निर्मला हत्याको छानविन गर्न ढिलाइ भएको भन्दै कांग्रेसद्वारा संसद बैठक अवरुद्ध

 भदौ २८, २०७५ बिहिबार १२:९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा छानविन गर्न ढिलाइ भएको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ । 

बिहिबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्मला पन्तको बलात्कार पछिको हत्याको घटनाका दोषीलाई सरकारले नै संरक्षण दिएको भन्दै घटनाबारे स्पष्ट जानकारी माग गर्नुभएको थियो । 

बैठक सुरु भएको जानकारी गराए लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध गरेपछि सभामुखले कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुलाई बोल्नका लागि समय दिनुभएको थियो । उहाँले निर्मला पन्तको हत्याको घटना संग जोडिए सार्वजनिक भएका विषयमाथि सरकारको जवाफ नभएसम्म सदन चल्न नदिने बताउनुभयो । 

त्यसपछि सभामुख कृष्ण बहादुर महराले कञ्चनपुरकी निर्मला पन्तको घटनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । 

पछिल्लो अनुसन्धान टोलीमा  रहेका सदस्य उपसचिव विरेन्द्र केसीले अनुसन्धानको विश्वसनियतामा गम्भीर प्रश्न उठाउदै राजिनामा दिएको विषयमा पनि कांग्रेसले सरकारको जवाफ माग गरेको छ ।

केसीले पन्तको आत्मा र पीडित परिवारले न्याय पाउने संभावना नदेखको तथा  शक्तिशाली अपराधीहरुबाट मेरो ज्यान खतरामा रहेको हुँदा सरकार, मानवधिकार आयोग, राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्था र नागकिक समाजलाईसमेत जीवनरक्षाका लागि अपिल गर्दै छानविन टोलीको सदस्यबाट राजीनामा दिनुले गम्भीर स्थितिको श्रृजना गरेको भन्दै उहाँले त्यसबारे सरकारको जवाफ माग गर्नुभयो । 

उहाँले भन्नुभयो “आखिर यो यो अवस्था किन र कसरी आयो ? यी शक्तिशाली भनिएका अपराधीहरु को हुन् ?यो राज्यको सुरक्षा व्यवस्था र अवस्था प्रति नेपाल सरकारको उपसचिवले समेत विश्वास गर्न नसक्ने र जीवनरक्षाका लागि संयुक्त राष्ट्रसंघ र नागरिक समाजलाई लाई गुहार्नुपर्ने अवस्था किन र कसरी आयो ? यसले अत्यन्तै गम्भीर प्रश्न उब्जाएको छ । राज्यको संयन्त्र सरकारले चलाइरहेको छ वा अन्य कुनै शक्तिले ?”

कांग्रेसले नेपाल तरुण दल रोल्पाका अध्यक्ष रोहित पुनको हत्याका दोषिलाई कानुनी दायरामा ल्याउन नसक्नुको कारण र खोजतलास साप्ताहिकका प्रधान सम्पादक राजु बस्नेतलाई नियन्त्रणमा लिनुको कारण पनि सरकारसँग माग गरेको छ । बस्नेतलाई बिना कारण नियन्त्रणमा लिएर सरकारले पत्रकारमाथि आक्रमण र प्रेस स्वन्त्रचतामाथि हस्तक्षेप गर्ने काम गरेको ठहर कांग्रेसले गरेको छ ।

यी सबै घटना बारे सरकारको जवाफ माग गर्दै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया