एक युवाको पहलमा सामुदायिक विद्यालयको शैक्षिक सुधार

 भदौ २८, २०७५ बिहिबार ९:४२:२ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – मादी नगरपालिका चिराइतेका २७ वर्षीय सूर्य कार्की सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानमा लाग्नुभएको छ ।  

उहाँले शैक्षिक सुधारमा गरेको योगदानका बारेमा जो कोहीलाई पनि पत्याउन मुश्किल पर्छ । भर्खरका कलिलो युवा, साधारण व्यक्तित्वका धनी सूर्य शिक्षा नै जीवनको सबैभन्दा महत्वपूर्ण अंग भएको बताउनुहुन्छ । शिक्षाबिना जीवन अन्धकार छ । सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियान अन्तर्गत उहाँले हालसम्म २६ वटा विद्यालय निर्माण गरिसक्नु भएको छ । 

९ ओटा विद्यालय निर्माणको चरणमा पुगेको छ । सन् २०२५ सम्म १ सय ५० ओटा सामुदायिक विद्यालय निर्माण गर्ने उहाँको लक्ष्य छ ।

आफ्नो पढाईको अनुभवले विद्यालय सुधार गर्ने अभियान

सूर्यले गाउँकै प्राथमिक विद्यालयमा कक्षा ३ सम्म पढ्नुभयो । घरबाट दुई/तीन घण्टा लाग्थ्यो विद्यालय जान मात्रै । गरिबीको कारण घरमा के खाउँ, के लाउँको अवस्था थियो । तै पनि आमाले पिठ्यूँमा बोकेर विद्यालयसम्म पुर्याउनुहुन्थ्यो । प्रायः उहाँ कक्षाकोठाको अन्तिम बेञ्चमा बस्नुहुन्थ्यो । शिक्षक दायाँबायाँ भएको मौका छोपी झ्यालबाट सुटुक्क भागेर घर पुग्ने अनि बाख्रा चराउन जंगल जानुहुन्थ्यो । ‘पढ्न भन्दा बाख्रा चराउँदै, जंगलमा खेल्न रमाइलो लाग्थ्यो’ सूर्य भन्नुहुन्छ ‘सानो छँदा आमालाई खुब दुःख दिन्थे, पटक्कै नपढने मान्छे म ।’ 

बुबाले दोस्रो विवाह गरेपछि आमा, एक भाइ बहिनी गरी चारजनाको परिवार एक्ली आमाले हुर्काउनुभयो । भाइ पाँच वर्षको  हुँदा मुटुको बिरामी भए । आमासँग उपचार गर्ने पैसा नभएकै कारण भाइ गुमाउनु परेको सूर्य बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘त्यतिबेला त्यो उपचार गर्न १० हजार लाग्थ्यो रे, आमासँग त्यति पैसा थिएन, त्यसैले भाइ गुमाउनु पर्‍यो, त्यो दिन सम्झदा अझै दुःख लाग्छ ।’

पछि काकाको सहयोगमा सूर्यले काठमाडौंको बुढानिलकण्ठ स्कुलमा छात्रवृत्तिमा पढ्न सुरु गर्नुभयो । त्यहाँ कक्षा १२ सम्म विज्ञान संकाय पढेको सूर्य बताउनुहुन्छ । त्यसपछि छात्रवृत्तिमा भेनेजुयलामा दुई वर्ष कृषि व्यवस्थापन पढ्नुभयो ।

भेनेजुयलाबाट नेपाल फर्किएपछि अमेरिकाबाट फर्केका साथीहरुसँग मिलेर ‘प्राइभेट फ्रि स्कुल’ सञ्चालनको अवधारणा अघि सार्नुभयो । त्यसपछि कृषि र शिक्षालाई संयोजन गरेर फ्रि स्कुल उदयपुर, स्याङ्जा र तनहुँमा संचालन गरेको उहाँ बताउनु हुन्छ । ‘फ्रि स्कुलमा अभिभावकले महिनाको दुई पटक कृषि फार्ममा काम गर्नुपर्ने र छोराछोरीले छात्रवृत्तिमा अध्ययन गर्न पाउने अवधारणा ल्याएका थियाैँ । जुन अहिले पनि सञ्चालित छ’ सूर्यले भन्नुभयो ।

चार वर्षअघि अमेरिकाबाट फेरि पढाई सकेर फर्किएपछि उहाँलाई गाउँमा शिक्षा दिने रहर पलायो । युनाइटेड वल्र्ड स्कुलस् नेपाल नामक संस्थाको स्थापना गर्ने अवधारणा अघि बढ्यो ।
    
संस्था दर्ता गर्न धेरै गाह्रो भएको उहाँले बताउनुभयो । जन्मभूमि गाउँ फर्किएका सूर्यलाई तामाफोकका मामा खेमराज खड्काले गाउँको जीर्ण अवस्थामा रहेको सामुदायिक विद्यालयको बारेमा सुनाउनुभयो । गाउँले र विद्यालय ब्यबस्थापन समिति लगायत सबैसँग छलफल पछि आफुले दाता खोज्न थालेको सूर्यले बताउनुभयो । ‘गाउँका सबै सकारात्मक हुनुभयो, हातमा पैसा छैन, प्रपोजल मात्रै भएर हुँदैन, के गर्ने भनेर म तत्कालै काठमाडौ फर्किएँ । मैले अमेरिकामा रहेको सिटिसी फाउण्डेसन र यूनाइटेड कलेज यूकेका दाताहरुलाई एकसय ५० ओटा विद्यालयको प्रपोजल इमेल गरें । ३५ ओटाको गर्ने दाताले सहमति जनाए’ सूर्यले भन्नुभयो ।

सुविधा सम्पन्न भवन र नयाँ शिक्षण सिकाई

जगबाट नै बलियो नबनाए माथिल्लो स्तरमा गुणस्तरीय शिक्षा दिन सकिदैन भन्ने सोच राखेर युनाइटेड वर्ल्ड स्कुलस् नेपालकोे स्थापना भएको हो । यो संस्थाले सरकार, समुदायको सहकार्यमा दुई वर्ष अघिदेखि सामुदायिक विद्यालय निर्माण गर्दै आएको छ । जसमा सरकार र समुदायको सीमित लगानी रहेको छ । 

संस्थाले हालसम्म संखुवासभामा २१ र गुल्मीमा ५ वटा विद्यालय निर्माण गरी संचालनमा ल्याएको छ । समुदायको मागमा नयाँ विद्यालय पनि निर्माण भएका छन् भने पुरानै विद्यालयलाई नयाँ बनाइएको छ । ३० प्रतिशत समुदायको लागतमा अन्य दातृ निकायको सहयोग जुटाएर ५, ६, ७, ८, ९ कोठाको एक तले भूकम्परहित २५ लाखमा पक्की भवन बनाइएको छ । र सबै भन्दा महत्वपूर्ण कुरो हरेक विद्यालय भवन ३४ दिनमा निर्माण सम्पन्न गरेको सूर्यले बताउनुभयो ।

स्थानीय सरकारको सहकार्यमा बालमैत्री फर्निचर निर्माण गरेर रंगीन कक्षाकोठा बनिरहेका छन् । फराकिलो खेलमैदान, शैक्षिक सामग्रीको पूर्ण व्यवस्थापन, अंग्रेजी माध्यममा अध्ययन अध्यापन गराइने प्राथामिक तहको विद्यालयमा संस्थाले शैक्षिक र नेतृत्व विकास, शैक्षिक वातावरण निर्माणका निमित्त तालिम प्राप्त एक जना फेलोलाई एक विद्यालयमा खटाएको छ । संस्थामार्फत सामुदायिक विद्यालयमा काम भईरहेको थियो । 

संखुवासभा र गुल्मीमा बनेका सामुदायिक विद्यालय

संखुवासभाको विभिन्न नगरपालिका र गाउँपालिका भित्रका तामाफोक, मुडे, हुर्पा, कल्लेरी, सिद्धकाली, राम्बेनी, नुम, गुराँसे, हेलुवाबेसी, मझुवा, नागीडाँडा, उम्लिङ्ग, गुफा, होक्से, लेबराङ्ग, खराङ्ग, मूलखर्क र बागामा निर्माण सम्पन्न भईसकेको छ भने गुल्मीमा बडागाउँ, छापाहिले, वाग्ला र साउनेठाउँमा सामुदायिक विद्यालय निर्माण गरिएको छ । 

नेपाली माटोमा नै केही गर्ने इच्छा

सूर्यलाई विदेशमा रहँदा त्यहाँ पनि थुप्रै र राम्रा–राम्रा अवसर आएको थियो । तथापी नेपालकै माटोमा बसेर केही गर्ने विचार पलाएकै कारणले विदेश छाडेर नेपाल आएको उहाँको भनाई छ । ‘किसानलाई रोजगारी दिने कारखाना खोल्ने सोचमा छु । त्यसमा अलैँची, कफी र कागती खेती व्यवसायिक रुपमा गर्ने सोचमा छु ।

नवलपरासीमा तीनजनाको सहकार्यमा ५/६ महिनामा एउटा कृषि कारकाखाना बन्दैछ । त्यहाँ हाल २÷३ सय जनालाई रोजगारी दिन सकिन्छ । सन् २०२५ सम्ममा दैनिक ५ हजार जनालाई दैनिक रोजगारी उपलब्ध गराउने लक्ष्य राखेको छु’ उहाँ भन्नुहुन्छ ।
    
 

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

1 Comments

  • चन्द्रकान्त पाठक

    Sept. 13, 2018, 1:43 p.m.

    उहालाई धेरै धेरै धन्यवाद छ !!! छात्रवृत्तिमा अध्ययन गरि स्वदेशकै सेवा गर्नुप्र्छ भन्ने उहाको भावना र त्यो काम गराइको लगाव प्रती म प्रशन्न भए उहाको कार्यक्रम हाम्रो जिल्लामा पनि लागू गर्न पाए राम्रो हुनेथियो !!

  •  0 Reply

तपाईको प्रतिक्रिया