राष्ट्रियसभामा प्रश्न उठ्यो : निर्मला पन्त हत्या प्रकरणको छानबिन समितिका सदस्यलाई धम्की दिने को हुन् ?

 भदौ २६, २०७५ मंगलबार १९:७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरुले मुलुकको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अखण्डताको संरक्षण तथा प्रेस स्वतन्त्रताको प्रत्याभति र शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न सरकारको ध्यानाकर्षण गएका छन् । 

राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै राष्ट्रियसभाका सदस्यहरुले कञ्चनपुरकी निर्मला पन्तको हत्याको प्रभावकारी ढंगले निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरे । उनीहरुले मुलुकभरको शान्ति सुरक्षाको स्थिति बिग्रँदै गएकाले त्यसतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण  गराए ।

राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले विभिन्न बहानामा पत्रकारलाई नियन्त्रणमा लिने काम भएको भन्दै नियन्त्रणमा लिइएका पत्रकारलाई अबिलम्ब रिहा गरी प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्न सकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले अपराध संहितामा लेखिएका साधारण कानुनका कारण सरकारले चाहेको अवस्थामा आफूहरुमाथि कुनै पनि अवस्थामा नियतवश मुद्धा चलाउन सक्छ भन्दै सञ्चारक्षेत्रले विरोध गरिरहेका बेला सरकारले खोज तलास डट कमका सम्पादकलाई हतकडी लगाएरै नियन्त्रमा लिने काम भएको भन्दै यसले साँच्चै सरकार निरंकुश बन्दै गइरहेको त छैन भन्ने आंशका उब्जाएको बताउनुभयो ।

उहाँले कञ्चनपुरकी निर्मला पन्त तथा मुलुकभरका महिला हिंसाका घटनाको यथार्थ जानकारी गराउन गृहमन्त्रीलाई रुलिङ गर्न सभामुखसँग माग गर्नुभयो ।

त्यस्तै महेशकुमार महराले निर्मला पन्तको हत्या छानबिन समितिका सदस्य उपसचिव  विरेन्द्रबहादुर केसीले धम्की आएका कारण राजीनामा दिएको भन्दै शान्ति सुरक्षाको प्रत्याभूतितर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । घटनाको यथार्थता लुकाउन ठूलो राजनीतिक संरक्षणमा समितिमा रहेका सदस्यलाई धम्की दिने काम हुँदा पनि त्यस प्रति सरकार गम्भीर बन्न नसकेको भन्दै उहाँले भन्नुभयो, ‘धम्की दिने को हुन् ? यहाँ राज्य छ कि छैन ? राज्य गम्भीर हुनु पर्छ कि पर्दैन ? राज्य भन्दा ठूला को छन् यहाँ ?’

उहाँले नेपालको नक्साबाट कालापानी हटाइएको र त्यस्ता नक्सा सरकारी कार्यालयमा राखिएकोको सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाधिनताका लागि फेरि एक पटक लड्नुपर्ने अवस्था आएको बताउनुभयो ।  

बृशेषचन्द्र लालले आइतबार बोलाइएको अन्तरप्रदेश परिषद्को बैठकलाई बिनाकारण स्थगित गरिएको भन्दै गम्भीर आपत्ति जनाउनुभयो । संविधानले संघ, प्रदेश र स्थानीयतह बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित हुनेछ भनेको तथा संघीय सरकार र प्रदेश सरकारका बीच सरकार सञ्चालन गर्न कुनै समस्या सिर्जना भए अन्तर प्रदेश परिषदको बैठक बसी समस्या समाधान गर्न सकिने व्यवस्था भएको स्मरण गराउदै उहाँले बैठक स्थगित गर्नुको कारण माग गर्नुभयो । अचानकै बैठक स्थगित गर्नुले सही सन्देश नदिएको र आशंका जन्माएको भन्दै खेद प्रकट गर्नुभयो । उहाँले संविधान विपरित संघीय सरकारबाट भएको निर्णय बारे सदनलाई स्पष्ट पार्न माग गर्नुभयो ।

बिमला राई पौडेलले उखु किसानको समस्या सम्बोधनमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाली चिनी भन्दा भारतीय चिनीको बजार व्याप्त भएको भन्दै चिनी आयातको भन्सार बढाई र सरकारले उद्योगीसँग स्टकमा रहेको चिनी किनिदिने व्यवस्था गर्न उहाँले माग गर्नुभयो । उहाँले उखुकिसानलाई सरकारले अनुदानको रुपमा दिने भनेको रकम उपलब्ध नभएको भन्दै तत्काल उपलब्ध गराउने व्यवस्था गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले कञ्चनपुरकी निर्मला पन्तको हत्या भएको भोलिपल्टदेखि नै आवाज उठिरहेको भन्दै उहाँले घटनाको अनुसन्धानको दायरा फराकिलो बनाउन गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । अनुसन्धान समितिका एक सदस्यले राजिनामा दिएको भन्दै उहाँले सबै क्षेत्रको प्रतिनिधित्व गराउन सरकारसँग माग गर्नुभयो ।

बद्री पाण्डेले तरुण दलका रोल्पाका नगर समितिका सभापति रोहित पुनलाई सुलिचौरमामा २४ गते सत्तारुढ दलका कार्यकर्ताको जत्थाले गोली प्रहार गरी हत्या भएको भन्दै घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । पछिल्लो समय मुलुकभर नै हत्या हिंसाको घटना बढ्दै जाँदा पनि दोषीलाई कारबाही नहुँदा आपराधिक गतिविधि बढ्दै जाने र त्यसले मुलुकमा ठूलो संकट निम्त्याउन सक्ने भएकाले समयमै गम्भीर बन्न आग्रह गर्नुभयो ।

युटोल तामाङले गुम्बा शिक्षाको सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । शिक्षा नियमावलिमा गुम्बा शिक्षाको व्यवस्थासहित छात्रवृत्तिको व्यवस्था गर्न उहाँले माग गर्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक भदौ २९ गते शुक्रबर ११ बजे बोलाइएको छ ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया