माइक्रोमा सास्ती : सिटभन्दा धेरै यात्रु राख्न नपाउने नियम कसरी लागू होला ?

 जेठ २१, २०७५ सोमबार ८:५०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

‘ओ अंकल खुट्टा उता सार्नु न भन्या’ सुन्धाराबाट मनमैजु जान माइक्रोभित्र उभिइरहेका एक अधवैंसेलाई माइक्रोका सहचालकले हप्काएको पारामा भने । छेउमै उभिएकी किशोरीलाई चित्त बुझेन,  जवाफ फर्काइदिइन् ‘गाह्रो भो अरे के उहाँलाई ।’ तर सहचालक किन मान्थे, झनै च्याँठिए, ‘गाह्रो भो भनेर हुन्छ ? अरुचाहिँ जानु परेन ?’ 

‘उता जानुस्, उता जानुस्’ भन्दै यात्रुलाई ठेल्दै सहचालकले ढोकामा एउटा खुट्टो टेकाए र ढ्याक्ढ्याक ढोकामा हाने । माइक्रो गुड्यो । जमल पार गरेपछि यात्रुले कुप्रिएको ढाड केही तन्काएर राहतको सास फेरे । 

काठमाडौंमा माइक्रोमा यात्रा गर्नुहुन्छ भने तपाईँले खेप्नुभएको हैरानी यो भन्दा पनि धेरै होला । ठूलै बसमा पनि नसक्नुको दुःख पाइन्छ । सास्ती सहँदासहँदा बानी यस्तो परिसकेको छ कि यस्तो त सामान्य लाग्छ ।

सार्वजनिक गाडीमा सिट पाउनु निकै दूर्लभ र भाग्यको कुरा जस्तो बनिसकेको छ । 

सरकारले एउटा नियम ल्याएको छ । बेलाबेलामा लागू गरेजस्तो गर्दै बिर्सिइने धेरै नियमहरु जस्तै यो नियम हो, ‘माइक्रोमा सिटभन्दा धेरै यात्रु चढाउन नपाइने ।’

तर यो नियम पनि जेब्रा क्रसिङ बाहेकबाट बाटो काटे जरिवाना तिराउने, हर्न बजाउन नपाइने, चालकले पोशाक अनिवार्य लगाउनुपर्ने जस्ता धेरै नियम जस्तै सुन्दा ठिक लाग्ने तर कार्यान्वयन नगरिने नियम हो भन्ने यसअघि नै पुष्टि भइसकेकै हो ।

भृकुटीमण्डपबाट बालाजु जाने माइक्रो पर्खिरहेकी बिना पौडेल भन्नुहुन्छ, ‘सबैलाई जानु परेको हुन्छ, जति पर्खे पनि खाली गाडी पाइँदैन भन्ने भएपछि बरु झुण्डिएरै भए पनि जानुको विकल्प हुँदैन ।’ खास गरी कार्यालय समयमा र थोरै मात्र गाडी चल्ने रुटमा सिटमै चढेर मात्र यात्रा गर्छु भन्नु असम्भव नै रहेको उहाँको भोगाई छ । अगाडि ट्राफिक को चेकिङ छ भन्दा मात्र माइक्रोले एकैछिनका लागि उभ्याएर यात्रु नराख्ने तर एकैछिनमा फेरि राखिहाल्ने गरेको उहाँको अनुभव छ । 

वनस्थली जान सुन्धारामा गाडी कुरिरहेका नवराज भट्टको भोगाईमा पनि  उस्तै छ ।  उहाँ पनि खाली गाडी अर्थात सिटमा बस्न पाइनेगरी माइक्रो नपाइने  र हतारोका कारण कोचिएरै भए पनि गाडीमा चढ्नुपरेको स्वीकार्नुहुन्छ । ‘माइक्रोमा उभिँदा म जस्तो अग्लो मान्छेलाई त विजोगै हुन्छ नि’, भट्टले भन्नुभयो ‘तर आफ्नो रुटमा गाडीभन्दा माइक्रो नै धेरै चल्ने भएकाले कतिन्जेल पर्खिने भन्ने हुन्छ अनि के गर्नु ?’

१२ वर्षदेखि गाडी चलाउँदै आएका विष्णु भट्ट यो नियम लागू हुँदैन भन्नेमा ढुक्क जस्तै हुनुहुन्छ । यो नियमबिना अध्ययन आएको भन्दै उहाँले भन्नुभयो, ‘माइक्रोमा बढीमा १५ जनाको सिट हुन्छ त्यसमा पनि प्राय सबैसँग विद्यार्र्थी परिचयपत्र हुन्छ । पेट्रोल यति धेरै महंगो छ । अरु खर्च पनि बढेको छ । अब १५ जना यात्रु मात्र बोकेर त्यो पनि छुट दिएर कसरी चलाउन सकिन्छ ?’ 

व्यवहारिक छ त यो नियम ?

नियम लागू हुने दुई तरिका हुन्छन् । कि त जबरजस्ती लागू गर्ने कि त सबैले मान्ने र लागू हुने । नियम लागू हुने नहुने कुरा यो नियम कत्तिको व्यवहारिक छ भन्नेमा पनि भर पर्छ । अहिले माइक्रोबसमा सिट भन्दा धेरै यात्रु नचढाउने कुरा लागू गर्न कठिन भएको स्वयम यात्रु पनि स्वीकार्छन् । सबै रुटमा ठूला बस जाँदैनन् । माइक्रोमात्र चल्ने रुटमा पर्याप्त माइक्रो छैनन् जसले गर्दा उभिएर जानुको विकल्प नहुने यात्रुको भनाई छ । 

अपरान्ह हुँदै जाँदा काठमाडौंको भृकुटीमण्डप, सुन्धारा, रत्नपार्क, जमललगायत ठाउँमा यात्रुको भिड देख्दा उभिनै मात्र पाउनु पनि भाग्य हो जस्तो धेरैलाई लाग्छ । १५ सिटको माइक्रोमा २५ जनासम्म चढ्नु सामान्य जस्तै हुने यात्रुहरुको भोगाई छ । अझ स्टपबाटै माइक्रो भरिएर आउने भएकाले बीचबीचबाट चढ्नुपर्ने यात्रुले के गर्ने भन्ने समस्या पनि उस्तै छ । 

सिटमा मात्र यात्रु राख्ने नियम सुन्दा राम्रो सुनिए पनि त्यो नियम यसअघि पनि कार्यान्वयन गर्न नसकिएको वा बीचैमा छोडिएकाले अहिले कार्यान्वयन हुनेमा धेरैजसो यात्रुको आशंका भेटिन्छ । गोंगबु बस्ने टंक अवस्थी राम्रो नियम भए पनि यसलाई व्यवहारिक बनाउन पूर्वाधारको राम्रो व्यवस्था हुनुपर्ने बताउनुहुन्छ । 

नियम लागू गराएरै छोड्ने ट्राफिक प्रहरीको दावी 

महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता नवीनराज राई यो नियम लागू गरिछोड्ने दावी गर्नुहुन्छ । गाडी नपाएको भए १०३ मा फोन गरेर जानकारी दिए यातायात व्यवसायीसँग समन्वय गरेर ती क्षेत्रमा माइक्रोको सेवा सुरु गर्नेबारे छलफल गर्ने उहाँले बताउनुभयो । 

प्रवक्ता राईले माइक्रोमा सिटभन्दा धेरै चढाएको देखेमा पनि १०३ मा फोन गरेर जानकारी दिन आग्रह गर्नुभयो । यात्रु स्वयम् सचेत भए यो नियम लागू गर्न सजिलो हुने पनि उहाँले बताउनुभयो । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया