सरकारको मुख्य एजेण्डा सुशासन र आर्थिक विकास : प्रधानमन्त्री ओली

 भदौ २७, २०७५ बुधबार १३:४७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले सुशासन तथा आर्थिक–सामाजिक विकास सरकारको मुख्य एजेण्डा रहेकोे बताउनु भएको छ । 

प्रधानमन्त्री ओलीले कृषि, उर्जा र पूर्वाधार विकास गरेर सरकारले मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पार्नुभयो । बुधबार ललितपुरमा आयोजित ‘बेल्ट एण्ड इनिसिएटिभः अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिका लागि दुई छिमेकी मुलुक भारत र चीनसँग पूर्वाधार विकासमा जोड दिइएको पनि स्मरण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले चीनसँग पारवहनसम्बन्धी प्रोटोकलमा सहमति जुटाएर नेपालले आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि हासिल गरेको पनि स्मरण गराउन भयो । उहाँले तेस्रो मुलुकसँग चीनको भूमि भएर आयात, निर्यात गर्न पाउने दुई मुलुकबीचको पारवहनसम्बन्धी सहमतिले नेपाल भूपरिवेष्ठित राष्ट्रको रुपमा मात्रै नरहेको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले चीन र भारत दुवै छिमेकी मुलुकले नेपालको आर्थिक विकासका लागि रेल सेवा सञ्चालन, लगानी अभिवृद्धि गर्न लागेको पनि उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भारत र चीन दुवै देशसँग मिलेर नेपालले आर्थिक विकासको लक्ष्य पूरा गर्न सक्ने दावी पनि गर्नुभयो । उहाँले दुवै देशसँग मिलेर नेपालमा रेल सेवा विस्तार गर्ने तयारीको कामलाई अन्तिम चरणमा पुर्‍याएको पनि जानकारी दिनु भयो ।
 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया