‘मिठो बात गरेर नागरिकलाई मनोरञ्जन दिने सरकार कला मण्डली जस्तै बनेको छ’

 भदौ २८, २०७५ बिहिबार १३:४४:२३ | उज्यालो सहकर्मी

काठमाडौं – सांसदहरुले कञ्चनरपुर घटनाको सत्य तथ्य पत्ता लगाई दोषिलाई कानुनी दायरामा ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले महिला हिंसाका घटना प्रति संवेदनशील बन्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद बिन्दा पाण्डेले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना झन्–झन् रहस्यमय बन्दै गएको भन्दै अनुसन्धानलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभयो ।

अनुसन्धान टोलीमा रहेका सदस्य आफै कहिले ज्यान खतरामा रहेको भन्दै राजीनामा दिने र कहिले फिर्ता हुने घटनाले नागरिकमा आशंका पैदा भएको पाण्डेले बताउनुभयो । रौतहटमा जनप्रतिनिधि नै आपराधिक घटनामा मेलमिलाप गराउन लागि परेको तथा काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा अपराधिक घटना भएको समाचार लागातार आइरहेको भन्दै उहाँले भोलिको सदनमा अपराध पत्ता लगाउने, कारबाही गर्ने, अपराधी जोगाउन लाग्ने र हिंसा गर्ने जनप्रतिनिधिमाथि कारबाही गर्ने र अपराध न्यूनिकरणकणको बारेमा सरकारको योजनाबारे पनि जानकारी गराउन माग गर्नुभयो । उहाँले मुलुकभरका अपराधबारे थप छानबिन गर्नका लागि संसदीय समिति बनाउन माग गर्नुभयो ।

सांसद शान्ता चौधरीले कुनै पनि किसिमको अपराध क्षम्य हुँदैन भन्ने सन्देश नदिएसम्म मुलकभर आपराधिक घटनामा कमी नआउने बताउनुभयो । बलात्कारलगायतका घटनामा संलग्न दोषिलाई कडा कारबाही गरी अपराधिलाई कुनै पनि किसिमको उनमुक्ति हुने छैन भन्ने सन्देश दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद सरवत आरा खानमले दूधे बालिकादेखि वृद्ध आमासम्म बलात्कारका घटना हुने गरेको भन्दै महिलामाथिको हिंसा कहिले रोकिन्छ भनेर सरकारसँग प्रश्न गर्नुभयो । उहाँले हिंसामा संलग्नमाथि कहिले कारबाही हुन्छ भन्दै प्रश्न गर्नुभयो ।

सासद सीतादेवी यादवले महिलाको सुरक्षा नभएसम्म देशको सुरक्षा हुन नसक्ने बताउनुभयो । नागरिकको रक्षक प्रहरी नै अपराधीको प्रमाण नष्ट गर्न र अपराधीलाई जोगाउन लागि पर्छ भने यो देश कहा जाँदैछ भनी उहाँले प्रश्न गर्नुभयो ।

सासंद सुजाता कोइरालाले एक पछि अर्को बालिका बलात्कारका घटना भइरहँदा पनि सरकार किन मौन बसिरहेको छ भनि प्रश्न गर्नुभयो । उहाँले निर्मला पन्त हत्यामा संलग्न दोषि अहिलेसम्म पत्ता लगाउन नसक्नुले राज्य नै अपराधीलाई संरक्षण गर्न लागिपरेको हो कि भन्ने आंशका पैदा भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कन्चरपुर घटनाबारे गृहमन्त्रालयबाट गठित छानबिन समितिका सदस्यले किन राजीनामा दिन्छ ? थ्रेट आएको हो भने कसले थ्रेट गर्छ ? त्यसको जानकारी पाउँ । यी अपराधीमाथि सजाय हुनुपर्छ । त्यसको जवाफ पार्लियामेण्टलाई चाहियो ।’

सांसद सुजाता परियारले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउने प्रशस्त प्रमाण फेला पर्दा पनि प्रहरीले ढाकछोप गर्ने काम भएको भन्दै आपत्ति जनाउनुभयो । सरकारले यस्तै लापरबाही गर्ने हो भने दिनानुदिन यस्ता घटना बढ्दै जाने उहाँले बताउनुभयो ।

सांसद संञ्जयकुमार गौतमले मुलुकभरका हिंसाका घटना बढ्दै गर्दा पनि सरकार उदासिन हुनु र्दुभाग्यपूर्ण भएको भन्दै घोर भत्र्सना गर्नुभयो । उहाँले हत्या, हिंसा र बलात्कारका बढ्दो घटनाले मुलुकमा सरकार छ ? भन्ने प्रश्न उब्जाएको भन्दै सरकार भएको अनुभूति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद हिरा गुरुङले कञ्चनपुर घटनाका आरोपीलाई अहिलेसम्म नियन्त्रणमा नलिनुले सरकार आफै घटनाका दोषिलाई जोगाउन लागि परेका र प्रहरी नै घटनामा संलग्न भएको आशंका उब्जाएको भन्दै छानबिन र दोषिलाई कानुनी दायरामा ल्याउन गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘मिठो बात गरेर नागरिकलाई मनोरञ्जन दिने सरकार कला मण्डली जस्तै बनेको छ ।’

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया