पत्रकारलाई अनावश्यक धरपक्कड गर्न मिल्दैन : नेता नेपाल

 भदौ २८, २०७५ बिहिबार १४:६:२६ | उज्यालो सहकर्मी

काठमाडौं – सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पत्रकारहलाई अनावश्यक धरपक्कड गर्न नमिल्ने टिप्पणी गर्नु भएको छ ।

वरिष्ठ नेता नेपालले पत्रकारहरुलाई पक्राउ गर्ने, धरपक्कड गर्ने लगायतका विषयमा आफूले धेरै नबुझेको उल्लेख गर्दै उनीहरुलाई निरुसाहित हुने गरी कुनै पनि गतिविधि प्रहरीले गर्न नहुने प्रतिक्रिया दिनु भएको हो ।

बिहीबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उहाँले कानुन बमोजिम बाहेक कसैलाई पनि पक्राउ गर्न नमिल्ने स्पष्ट पार्नुभयो । मुद्दा मामिला भए कानुन बमोजिम पत्रकारहरुलाई पनि अनुसन्धान गर्न सकिने पूर्व प्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ नेता नेपालको भनाई छ । तर निरुत्साहित हुने गरी पत्रकारहरुलाई दुःख दिने काम प्रहरीले गर्न नहुने पनि उहाँले स्पष्ट पार्नुभयो ।

गएको सोमबार समाचार प्रकाशित गरेकै आधारमा खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो । सोही घटनाको विरोध गर्दै पत्रकार बस्नेतलाई तत्काल रिहा गर्न सरकारमाथि चौतर्फी दवाव परेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया