‘सडक पनि राम्रो चाहिने अनि राजश्व पनि धेरै भयो भन्ने कुरा सुहाएन’

 भदौ २६, २०७५ मंगलबार १६:५६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

-डाक्टर युवराज खतिवडा

काठमाडौं – यो अटो मेलाले अटो बजारलाई अझै धेरै चलायमान बनाउन निकै ठूलो भूमिका खेल्छ । तपाईँहरुले धेरै गाडी बेच्नुभयो भने हामीलाई राजश्व पनि धेरै आउँछ । तर पनि मैले भन्ने गरेको छु, राजश्व नै हाम्रो लागि सबै कुरा होइन र अन्तिम लक्ष्य पनि होइन ।  

हामी व्यापार घाटाको पनि चिन्ता गरिरहने अनि आयात प्रतिथापन गरेर देश आत्मनिर्भर बन्नुपर्छ भन्ने पनि चिन्ता गरिरहने । हामी ऋण लिएर होइन कमाएर उपभोग गर्नुपर्छ पनि भनिरहेका छौँ । तर हामीले अटोमोबाइलसँग सम्बन्धित गुनासो पनि राखिरहने  । यसमा तालमेल मिलेको देखिन्न, यसमा हामीले तालमेल खोज्नैपर्छ । 

एकजना मित्रले मलाई गाडी फेर्न मन पर्छ भन्दै हुनुहुन्थ्यो, मैले भने मज्जाले नयाँ किन्न सक्नुहुन्छ । नाफा कमाउने, धन कमाउने मित्रहरुलाई गाडी किन्न मन नभए त गाडीको बजार नै ठप्प हुन्छ नि । मैले भन्छु, कमाएर गाडी किन्नुस्, ऋण लिएर गाडी नकिन्नुस । ऋण तिर्ने क्षमता नभइकन गाडी नकिन्नुस् भनेको छु । 

क्रेडिट कार्डको इकोनोमी कसरी समाप्त भयो भन्ने कुरा हामीले सन् २००७ तिरको विश्व अर्थतन्त्र हेरे पुग्छ । हामीले त्यो अनुभवबाट पनि त केही सिक्नुपर्‍याे। तर आर्थिक रुपमा हामी बलियो हुँदै जाँदा, कमाइ धेरै हुँदै जाँदा, अनि हाम्रो जीवनस्तर बलियो हुँदै गयो भने हामीले फेरि गाडी किन्नैपर्छ, नत्र त आर्थिक रुपमा चलायमान  नै हुँदैन । तर हामीले गर्ने उपभोग हाम्रो आम्दानीमा आधारित हुनुपर्‍यो । हाम्रो क्षमतामा आधारित हुनुप¥यो । तर सबै ऋणमा आधारित उपभोगले हामीलाई दीगो कालसम्म राम्रो गर्दैन । 

अटोमोबाइल्स क्षेत्रमा बढी कर लगाउनुको कारण

हो हामीले अटोमोबाइल क्षेत्रमा अलि बढी नै कर लगाइरहेका छौँ । यो भन्सारको मात्रै कुरा होइन अरु केही शुल्क पनि लगाएका छौँ । त्यसैले त हाम्रो राजश्वको १५ प्रतिशत अटोमोबाइल्सको क्षेत्रबाट आइरहेको छ । अर्को कुरा गाडीको कर घटाउने हो भने सडक विस्तारको अर्को कुरा गाडीको कर घटाउने हो भने जति धेरै गाडी आउँछन् त्यतिधेरै सडक विस्तार गर्न त समस्या नै हुन्छ । सडक बनाउनको लागि राजश्व चाहियो, राजश्वको लागि आधार चाहियो,  अहिले हाम्रो भन्सारमा आधारित राजश्व प्रणाली छ ।  अनि राजश्व गाडीबाट त उठाउनैपर्‍यो नि । 

विस्तारै भन्सारमा आधारित राजश्व प्रणालीलाई आन्तरिक उद्योगमा आधारित बनाउँदै लैजानु छ । तर आन्तरिक उत्पादनमा अलिकलि पनि करका कुरा गर्दा हाम्रा क्षमताका प्रश्नहरु आए । हामीले तिर्न सक्ने कुरा आए, संरक्षण दिनपर्ने कुरा आए । अनि बाल्य अवस्थाका उद्योगहरुलाई यतिधेरै कर किन भन्ने विषय आउँछ । 

अनि राज्यले कर पनि नउठाउने, विकास पनि धेरै गर्नुपर्ने, अनि धेरै ऋण लिएपछि त्यो तिर्नलाई क्षमता नपुग्ने भन्ने त झन मैले नै भन्दै आएको छु । यस्ता असम्भव कुराहरुबाट हामीले केही सम्भाव्य समाधानका उपायहरु निकाल्नुपर्छ । अब अर्थमन्त्री भएँ भन्दैमा जहाँ जसलाई जे राम्रो लाग्छ, त्यै बोल्दिने गरियो भने त के रमाइलो होला र । यसो माहोल हेर्‍यो, अनि त्यै कुरा बोल्दियो, भोलि अर्को दिन अर्को कुरा बोल्दियो, यसरी त भएन । सम्भवतः म मेरो जीवनमा यस्ता कुरा बोल्दै बोल्दिन । २० वर्षदेखिको जागिरमा मैले नहुने कुरा बोल्न हुन्न भन्दै आएको छु । भोलि पनि त्यही भन्नेछु । 

यसरी भनिरहँदा तत्कालै केही नतिजा नआउन सक्छन् । किनकी सुधार भन्ने कुरा त्यति सजिलो छैन् । बोलेर सुधार हुने भएदेखि त बोलिन्थ्यो होला  । तर यहाँ त गरेर

सुधार गर्नुपर्ने कुरा छ । संरचनात्मक समस्या छन्, त्यसलाई सुधार गर्नुपर्ने छ । हामीले बजेट कार्यान्वयन सुरु गरेको २ महिना बल्ल पुगेको छ । हामीले नतिजा खोज्नको लागि केही समय पर्खिनुपर्ने हुन्छ । कृत्रिम रुपमा देखाइएका उपलब्धिहरु भोलि बेलुन फुटेझैं फुट्न सक्छन् ।

दरिलो आधार भएका उपलब्धिमा हामी हिँडेका छौं । त्यसकारणले तपाईँहरुले सरकारलाई पर्ख र हेरको रुपमा लिइदिनुहोला । राम्रो गर्‍यो भन्नु जरुरी छैन, तर सरकारले ६ महिनामा केही पनि गरेन नभनौं । बीसौं, तीसौं वर्षसम्म नभएका कुराहरु केही महिनामै पूरा हुन्छन् भन्ने कुरा कता–कता मिलेन कि भन्ने पनि हो ।

हामीले कसैलाई दोष दिएर आफ्ना कमजोरी लुकाउन पनि हुँदैन । सरकार यसमा सचेत छ । सहयोग र सहकार्यको वातावरण हामीले नै बनाउने हो ।  

–अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो मेलाको उद्घाटनमा गरेको सम्बोधनको सम्पादित अंश
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Durga tamang

    Sept. 11, 2018, 6 p.m.

    हेर सरकार बिस्सोमा जन्तालाई कर उठाएर बिकास गर्ने दिवा सपना देख्ने अल्छे र अन्पढ नेता मत्रै हाम्रो देशको हो ।। अरु देशले रास्ट्रमा हुने अनेक चिज्लाई बैज्ञानिक तलिकाले स्थापन गरेर तेसमा जन्तालाई रोजगार दिएर तेई आम्दानीबाट देशको बिकास गर्छ तर जन्तालाई अन्डा र डिम्माको कर उठाउदैन उठाउछ त केबाल करोडौं को बिजिनेस गर्ने लाई लोन्छ सानुतिनु फट्फुटेलाई पिटिक्कै कर लिदैन बरु तिनिहरुलाई ब्यबस्थित स्थान बनाईदिन्छ अनि बल्ल्ला कर लिन्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया