सरकारी स्वास्थ्य संस्थाबाटै औषधि किनबेच, झोलामै छन् औषधि पसल

 भदौ २६, २०७५ मंगलबार ९:३३:१९ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – तेह्रथुमका गाउँ–गाउँमा सञ्चालित सरकारी स्वास्थ्य संस्थाबाटै  औषधिको किनबेच हुने गरेको पाइएको छ । नियमानुसार सरकारी स्वास्थ्य संस्था र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले औषधीको खरिद बिक्री गर्न पाउँदैनन् । औषधी पसल सञ्चालनका लागि अनुमति लिई फार्मेसी सम्बन्धी अध्ययन पूरा गरेकाहरुले मात्रै औषधीको किनबेच गर्न पाउँछन् । 

तर जिल्लाका कतिपय गाउँहरुमा भने सरकारी स्वास्थ्य संस्था र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले नै औषधीको किनबेच गर्ने गरेका खुलासा भएको छ । जिल्लाका दर्जनौँ स्वास्थ्य चौकीमा काम गर्ने सरकारी कर्मचारीका आफ्नै विना अनुमति सन्चालित औषधी पसल छन् । धेरै स्वास्थ्यकर्मीहरुले स्वास्थ्य संस्थामा भन्दा आफ्नै फार्मेसीमा बसेर काम गर्छन् । तर पनि सम्बन्धित निकाय भने मौन बसेका छन् । 

स्वास्थ्यकर्मीहरुले कोठा र झोलामा औषधी राखेर किनबेच गर्ने गरेका, महंगो शुल्क लिने गरेका सर्वसाधारणको गुनासो छ । आठराई गाउँपालिकाको संक्रान्तिबजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आउने विरामीले स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले महंगो शुल्क लिएर औषधि किनबेच गरेको गुनासो गरेका छन् । स्वास्थ्य केन्द्रभित्रै चर्को मूल्यमा औषधि बिक्री गरी जनता ठग्ने कार्य भएको स्थानीयबासी बासु बरालले बताउनुभयो । केन्द्र नजिकै औषधी पसल नहुँदा विरामीलाई समस्या भएको निहुँ बनाएर स्वास्थ्यकर्मीहरु आफैँले औषधि किनबेच गर्ने गरेको भन्दै स्थानीयबासीहरुले आइतबार स्वास्थ्य केन्द्रमा पुगेर विरोध समेत जनाएका छन् । 

केन्द्रका कर्मचारीले सरकारले निःशुल्क विक्री वितरणका लागि राखेका औषधिसमेत विक्री गरेको हुनसक्ने आशंका रहेको स्थानीयबासी महेन्द्र विमलीले बताउनुभयो । स्वास्थ्य केन्द्रमै पुगेर यस्तो गैरकानुनी कार्य नगर्न आग्रह गरिएको उहाँले बताउनुभयो । सरकारी स्वास्थ्य संस्थाहरुमा आफ्नै फार्मेसी सञ्चालन गरेको बाहेक औषधीको किनबेच गर्न नपाइने कानुनी प्रावधान छ । 

तर स्वास्थ्यकर्मीहरुले निःशुल्क वितरणका सिटामोलसमेत स्वास्थ्य संस्थामा नभएको भन्दै आफूले झोलामा राखेको औषधि किन्न लगाउने गरेको गुनासो गरेका छन् । दुर्गम गाउँहरुमा सन्चालित स्वास्थ्य संस्था र औषधि पसलहरुको नियमित अनुगमन र निरीक्षण हुने गरेको छैन । गाउँमा सञ्चालित कतिपय औषधि पसलहरु समेत दर्ता नगरी सञ्चालन गरिएका छन् । 

औषधि पसलहरुमा उपलब्ध नहुने औषधिहरु आफूले विरामीकै हितका लागि स्वास्थ्य केन्द्रमा राखेर कारोबार गर्न स्वीकृति दिएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख सन्तोष शाहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विक्री वितरण गर्न नहुनेबारे राम्ररी जानकारी छ, तर यहाँको समस्यालाई मध्यनजर गरेर त्यसो गरिएको हो, हाम्रो कुनै नराम्रो नियत छैन ।’ 

डाक्टर शाहले केन्द्रको कार्यालय नजिकै कुनै औषधि पसल नभएको र विरामीले समेत केन्द्रबाटै औषधीको प्रबन्ध मिलाइदिन माग गर्ने गरेका बताउनुभयो । फार्मेसीहरुले समेत चिकित्सकले लेखे बमोजिम औषधि नदिएर विरामीलाई समस्या पार्ने गरेको पाएको डा. शाहले बताउनुभयो । स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं १ का वडाध्यक्ष कमलबहादुर लिम्बुले औषधिसम्बन्धी समस्याका बारेमा छलफल गरी छिट्टै टुंगो लगाइने बताउनुभएको छ । 

जिल्लाका अन्य स्थानीय तहहरुमासमेत स्वास्थ्य सेवा प्रवाहसम्बन्धी थुप्रै समस्या छन्, जसका बारेमा सर्वसाधारण बोल्न सक्दैनन् । गर्नेले मनपरी गरिरहेका छन् । जिल्लाको छथर, फेदाप, आठराई र मेन्छ्यायेम गाउँपालिकाका अन्य विभिन्न वडा र गाउँहरुमा समेत नियम विपरीत औषधी किनबेच भइरहेको सर्वसाधारणको गुनासो छ । स्वास्थ्यसम्बन्धी अधिकार र सरकारी स्वास्थ्य संस्थाहरुसमेत सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण भइसकेकाले त्यस्ता समस्याको निदानका लागि अनुगमन गरी कारवाही गर्न स्थानीयबासीले माग गरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया