‘पहिला घाटा हुँदा दश कठ्ठा जमिन बेचेँ, अहिले सयौँलाई रोजगारी दिँंदैछु’

 भदौ २८, २०७५ बिहिबार ७:२८:४० | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – जितकुमारी विकको ७ जनाको परिवार छ  । उहाँले औपचारिकरुपमा कुनै शिक्षा लिनुभएको छैन । सामान्य आफ्नो नामसम्म लेख्न सक्ने बिकलाई कामको लागि भने कुनै समस्या छैन । बिहान ६ बजेदेखि साँझसम्म उहाँ सालको पातको दुना टपरी बनाउन  व्यस्त रहनुहुन्छ । यही कामबाट उहाँले आफ्नो घर खर्च चलाउनु भएको छ । यति मात्रै होइन उद्योगमा काम गरेर  उहाँले आफ्नो घर समेत बनाउनु भएको छ ।

जित कुमारी मेसिनमा सालका पात राख्नुहुन्छ, अनि आकर्षक दुना टपरी तयार हुन्छ । उहा“ १८ वर्षदेखि कावासोती डण्डामा रहेको ईन्द्रदेव दुना टपरी उद्योगमा काम गर्दै आउनु भएको छ । ‘मैले काम गर्दा छोराहरु ४ वर्षका थिए, उनीहरुलाई पढाएँ, हुर्काएँ, विवाह गराएँ’ विकले भन्नुभयो, ‘आफू बस्ने घर समेत यही काम गरेर बनाए, आफ्नो कामदेखि सन्तुष्ट छु ।’ दैनिक ५ सयसम्म आम्दानी हुने गरेको उहा“ले बताउनु भयो ।

उहाँ जस्तै किल्मु महतो पनि उद्योगमा टपरी बनाउने काम गर्नु हुन्छ । आफूले भर्खरै काम सुरु गरेको उहाँले बताउनुभयो । ‘बिहान बेलुका आफ्नो घरको काम गर्यो, फुर्सदको समय यसै बस्नु भन्दा भनेर यहाँ काम गर्दैछु’ महतोले भन्नुभयो, ‘घर खर्चका लागि अरुको मुख ताक्नु पर्दैन ।’

विवाह, भोज लगायतका कार्यहरुमा दुना टपरीको माग बढेसँगै दुना टपरी उद्योग रोजगारीको राम्रो माध्यम बनेको छ । जसको बलियो उदाहरण बनेको छ, कावासोती १६ डण्डामा रहेको ईन्द्रदेव दुना टपरी उद्योग । वि.सं २०५४ सालमा स्थापना भएको यो उद्योगले अहिले नवलपुर मात्रै होइन, पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा समेत शाखा विस्तार गरी सयौंलाई रोजगारी प्रदान गर्दै आएको छ ।

उद्योगका संचालन संजय गिरीको  उद्योग संचालनका शुरुका समय भने निकै कठिन थियो ।  २०५४ सालमा दुईवटा मेशिनबाट दुना टपरी उद्योग सञ्चालन गर्दा सुरुका वर्ष घाटामा गएर १० कठ्ठा जमिन नै बेच्नु परेको उहाँले सुनाउनु भयो । ‘पहिला घाटा भो, जमिन नै बेच, अहिले सयौंले रोजगारी पाएका छन्’ संचालक गिरीले भन्नुभयो ।

तर अहिलेको समय भने फेरिएको छ । उहा“सँग अहिले ५० वटा दुना टपरी उत्पादन गर्ने मेशिन छन् । अहिले मेशिन बिग्रियो भने आफैं बनाउनु हुन्छ । डण्डाबाट सुरु भएको उहा“को उद्योगको अहिले कोइलापानी, हसौरा, रिठ्ठेपानी र पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा पनि शाखा रहेको छ ।

डण्डा स्थित उद्योगबाट मात्रै  दैनिक करीब १ लाख पिस दुना टपरी उत्पादन हुने गरेको छ । उद्योगमा प्रत्यक्ष रुपमा ६५ जनाले रोजगार प्राप्त गरेका छन् । योसँगै यस आसपासका क्षेत्रबाट उद्योगका लागि पात टिपेर ल्याउने, पातलाई खुटेर उद्योगमा बेच्न कम्तीमा ४ सय जनाले रोजगारी पाएका छन् ।

उद्योगबाट उत्पादन भएका दुना टपरी काठमाडौं, पोखरा, भैरहवा, विराटनगर, ईटहरी, बुटवल, नारायणगढ लगायतका बजारमा बेच्ने गरेको सञ्चालक गिरीले बताउनु भयो । उद्योगबाट उत्पादन हुने दुना टपरीको मूल्य ४५ पैसादेखि २ रुपैयाँ ५० पैसासम्म रहेको उहाँले बताउनुभयो । 

बजारीकरणमा खासै समस्या नभएको उहा“ले बताउनु भयो । तर कतिपय स्थानीय सामुदायिक वनले पात टिप्नका लागि पनि अवरोध गर्ने गरेको उहाँले सुनाउनु भयो । आफू उद्योग सञ्चालन पूर्व सामान्य खेती किसानी गर्दै आएकोमा अहिले यति धेरैलाई रोजगारी दिन पाउँदा निकै खुशी लागेको उहाँले बताउनु भयो ।  नवलपुरमा कावासोती, चोरमारा गरी विभिन्न स्थानमा साना ठूला गरी करीब आधा दर्जन दुना टपरी उद्योग संचालनमा रहेका छन् ।

उद्योगमा महिला धेरै

उद्योगमा काम गर्ने महिलाको संख्या धेरै रहेको छ । महिलालाई बिहान बेलुका आफ्नो घरको काम सकेर दिउँसोको फुर्सदको समयमा काम गर्न सहज भएकाले उद्योगमा महिलाको संख्या बढी छ ।

कतिपय पुरुषले यस कामलाई सामान्य ठान्ने कारण पनि उद्योगमा महिलाको संख्या बढी भएको सञ्चालक गिरीले बताउनु भयो ।  जंगलमा पात टिप्ने काम र खुट्ने काममा पनि महिला नै सक्रिय हुने कारण पनि उद्योगमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा काम गर्न महिला धेरै रहेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया