किशोरीलाई ललाइफकाई भारत लान खोज्ने तीनजना पक्राउ

 जेठ २०, २०७५ आइतबार २०:३६:१७ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – किशोरीलाई ललाईफकाई भारत लैजान लागेका तीनजना कञ्चनपुरमा पक्राउ परेका छन् । 

कन्चनपुरको महाकाली नगरपालिका ७ लक्ष्मी उच्च माविमा अध्ययनरत १७ वर्षीय किशोरीलाई पूजा गर्न भन्दै फकाएर भारत लैजान लागेका भारतको उधमसिंह जिल्ला खटिमाका महेन्द्र पाल, महाकाली नगरपालिका ७ बाबाथानका कर्णबहादुर सुनार र त्यसै वडाको कञ्जभोज बस्ने दलबहादुर सुनार पक्राउ परेका हुन् । 

किशोरीले आफूलाई ललाइफकाई भारत लैजान खोजेको निवेदन दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुले भारतको मुरादावादमा हुने पूजाका लागि उनलाई लैजान लागिएको बताएका छन् । किशोरीले त्यहाँ पुगेर केही काम गर्नु नपर्ने र पुजामा बसे चाहेअनुसारको रकम दिने भन्दै प्रलोभन देखाएको किशोरीको भनाई छ । पूजामा गुरु आउने र उनीसँगै बस्नुपर्ने भन्दै फकाएको पनि किशोरीले बताइन् ।

पूजाको नाममा फकाएर किशोरीलाई भारतमा बेच्न लैजान लागिएको हुनसक्ने प्रहरी निरीक्षक चन्दले बताउनुभयो । एक महिनासम्म चल्ने पूजामा १ करोड भन्दा बढी कमाई हुन्छ भन्दै बालिकालाई फकाएको देखिएको पनि उहाँले बताउनुभयो ।

किशोरीलाई माइती नेपालमा राखिएको छ भने पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको छ ।  

अन्तिम अपडेट: चैत १०, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया