्डिङमा सभ्य र सम्मानित हुने गरी प्रस्तुत गर्नुपर्ने फैसला भएको छ ।  संसदीय सुनुवाइ समितिमा परेका उजुरी र भावी कार्ययोजनका बारेमा सांसदले सोधेका प्रश्नमाथि मिश्रको जवाफ जस्ताको तस्तै : 

सांसद ज्ञानेन्द्रबहादुर कार्की : छिटो न्यायका लागि तपार्इंको योजना के छ ? 

मिश्रः न्याय ढिला हुन्छ भन्ने आरोप छ । संविधानले गरेको २१ न्यायाधीशको व्यवस्थामा अहिले १९ न्यायाधीश मात्रै छौंँ । मुद्दाको गम्भीर्यअनुसार सुनुवाइ गर्नुपर्ने हुन्छ । जिल्ला र उच्च अदालतमा मुद्दा फछ्र्याेट निकै राम्रो छ । सहजताका लागि मोबाइल एप्सबाट पेशी हेर्न सकिने र  प्रतिनिधिको सुविधा नभएको मुद्दामा पेशीका बारेमा  मोबाइलमा सन्देश पठाउने काम गरेका छौँ । 

सांसद जीतेन्द्रनारायण देव : अदालतमा राजनीतिक चलखेल पनि हुने गरेको छ । राजनीतिक प्रभावलाई अन्त्य गर्ने योजना के छ ? 

मिश्र : म २०४६ सालदेखि न्याय सम्पादनमा छु । मैले कुनै प्रकारको राजनीतिक प्रभाव अदालतमा परेको महसुस गरेको छैन । न्याय परिषद्बाट न्यायाधीश नियुक्त गर्ने बेलामा केही असर होला । अदालतमा आएपछि जुनसुकै पृष्ठभूमिबाट आएको भए पनि प्रभाव पर्दैन । 

सांसद राजेन्द्र श्रेष्ठ : समानुपातिक समावेशीतलाई न्यायलयले अपनाएको देखिदैन ? 

मिश्र : संविधानको भावनाअनुसार अदालतले समानुपातिक समावेशितालाई कार्यान्वयन गर्नुपर्ने हुन्छ । सर्वोच्च अदालतमा हाल दुई महिला न्यायाधीश हुनुहुन्छ । उच्चमा १० र जिल्ला अदालतमा चार जना न्यायाधीश हुनुुहुन्छ । राजपत्र प्रथम श्रेत्रीमा दुई जना, राजपत्र द्वितीय श्रेणीमा चार जना र तृतीय श्रेणीमा ५१ जना हुनुहुन्छ ।

सांसद पुष्पा भुसाल : उच्च अदालतका ८० न्यायाधीशको मुद्दा विचाराधीन छ । विचाराधीन मुद्दामा रहेका व्यक्तिले न्याय सम्पादन गर्दा न्याय कसरी प्रभावकारी हुन्छ ?

मिश्र : उच्च अदालतका ८० न्यायाधीश नियुक्तिको विवादित विषय संवैधानिक इजलासमा छ । त्यो चाँडै नै निष्कर्षमा पुर्याउने विश्वास दिलाउन चाहन्छु । 

सांसद पार्वत गुरुङ : न्यायपालिकाको व्यवस्थापिका र कार्यपालिकासँग समन्वयकारी भूमिका किन छैन ? 

मिश्र : न्यायाधीशले कानून, नजीर हेरेर फैसला गर्ने हो । त्यहीअनुसार गरेका छौँ । 

सांसद योगेश भट्टराई : आम मानिसको पहुँचबाट न्यायालय टाढा छ । कसरी सहज ढङ्गले न्यायमा पहुँच बढाउनुहुन्छ ? वेबसाइटमा सबै मुद्दा हर्ने व्यवस्था गर्न सकिन्छ ? गलत तरिकाले प्रभावित भएर फैसला गर्दा मुलुकका लागि न्यायालय डरलाग्दो स्थिति बन्दै गएको छ नि ? 

मिश्र : आम नागरिकको न्यायमा पहुँच बढाउने प्रयासमा छौँ । वेबसाइटबाट मुद्दाको पेशी हेर्ने व्यवस्था छ । यो वर्ष मुद्दा हार्ने पक्षलाई जित्ने पक्षले खर्च व्यहोर्नुपर्ने व्यवस्था पनि गर्ने तयारी हुँदै छ । तीन चार महिनामा यो कामले सफलता लिन थाल्छ ।    

सांसद नीरुदेवी पाल : न्यायालय विकासको अवरोध बन्यो भन्ने आरोप छ नि ?

मिश्र : विकासमा न्यायालयले अवरोध गर्दैन । न्यायालयले कानून र नजीरका आधारमा आदेश दिने हो । 

सुनुवाइका क्रममा प्रधानन्यायाधीश मिश्रले न्यायलयको कामकारवाही राम्रो बनाउने र न्यायालयप्रति नागरिकको जनविश्वास बढाउने दशबुँदे भावी योजना प्रस्तुत गर्नुभएको थियो । योजनामा यस वर्षलाई फैसला कार्यान्वयनको वर्षका रूपमा मनाउने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्नेलगायत छन् । उहाँले सांसदले सोधेका सबै प्रश्नको जवाफ दिनुभएको थियो ।

यसअघि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम संसदीय सुनुवाइका लागि सिफारिस गरेकामा समितिले उहाँको नाम अस्वीकार गरेको थियो ।
 
जोशीको नाम अस्वीकृत भएपछि संवैधानिक परिषद्ले सर्वाेच्च अदालतका वरिष्ठतम न्यायाधीशका रूपमा रहनुभएका मिश्रको नाम संसदीय सुनुवाइका लागि पठाएको थियो । समितिका सभापति लक्ष्मणलाल कर्णले सुनुवाइपछि सर्वसम्मत रूपमा प्रधानन्यायाधीशमा उहाँको नाम अनुमोदन भएकाे थियाे । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया