‘मरेका छन् महिलाहरु बलात्कारी पापीले, अन्धकारलाई त्याग्नुपर्छ अब हामीले’

 भदौ २७, २०७५ बुधबार ८:११:२८ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीका महिलाहरुले तीज गीतबाटै महिला हिंसा विरुद्धको आवाज उठाएका छन् । उनीहरुले तीजको गीतमार्फत देशमा बढ्दै गैरहेको महिला हिंसा, बलात्कार, अन्याय, अत्याचार, थिचोमिचो, दाइजो, घरेलु तथा लैङ्गिक हिंसाको विरुद्ध बोलेका हुन् । 

(तीजको दरखाने दिन) मङ्गलबार म्याग्दी सदरमुकाम बेनीमा आयोजित खुल्ला तीजगीत प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएका विभिन्न समूहहरुले यस्तो गीत गाएका छन् । उनीहरुले महिला, बालबालिका तथा वृद्धामाथि हुने गरेको हिंसा र सामाजिक विभेदको विरोध गर्दै सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । धौलागिरी नाट्य समूह म्याग्दीको आयोजना र बेनी नगरपालिकाको सहयोगमा हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम सञ्चालन गरिएको हो । 

देशैभर बढ्दै गैरहेको बलात्कार, हत्या, हिंसा, लुटपाट र अपराधका घटनाले खासगरी महिला तथा बालिकाहरुले भोग्नुपरेको यथार्थतालाई समेटेर यसको विरुद्ध महिलाहरुले तीज गीतबाट पनि मुख खोले । उनीहरुले प्रायः देशका विभिन्न स्थानहरुमा भैरहेका महिला तथा बालिका हिंसाविरुद्ध पीडकलाई कडा कारबाहीको व्यवस्था हुनपर्ने माग गरेका छन् । 

जलमाई आमा समूह बेनपा–४, तातोपानीका महिलाहरुले तीज भाकामा यसरी गीत गुनगुनाए :
मरेका छन् महिलाहरु बलात्कारी पापीले
अन्धकारलाई त्याग्नुपर्छ अब हामीले
रुढिवादी, अन्धविश्वास समाजमा मौलाए
न्याय माग्न जाँदाखेरी जिउँदै जलाए
नेपालका महिलाहरु घुम्तीभित्रै झुकेर     
हिम्मत गरी अघि बढौं हुन्न लुकेर

उनीहरुले समाजमा रहेको जातीय विभेदका विरुद्धमा यो समेत गाए :

जात र भात गाउँमा हिंसा अझै पनि गएन
श्रम चल्यो, सिप चल्यो पानी चलेन 
सुन्नुहोला दाजुभाइ दिदीबहिनी साराले
कुप्रथाको बयान गछ्रन् आफ्नै पाराले । 

यसैगरी प्रतियोगितामा सहभागी जनचेतना आमा समूह डडुवाका महिलाहरुले देशमा बढ्दै गैरहेको महिला शोषण, दमन, हत्या, हिंसा, बलात्कार विरुद्ध र महिला सशक्तिकरण बढेको भन्दै यस्तो गीत गाएका थिए । 

महिलाले पनि देश चलाउने भए सशक्तिकरण
हामीलाई त्यस्तो शक्ति दिन गणेश झरन    
कति धेरै शोषण थियो दुईचार वर्ष पहिला
स्वतन्त्र भई बाँच्न पाउनुपर्छ महिला
एक्काइसौं शताब्दीका हामी चेतनशील महिला
गिद्धेनजर लगाउनेलाई समाउ पहिला
आत्मविश्वास बढाएर महिला अघि बढ्नेछौं
शोषण, दमन गर्नेसँग हामी लड्नेछौं 
गाउँगाउँमा जनप्रतिनिधि, सांसद भई आएका छन्
डाक्टर, पाईलट, इन्जिनियर महिला पनि भएका छन्
एकल महिला, वृद्ध महिला यही धर्तीमा बाँच्ने हो
सानो मन गर्नु छैन सँगै नाच्ने हो
हत्या, हिंसा, बलात्कार रोकौं पहिला देशमा
देशवासीको दुईमत हुन्न त्यसमा

यस्तै अर्को समूह बगरफाँटको प्रगति महिला समूहले देशको नायक महिला भैरहेको अवस्थामा पनि महिलाबाट नै महिलाहरु तिरस्कृत हुनुपरेको, नागरिकले भनेजस्तो देशमा शासन नआएको र बलात्कारीलाई फाँसीको व्यवस्था गनुपर्ने मागसहित यसरी गीत गाए । 

देशले मुहार फेर्छ भनी आश गरेका जनता
जनताले भनेजस्तो किन हुन्न त
पहिला खोज्थौं पायौं हामीले अधिकार
चलाए नारीले नै अहिले सरकार
नायक नारी भएको देशमा बढ्दै गयो बलात्कार
नारीबाट नारी नै भए तिरस्कार
महिला शोषण बढ्दै गयो दुःखलाग्दो अवस्था
बलात्कारीलाई फाँसी दिने गर्नुस् व्यवस्था
धनमा बिके नेताहरु अपराध बढ्दै गयो
देशको नियम कडा भएन भनेजस्तै भयो
पुरुष मात्रै दोषी मान्ने हाम्रो समाज खराब छ
देशको नियम कडा होस् है हाम्रो दवाव छ
एक सिक्काका दुई पाटा नारी/पुरुष बराबर
सास रहुन्जेल कहिल्यै पनि मान्नुहुन्न हार

प्रतियोगितामा सहभागी १६ टिममध्ये अधिकांशले अहिले देशमा बढ्दै गएको महिला हिंसालाई जोडेर गीत गाएको निर्णायक मण्डलका संयोजक एवं राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष कृष्ण जिसीले बताउनुभयो ।

गीतमार्फत महिलाहरुले हत्या, हिंसा, लुटपाट, बलात्कार जस्ता घटना अन्त्य हुनुपर्ने र बलात्कारीलाई फाँसी दिनुपर्ने कानुनको माग गरेको उहाँको भनाइ छ । 


 

 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया