डोटीको घोल्तडामा लिफ्ट सिस्टमबाट पानी निकालियो

 भदौ २६, २०७५ मंगलबार १७:५८:२३ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर –५, को घोल्तडा गाउँमा लिफ्ट सिस्टमबाट पानी तान्ने काम सफल भएको छ । 

नेकपाका उपाध्यक्ष तथा सांसद भिमबहादुर रावलले मंगलबार एक कार्यक्रमका बीच लिफ्ट सिस्टमबाट निकालिएको पानीको उद्घाटन गर्नु भएको हो । पानीको उद्घाटन गर्दै सांसद रावलले जनताले स्वच्छ तथा सुरक्षित पानी पिउन पाउनेमा आफू आशावादी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘धमिलो पानी खान बाध्य भएका जनताले अब चाहिँ सफा पानी खान पाउने भए म यसैमा खुशी छु ।’ 

नगरपालिकाकै आर्थिक वर्ष २०७४-७५ को पूँजिगततर्फ खानेपानी योजना निर्माण अन्तरगतको १५ लाख लगानीमा नेपाल हाइड्रो कन्स्ट्रक्शन प्रा.लि.मार्फत काम भइरहेको लिफ्ट सिस्टमबाट झण्डै ३ इन्चको पाइपमा पानी निस्किएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्माले जानकारी दिनुभयो । 

सेती नदीको छेउमा रहेको त्यो गाउँको दुधेश्वर आधारभूत विद्यालयको प्राङ्गणमा १ सय १० मिटर अर्थात ३ सय ३० फिट गहिराइबाट पानी तान्ने कार्य भएको हो । गएको असारबाट निर्माण कार्य थालनी भएको उक्त काम असोजमा सम्पन्न गर्ने गरी नगरपालिकाले उपभोक्ता समितिसँग सम्झौता गरेको छ ।

स्थानीय तहको निर्वाचनका बेलामा आफूले बोलेका चुनावीवबाचा पूरा गर्न लिफ्ट सिस्टमबाट पानी निकाल्न पहल गरेको दिपायल सिलगढी नगर प्रमुख मञ्जु मलासीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘जनतालाई खानेपानीको सुविधा होस् भनेर लिफट सिस्टमबाट पानी निकाल्ने सुरुवात गरेका छाैँ काम चाँडै सम्पन्न हुनेछ, जनातले स्वच्छ पानी खान पाउने छन् ।’ अहिलेसम्म सेती नदीको धमिलो पानी खान बाध्य घोल्तडाका बासिन्दाहरु लिफ्टबाट पानी निकालेपछि उक्त गाउँका ९३ घरपरिवार प्रत्यक्ष लाभान्वित हुने दिपायल सिलगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष मदन भण्डारीले दावी गर्नुभयो । 

लिफ्टबाट निकालेको पानी सञ्चित गर्न खानेपानी ट्यांकी समेत निर्माण गरिने र त्यस्का लागि १२ लाख रकम नगरपालिकाले विनियोजन गरिसकेको नगर प्रमुख मलासीले जानकारी दिनुभयो । 

नगरपालिकाले गत आर्थिक वर्षमा वडा नं. १ को सिरखोलीशैन, वडा नं. ४ को पिपल्ला र वडा नं. ५ को घोल्तडामा लिफ्ट सिस्टमबाट पानी तान्ने योजना बनाएको थियो । तीमध्ये प्राविधिक कठिनाईका कारण सिरखोलीसैनमा उक्त काम हुन सकेको छैन भने पिपल्लामा काम अधुरो रहेको बुझिएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया