‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ परिमार्जनसहित पारित

 भदौ २८, २०७५ बिहिबार १२:४९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ परिमार्जनसहित पारित गरेको छ । 

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जनसहित पारित गरेको हो । संशोधनकर्ता सांसद र सम्बन्धित निकायसँग व्यापक छलफल गरी त्यो विधेयक परिमार्जनसहित पारित गरिएको समितिकी जेष्ठ सदस्य मीना पाण्डेले जानकारी दिनुभयो ।

तर परिमार्जनसहित पारि त्यो विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भने फरक मत राख्नु भएको छ । जिल्लाका विभिन्न निकायमा रहेका सार्वजनिक पदधारण गरेका व्यक्तिहरुको पनि सम्पत्ति, शैक्षिक योग्यतालगायतका विवरण सार्वजनिक गर्नुपर्ने समितिमा उठेको माग सम्बोधन नभएको भन्दै उहाँले त्यो विधेयकमा फरक मत राख्नु भएको हो ।

यसअघि विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले हरेक नागरिकको गोपनीयताको हकलाई सुनिश्चित हुनेगरी ल्याइएको सो विधेयकलाई अन्यथा नलिन समितिका सदस्यहरुलाई आग्रह गर्नु भएको थियो । उहाँले अपराध गर्नेहरुलाई गोपनीयताको हकको नाममा संरक्षण गर्न नदिने कानुनी व्यवस्था रहेको पनि स्मरण गराउनु भयो । नागरिकको मान, सम्मानलाई संरक्षण गर्न पनि त्यो विधेयक ल्याइएको गृहमन्त्री थापाको भनाई थियो ।

विधेयकमा सार्वजनिक पदधारण गरेका व्यक्तिको पनि गोपनीयताको हक सुनिश्चित हुने व्यवस्था गरिएको छ । बैठकमा गृहमन्त्री थापाले सार्वजनिक पदधारण गरेका व्यक्तिले अपराध गरे कारबाही गर्ने कानुनी व्यवस्था रहेकाले त्यसमा चिन्ता नगर्न पनि समितिका सदस्यहरुलाई आग्रह गर्नु भएको थियो ।

सार्वजनिक पदधारण गरेका व्यक्तिहरुको सम्पत्ति, शैक्षिक योग्यता आवश्यक्ता अनुसार सार्वजनिक गर्ने प्रावधान पनि विधेयकमा राखिएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया