तीजको दिन मन्दिरमा दुई दृश्य : नाचेको हेर्ने कि मान्छे पोलेको ?

 भदौ २७, २०७५ बुधबार १५:५१:१० | मिलन तिमिल्सिना

चन्द्रागिरि नगरपालिकाको विष्णुदेवी मन्दिर । तीजको दिन अरु शिव मन्दिरमा जस्तै यहाँ पनि बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो छ । कोही पूजाको लागि लाइनमा उभिएका छन् । कोही नाचगान र सेल्फीमा भुलेका छन् । रमिता हेर्नेहरुको पनि उत्तिकै घुइँचो छ । 

यही रमाइलोमा केही मान्छे काँधमा शव बोकेर आए । मन्दिरमा दर्शनको लागि लाइनमा उभिएका महिलाले एकटकले यो दृश्य नियाले । नाचगान गर्नेहरु टक्क अडिए । अघिसम्म दंग परेर रमिता हेरिरहेकाहरु टोलाए ।

काँधमा शव बोक्नेहरुको अनुहार मलिन छ । दायाँबायाँ नहेरिकन उनीहरु शव बोकेर खोलातिर झरे । 

‘आजको दिन त नमरेको भए नि हुन्थ्यो, बिचरा को होला ?’ एक महिलाले भनिन् । 

‘त्यही त भन्या, केटा होला कि केटी होला ? केटा भएको भए बिहान उसको श्रीमती पनि उसको दीर्घायूको लागि भन्दै व्रत बसेकी थिइन् होला । केटी भएकी भए पनि आफ्नै सुख र शान्तिको कामना गरेकी थिइन् होला । उ त बाटो लागेर हिँड्यो नै, चाडबाडको दिन परिवार र आफन्तलाई नरमाइलो बनाएर गयो’ सँगै उभिएकी अर्की बोलिन् ।

‘यस्तै हो जिन्दगी, कहिले घाम कहिले छायाँ’ अर्की साथीले थपिन् । उनीहरु जिन्दगीको पाटाहरु केलाउँदै दर्शनको पर्खाईमा बसे । 

मन्दिर वरपर फेरि नाचगान र रमझम सुरु भयो । तर धेरैको ध्यान नाचगान र रमाइलोमा भन्दा घाटतिर छ । 

‘आ कति नाच्नु, हिँड मान्छे पोलेको हेर्न जाउँ’ अघि नाच्दै गरेकी महिला साथीको हात समातेर खोलाको डिलतिर लागिन् । घाटमाथि बसेर गालामा हात राख्नेहरु अरु पनि धेरै छन् । 

घाटमा सुताएर राखेको शव एकटकले हेरिरहेकी एकजना आमैलाई मैले सोधें, ‘आमा नाचगान हेर्न आउनुभएको होइन र, यहाँ पो बस्नुभएको छ त ?’

‘के रमाइलो हेर्नु र बा ! आफ्नो पनि भरे भोलि यसैगरी पालो आउने होला । यो देखेपछि रमाइलो हेर्नै मन लागेन’ आमाले खुईय सुस्केरा हाल्नुभयो र त्यहीँ बसिरहनुभयो ।

अघि लास पोलेको हेर्न जाने भन्दै आएका युवती कता लागेछन्, हेर्न मन लाग्यो । उनीहरु त्यहीँ उभिएर खोलातिर हेरिरहेका थिए । ‘हिँड अब जाउँ’ भन्दै उनीहरु त्यहाँबाट फर्किए र मन्दिरतिर लागे । 

मलाई लाग्यो यी आमैलाई जति डर छ, यी युवतीहरुलाई त्यति डर छैन । या डर भए पनि दुई दिनको जिन्दगीमा कति चिन्ता लिनु, रमाइलो गर्नुपर्छ भन्ने पनि होला । म पनि उनीहरु भएतिरै फर्किएँ । 

मन्दिरमा दर्शन र पूजा गर्नेहरुको उत्तिकै घुईंचो छ । ‘अघि पण्डितकोमा भिड थियो, अब खाली भएछ हामी पनि पूजा लगाउँ’ भन्दै ती युवतीहरु पण्डितको अघिल्तिर बसे । पण्डितले एकछिन मन्त्र पढे अनि ‘पूर्वतिर फर्केर लौ परमेश्वरी मेरो पाप सबै नाश होस्, सुख शान्ति र दीर्घायू होओस् भनेर मनमनले भन्नु’ भने । युवतीहरु पूर्व फर्किए । त्यहाँबाट पूर्वपट्टि त्यही घाट देखियो । पूर्व फर्केर नमस्कार गरेकी युवती फेरि टोलाइन् ।

‘नटोलाउ नानी, जिन्दगी यस्तै हो’ पण्डितले भने । एकछिनमा पूजा सकियो । नजिकै ताली र मादलको तालमा नाचगान भैरहेको थियो । ‘हिँड अब एकछिन गीत सुन्न जाउँ’ भन्दै युवतीहरु नाचगानको भिडमा मिसिए । 

केटाहरु मादल बजाउँदैछन्, केटीहरु नाच्दैछन् । गीत घन्किरहेको छ, ‘दुई दिनको जिन्दगी,  गरौं रमाइलो ।’

नाच्ने नाचिरहेका छन्, गाउने गाइरहेका छन् । रमिता हेर्नेहरु हेरिरहेका छन् । पाप धर्मको हिसाबकिताब गर्दै मन्त्र पढ्ने पण्डितहरु पूजा लगाउँदै भेटीपैसा थापिरहेका छन् । सुख, शान्ति र दीर्घायूको कामना गर्दै व्रत बसेका महिलाहरु अझै लाइनमा उभिएर आफ्नो पालो पर्खिरहेका छन् । 

तैपनि खोलामा शव जलेको हेर्नेहरु घटेका छैनन् । अघिदेखि गालामा हात लगाएर बसिरहनुभएकी आमै अझै टोलाइरहनुभएको छ । 

‘आमै ल हिँड्नुहोस् त्यहाँ तपाईंजस्तै आमैहरुले गीत गाइरहनुभएको छ, यस्तो जति हेर्यो त्यति चिन्ता बढ्छ’ मैले आमैलाई जोड गरें । उहाँ बल्लतल्ल उठेर अलि पर पुग्नुभयो । त्यहाँ उहाँजस्तै उमेरका आमैहरु पुरानो गीत गाउँदै हुनुहुन्थ्यो,

सम्झी सम्झी नरुनु आमा
यो बाल बैंसमा मरेँ बरिलै..................।
 

अन्तिम अपडेट: कात्तिक २९, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया