नगरप्रमुखले मनोमानी गरेको भन्दै उपप्रमुखले गरे पत्रकार सम्मेलन

 भदौ २७, २०७५ बुधबार ९:२५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले मनोमानी ढंगले एकलौटी रुपमा काम गरेको आरोपमा उपप्रमुख मनराज भण्डारीले मंगलबार पत्रकार सम्मलेलन गरी अनियमितता हेरेर बस्न नसक्ने बताउनुभयो । 

नगरप्रमुख भिमप्रसाद ढुंगानाले एकलौटी रुपमा निर्णय गर्ने र योजनाहरु कुनै निर्णयबिना नै लागू गर्न थालेपछि आफूहरु जनताको प्रतिनिधि भएकोले जनताको लागि आवाज उठाएको पत्रकार सम्मेलनमा बताउनुभयो । 

नेपाली कांग्रेसबाट विजयी भएका नगरप्रमुख ढुंगानाले पटक–पटक नगरकार्यपालिकाका सदस्यहरुलाई बाइपास गरेर निर्णयहरु गर्ने र योजनाहरुसमेत तोक आदेशको भरमा लागू गर्न थालेपछि रुष्ट बनेका वडाध्यक्षहरु समेत उपप्रमुख भण्डारीको पक्षमा देखिएका छन् । 

नगरप्रमुख ढुंगानाले नेकपा माओवादी र नेकपा एमाले पक्षधरहरुले जितेको वडाहरुमा योजनाहरु समेत नगरप्रमुखले तोकआदेशको भरमा बनाउने र वडालाई बाइपास गरेर योजनासमेत सम्पन्न गर्ने गरेको वडाध्यक्षहरुको आरोप छ ।  

नीलकण्ठ नगरपालिका वडा नम्बर १२ को बिन्दुकेशरी वृद्धाश्रमको ५ लाख, वडा नम्बर २ को केराबारी सडकमा ५ लाख, चिसापानी खानेपानी ८० हजार, वडा न.ं ११ को विष्टगाउँ भँगेरी सडक १ लाख रुपैयाँ पार्टी कार्यकर्तामार्फत काम गराइ वडामा समेत जानकारी नदिइ योजना समेत फरफारक गरिएको छ । 
यस किसिमका धेरै योजनाहरु तोक आदेशले नगरकार्यपालिकामा समेत निर्णय नगरी काम गरेको आरोप लगाउँदै पत्रकार सम्मेलनमा जनताको काम गर्न आफूहरु सँधै प्रतिवद्ध रहेको बताउनुभयो । 

वडाहरुमा संचालित योजनाहरु असार ११ र १२ गते सम्पन्न नगरसभामा नगर प्रमुख ढुंगानाले ३३ ओटा निर्णयहरु आफूखुसी निर्णय लेखि रातो किताबमा समेत प्रकाशन गरेपछि नीलकण्ठ नगरपालिकाभित्र अनियमित रुपमा नीतिविपरित काम भएका भन्दै कार्यपालिकाका १० जना सदस्यले कडा आपत्ति जनाएर पत्रकार सम्मेलन गरेका हुन् ।
 
नगरसभामामा निर्णय हुनका लागि वडातहमा छलफल भएको विषयहरुलाई नगर कार्यपालिकाको बैठकमा छलफल गरेरमात्र नगरसभामा लानु पर्ने प्रावधान भए पनि  नगरप्रमुख आफैँले जबरजस्ती  ३३ ओटा निर्णयहरु गराएको उपप्रमुख भण्डारीले पत्रकार सम्मेलनमा बताउनुभयो । 

नगर कार्यपालिकाको बैठकको विषयमाथि छलफल नै नगरी बैठक स्थगित भएको साउन ३० गतेको बैठकमा निर्णहरुसमेत गरी नगरप्रमुखले माइन्युट प्रमाणित गरेको खबर पाएपछि बैठकको निर्णयहरुप्रति असहमति समेत राख्न नदिइ आफूहरुलाई लोकतान्त्रिक अभ्यास समेत गर्न नदिएको असन्तुष्ट वडाअध्यक्षहरुको भनाइ छ । 

स्थानीय सरकार संचालन ऐनमा नगरकार्यपालिका बैठकको माइन्युट प्रमाणित गर्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई तोकिएको भए पनि नियम विपरित नगरप्रमुखले नगरपालिकाको माइन्युट प्रमाणित गर्दै आएका छन् । 

नगरपालिकाको कुनै पनि वडामा सञ्चालन गरिएको योजनाहरुको सम्झौताको सिफारिस र कार्य सम्पन्न सिफारिस वडा कार्यालयले दिनुपर्नेमा नगरप्रमुख ढुंगानाले आफैँले योजना फरफारक गर्नका लागि नगरपालिकाले आफैं वडालाई जानकारी विना नै योजनाहरु समेत संचालन हुने गरेको छ । 

नगरकार्यपालिकाको बैठकमा वडाअध्यक्षहरु सहभागी भएपछि छलफलका विषयहरु माग गर्दा पहिले बैठकको माइन्युटमा सही गरेपछि मात्र छलफलका विषयहरु जानकारी दिने र छलफलका विषहरुमात्र माइन्युट गर्नु पर्ने अडान राख्दा आफूहरु बैठक छाडेर बाहिर जानसमेत धम्की दिनेगरेको वडा अध्यक्ष उद्धब रिजालले बताउनुभयो । 

शिक्षा ऐन विपरित २५ विद्यालयमा व्यवस्थापन समिति गठनका लागि नगरप्रमुखले एकलौटी रुपमा विद्यालयसग्त असम्बन्धितलाई नियुक्त गरेको, तारजाली वितरण गर्दा दुई ओटा वडामा मात्र वितरण गर्ने निर्णय गरेको बाँकी आवश्यकता अनुसार भनी नगरप्रमुखले मनोमानी गर्न लागेको, कर्मचारी पदपूर्ति समिति गठन गर्दा प्रकृया नपुर्याएको, नगरप्र्मुख विदेश भ्रमणमा जाँदा समेत उपप्रमुखलाई कार्यवाहकको जिम्मेवारी नदिएको असन्तुष्ट वडाअध्यक्षहरुले आरोप लगाएका छन् । 

नगरप्रमुख ढुंगाना नेपाली काग्रेसको तर्फबाट टिकट लिएर विजयी भएका हुन् भने उपप्रमुख भण्डारी तत्कालिन एनेकपा  माओवादीको तर्फबाट टिकट पाएर विजयी भएका छन् । १४ ओटा वडा रहेको निलकण्ठ नगरपालिकामा ८ वडा नेकपा समर्थकले विजय हासिल गरेको छ भने ६ वडामा नेपाली काग्रेस समर्थकले विजय हासिल गरेका छन् । कार्यपालकामा नगरप्रमुख ढुंगाना बहुमता भएकोले एकलौटी निणयहरु गर्ने गरेको आरोप उपप्रमुख भण्डारीको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया