सलमानले साथ छोडेपछि अजयले सम्हाल्दैछन् अर्जुन कपूरको करियर

 भदौ २८, २०७५ बिहिबार १५:१९:४४ | एजेन्सी

अभिनेता अर्जुन कपूर फिल्ममा आउनु अघि यति मोटा थिए की उनले बलिउड फिल्ममा अभिनेता हुन्छु भन्ने सोचेका पनि थिएनन् । 

सलमानले एकाएक अभिनेता बन्न सल्लाह दिँदा अर्जुन मात्रै नभई उनका पिता बोनी कपूर पनि आश्चर्य चकित भएका थिए । सलमाले यस्तो सल्लाह दिइरहँदा त्यो मजाक गरिरहेको होला भन्ने सोचेका उनीहरुलाई सलमानले आफू गम्भीर रहेको बताएका थिए । सलमानकै सल्लाहमा अर्जुनले तौल घटाएर बलिउडमा अभिनेताको रुपमा करियरको सुरुवात गरे  ।

सलमानकै सहायताका कारण आफू आज बलिउड फिल्म उद्योगमा भएको कुरा अर्जुनले बेलाबेलामा भन्ने पनि गर्छन् । तर पछिल्लो केही समययता अर्जुन र सलमानबीचको सम्बन्ध बिग्रिरहेको छ । अहिले यी दुवैबीचको सम्बन्ध पहिले जस्तो छैन । अर्जुन कपूरको नाम अभिनेत्री मलाइका अरोराका साथ जोडिएपछि सलमान अर्जुनसँग रिसाएका छन् । सलमान खानका भाइ अरबाज खान र मलाइका अरोडाबीचको सम्बन्ध विच्छेद हुनुको कारण पनि अर्जुन र मलाइकाबीचको सम्बन्ध रहेको खबरहरु आएका थिए । 

अर्जुन र मलाइकाले भने आफूबीचको सम्बन्धबारे कुनै पनि किसिमको प्रतिक्रिया जनाएका छैनन् । तर यी दुईबीचको निकटताको खबरको चर्चाबाट प्रष्टै थाहा हुन्छ कि दुवैबीच केही न केही त अवश्य पनि  छ । अर्जुनलाई यस विषयमा उनका पिता बोनी कपूरले पनि सम्झाएका थिए । तर अर्जुनले पिताको कुरालाई पनि मानेनन् । यही कारण सलमान अर्जुनसँग निकै रिसाएका छन् । 

यसअघि सलमानकै छत्रछायाँमा बलिउड छिरेका अर्जुनले सलमानको साथ छोडिदिएका छन् । उनी अहिले अभिनेता अजय देवगनको टिममा गएका छन् । अजय पनि अर्जुनको करियरलाई माथि उकास्ने प्रयासमा लागेका छन् । 

अजयकै आग्रहमा निर्देशक राजकुमार गुप्ताले अर्जुनलाई फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’ मा अभिनेताको रुपमा चयन गरेका छन् । यस फिल्ममा अर्जुन कपूर एक रअ एजेन्टको भूमिका निर्वाह गर्नेछन् ।  यति बेला अर्जुन यही फिल्मको छायाँकंनको लागि नेपाल आएका छन् । 

अजयले यो फिल्म मात्रै होइन एक अर्को फिल्मका लागि पनि अर्जुनलाई नै छानेका छन् । अजय देवगन अर्जुनका लागि आफै एक फिल्म निर्माण गर्ने भएका छन् । अर्जुन कपूर पनि अजयको हरेक सल्लाह मानिरहेका छन् । सलमान खानपछि अर्जुन कपूरको करियर सम्हाल्ने काम अभिनेता अजय देवगनले गरिरहेका छन् ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया