साफ च्याम्पियनसिप : मालदिभ्ससँग नेपाल ३–० ले पराजित, फाइनल पुग्ने नेपालको सपना चकनाचुर

 भदौ २७, २०७५ बुधबार १८:१२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

माल्दिभ्ससँग पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।
 
ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा बुधबार भएको खेलमा माल्दिभ्ससँग ३–० गोलले पराजित भएपछि नेपाल फेरि एकपटक साफ च्याम्पियनसिपको सेमिफाइनलबाट माथि जान सकेन ।
 
चौथो पटक साफको सेमिफाइनल खेलेको नेपाल अहिलेसम्म फाइनलमा पुग्न सकेको थिएन । बुधबार ढाकामा पनि नेपालको त्यही नियति दोहोरियो ।
 
खेलको नवौं मिनेटमा कप्तान अक्रम अब्दुल घानीले शानदार फ्रिकिकमार्फत गोल गरी माल्दिभ्सलाई अग्रता दिलाएका थिए ।
 
रक्षापंक्तिको कमजोरीमा खेलको अन्त्यतिर नेपालले दुई गोल खान पुग्यो । दुवै गोल इब्राहिम वाहिदले नै गरे । ८४औं मिनेटमा नेपाली डिफेण्डर अनन्त तामाङले डिबक्सबाट क्लियर गरेको बलमा इब्राहिमले गोल गरेका थिए ।
 
त्यसको तीन मिनेटपछि नेपालले तेस्रो गोल खान पुग्यो । यतिबेला पनि नेपालको रक्षापंक्ति निकै कमजोर देखियो । गोलरक्षक किरण चेम्जोङ आफ्नो पोजिसनबाट अगाडि बढेको अवस्थामा इब्राहिमले नै पेनाल्टी एरियाबाट गोल गरे ।
 
२७औं मिनेटमा मेघ गर्जनसहितको वर्षा र खराव प्रकाशका कारण खेल केहि समय रोकिएको थियो । करिब आधा घण्टापछि सुरु भएको खेलमा नेपालले गोलका केही अवसरहरु सदुपयोग गर्न सकेन ।
 
पहिलो हाफको अन्त्यतिर भरत खवास गोल गर्ने सुनौलो अवसरबाट चुक्न पुगे । त्यस्तै ७५औँ मिनेटमा स्ट्राइकर नवयुग श्रेष्ठले पनि त्यस्तै मौका गुमाए । बिमल घर्तीमगर र सुनील बलले गोलको प्रयास गरे पनि सफल हुन सकेनन् ।
 
समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएको नेपालले त्यसयता भुटानबिरुद्ध ४–० र अन्तिम खेलमा घरेलु टोली बंगलादेशविरुद्ध २–० गोलअन्तरको जित निकाल्दै समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो ।
 
सुरुमे गोल खानु परेपछि नेपाली टोली हतोत्साही देखियो भने वर्षाका कारण मैदान हिलो भएपछि नेपाली टोलीमा तालमेलको कमी देखियो ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

2 Comments

  • राई कोमल कुमार

    Sept. 12, 2018, 6:57 p.m.

    नेपालको लागि खेलहरु हेर्दा जहिले पनि डिफेन्समान‌ै खराब प्रदर्शन रहन्छ :- नेपालका राष्ट्रिय टोलीले यी निम्न कम्जोर,गल्तीहरु सुधार्न सके जित निकाल्न सक्छ (१) डि-बकस भित्र फल्स र ह्यान्ड गर्ने (२) अाफ्नो गोल पोस्ट नजिक फल्स गर्ने र (३) जति समय सकिँदै जान्छ उतिनै खेल खराब खेल्ने र विपक्ष टोली जस्तो प्रदर्शन गर्न नसक्ने अादि यसमा सुधार भएमा नेपालले जित निकाल्न सक्छ अाजको खेलमा पनि डिफेन्समा समस्या देखियो गोलपोस्ट नजिक पर्ने ठाउँमा फल्स गरेपछि पहिलो गोलको सामना गर्नु पर्यो अाज यी दुई कारणले नेपाल पराजित हुन पुग्यो (१) मौसम खराबीको कारण (२) थुप्रै गोल गर्ने मौका जुरे पनि गोल गर्नु नसक्नु र पानी परेको हुनाले हिलाम्मे मैदानमा खेललाई नियन्त्रण राख्न नसक्दा थप २ ग‍ोल खाँदै ३-० ले पराजित हुन पुग्यो र खराबी मौसम,पानी पर्नुनै नेपालको लागि घातक भयो इतिहासमै नमिठो क्षण बन्नेछ ।

  •  0 Reply
  • bhandari janak

    Sept. 12, 2018, 6:31 p.m.

    कसरी हुन्छ आफ्नो टीमलाई चनाखो र अब्बल बनाउन सकिन्छ , त्यसबारेमा आफैले सोच्नेबेला आएको छ / नेपाल जस्तो युवाले भरिएको देश साफमा अहले सम्म पनि फाइनलमा नपुग्नु चिन्ता लाग्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया