बेनीबजार संरक्षणका लागि बनाइएको पर्खाल कालीगण्डकीले बगायो (तस्बिरसहित)

 भदौ २८, २०७५ बिहिबार १३:२३:४८ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीबजार संरक्षण गर्नका लागि कालीगण्डकी नदीको किनारमा बनाइएको पक्की पर्खाल कालीगण्डकीमा आएको बाढीले बगाएको छ । हिमाली क्षेत्रमा भएको अत्यधिक वर्षाका कारणले गर्दा बुधबार राति कालीगण्डकी नदीले पक्की पर्खाल भत्काएको हो । 

मनसुन सकिने समयमा परेको भारी वर्षाले खोलामा एक्कासी पानीको सतह बढेपछि कालीगण्डकी नदीले सदरमुकाम बेनीबजार, गलेश्वरको तटीय क्षेत्रमा कटान गरेको छ । बेनीबजार संरक्षणका लागि झण्डै पाँच करोडको लागतमा निर्माण गरिएको पक्की तटबन्ध भत्काएको छ । म्याग्दी उद्योग वाणिज्य संघको भवन पछाडिबाट जेसिज सचिवालय भवनसम्मको पर्खाल भत्किएको हो । 

नदी किनारको आसपासमा राखिएको दुईवटा डोजरमासमेत क्षति पुगेको छ । तटबन्ध भत्किएसँगै दुईवटा डोजर खोलामा खसेका छन् । बजार संरक्षणका लागि बनाइएको पक्की पर्खाल भत्किएपछि पैदलयात्रामा समस्या देखिएको छ । पक्की पर्खाल भत्किँदा म्याग्दी जेसिजलगायत आसपासका क्षेत्रमा जोखिम बढेको छ । आर्थिक वर्ष २०७३÷७४ र ०७४÷७५ मा झण्डै ५ करोड खर्चिएर बनाइएको पर्खाललाई खोलाले बगाएर लगेको बेनीबजार संरक्षण समितिका कोषाध्यक्ष टंक हमालले बताउनुभयो ।

तत्काल अस्थायी संरचना नबनाए थप क्षतिको खतरा देखिएको छ । कालीगण्डकी नदीमा आएको बाढीले बेनी नगरपालिका–९, गलेश्वर र रघुगंगा गाउँपालिका–३, राममन्दिर आसपासको क्षेत्रमा पनि कटान गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । रघुगंगा उर्लिएर आएपछि सडक तटीय क्षेत्रमा बनाइएका संरचनाहरु बगाएको छ भने कटानले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । नदी कटानले बेनीमा ल्याइएको खानेपानीको पाइपमा समेत क्षति पु¥याएको छ । 

धौलागिरी हिमाल आसपासमा परेको भारी वर्षापछि रघुगंगा गाउँपालिको विकट कुइनेमङ्गलेको घ्याँसीखर्कमा विद्यालयको भवन बगाएको छ भने आसपासका क्षेत्र उच्च जोखिममा परेका छन् । कालीगण्डकीको कटानले बेनी–जोमसोम सडकसमेत धरापमा परेको छ ।

सडकखण्डका विभिन्न स्थानमा छियाछिया पारेकाले सडक नियमित गर्न केही दिन लाग्ने प्रहरीले अनुमान गरेको छ । बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि पर्यटक र सर्वसाधारणलाई सास्ती हुनुका साथै मालसामान ढुवानी गर्न समस्या भएको छ ।

बाढी पूर्वानुमान महाशाखाको वेबसाइटमा बुधबार दिउँसो रघुगंगामा पानीको सतह २ मिटरबाट बढेर ३ दशमलव ५२ मिटर र कालीगण्डकी नदीमा ७ दशमलव १२ मिटर पुगेको थियो । रघुगंगाको ५ मिटर र कालीगण्डकीको ७ मिटर सतर्कता तह भएकाले पनि कालीगण्डकी नदी आसपासका क्षेत्रका बस्तीमा बसोबास गर्नेलाई सचेत रहन अनुरोध गरिएको छ । नदीमा ल्याएको ठूला रुखले समेत आसपासका क्षेत्रमा कटान गरेको छ । वर्षाका कारण जिल्लाभर भैरहेको क्षतिको विवरण सङ्कलन भैरहेको प्रहरीको भनाइ छ । 


 

अन्तिम अपडेट: बैशाख ११, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया