'विरे दी वेडीङ' पछि व्यस्त करीना

 भदौ २७, २०७५ बुधबार १०:२२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री करीना कपूर खानले फिल्म ‘वीरे दी वेडीङ’ मार्फत कमब्याक गरेपछि अहिले उनको हातमा एकपछि अर्को गर्दै फिल्महरु आइरहेका छन् । 

उनी छिट्टै नै अभिनेता अक्षय कुमारका साथ फिल्म ‘गुड न्यूज’ मा देखिने भएकी छिन् । उनी निर्माता तथा निर्देशक करण जोहरको पिरियड ड्रामा फिल्म ‘तख्त’ मा पनि अनुबन्धित भइसकेकी छिन् ।

यि दुई फिल्मबाहेक अभिनेत्री करीना कपूर खान एउटा अर्को फिल्मका कारण चर्चामा छिन् । 

करीनाले फिल्म ‘विरे दी वेडीङ’ पछि महिलाहरुमा आधारित एउटा अर्को कमेडी फिल्ममा अभिनय गर्ने भएकी छिन् । यो फिल्म भारतको उत्तर प्रदेशको पृष्ठभूमिमा बन्नेछ । करीनाका साथ यस फिल्ममा अरु कुन कुन कलाकारहरुको अभिनय हुनेछ भन्ने कुराको भने अहिले खुलासा भइसकेको छैन । 

करीनालाई यस फिल्मको कथा निकै मन परेको बताइएको छ । साथै यस फिल्मका निर्माताहरु पनि छिट्टै यस फिल्मको निर्माण गर्न चाहन्छन् । केही समय अघि परिवारसँग मालदिभ्समा समय बिताएर भारत फर्किएकी करिनाले यसै वर्षको डिसेम्बरबाट फिल्म ‘गुड न्यूज’को छायाँकनको काम सुरु गर्नेछिन् । सन् २०१९ को मार्चमा त्यस फिल्मको काम सकेर उनी यस कमेडी ड्रामा फिल्मको काम सुरु गर्नेछिन् ।

पछिल्लो पटक करिना अभिनित फिल्म ‘विरे दी वेडीङ’ प्रदर्शन भएको थियो । यस फिल्ममा करिना कपूर खानका अलावा अभिनेत्री सोनम कपूर, स्वरा भास्कर र शिखा तल्सानियाको मूख्य भूमिका रहेको थियो ।  


 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया