भत्किएको सडक छोडेर पर्खाल लगाउँदै सडक डिभिजन कार्यालय

 जेठ २१, २०७५ सोमबार ९:३४:५३ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – हर्कपुर सडक डिभिजन कार्यालयले सिद्धिचरण राजमार्गको ओखलढुंगा सडक खण्डमा कालोपत्रे उप्किएका र पहिरोले बगाएको खण्ड छाडेर पर्खाल बनाउने काम गरिरहेको छ । ठेकेदार कम्पनीले कालोपत्रे सकेर हस्तान्तरण नगर्दै भत्किएको ओखलढुंगा खण्डको मर्मत छोडेर कार्यालयले मानेभञ्ज्यांग गाउँपालिका अन्तर्गतको खण्डमा भित्तामा पर्खाल लगाउने काम गरिरहेकाे छ ।

सिद्धिचरण नगरपालिकाको वडा नं. ११ का विभिन्न स्थानमा पहिरो गएर कालोपत्रेको अवशेष पनि भेटिन छाडेको छ । पहिरोले ड्रेन भत्किएपछि सडकबाटै पानीको भल बग्ने गरेको छ । पहिरोले बगाएको, कालोपत्रे भएको हो भन्न समेत नसकिने अवस्थामा पुगेको सडक खण्ड छोडेर कार्यालयले अन्यत्रै काम थालेपछि स्थानीय आक्रोशित भएका छ । उद्योग बाणिज्य संघ ओखलढुंगाले त प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउँदै कार्यालय प्रमुखमाथि कारवाही गर्न माग गरेको छ ।

संघका अध्यक्ष ज्ञानेन्द मास्केले  भत्किएका ठाउँ छाडेर सामान्य अवस्थाको सडक खण्डमा मर्मको काम गरिरहेकाले कारवाही गर्न माग गरेको बताउनुभयो । ‘प्रथामिकता दिनु पर्ने ठाउँ छाडेर कार्यालयले कमिसनको लोभमा समान्य अवस्थाका सडक मर्मतको नाटक गरिरहेको छ’ मास्केले भन्नुभयो– ‘यस अघि पनि कार्यालय प्रमुखको ध्यानाकर्षण गराइएको भए पनि सुनेका छैनन् ।’

अत्याधिक भार भएका ढुवानीका साधान आवत जावत गर्ने र गुणस्तरहीन निर्माण सामग्री प्रयोग गर्दा पिच भएको दुई वर्ष नबित्दै उक्त सडक खण्ड भत्किएको थियो । कार्यालयले भत्किएकै अवस्थाको सडक बुझेपछि स्थानीयले विरोध गरेका थिए । अहिले सोही सडक खण्डको ओखलढुंगा सदरमुकाम आसपासमा कतै पिच गरिएको अधिकांश भाग भत्किएको छ भने कतै पहिरोले बगाएर सवारी आवत–जावत गर्न समस्या छ । तर, कार्यालयले भने अन्यत्रै मर्मतको काम गरिरहेको छ ।

उद्योग बाणिज्य संघको ध्यानाकर्षणपछि प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले अनुगमन गरेर कार्यालय प्रमुखलाई सचेत गराइने प्रतिबद्धता जनाउनुभयो । उहाँले कार्यालय प्रमुखले अघिल्लो वर्षको काम भएकाले भत्किएको भन्दा फरक ठाउँमा काम भएको आफूलाई जानकारी गराएको पनि जानकारी दिनुभयो ।  
उता सडक डिभिजन कार्यालयले भने चालु वर्षको काम भत्किएका क्षेत्रमा हुने भए पनि पानीको निकास पठाउन स्थानीयले जग्गा नदिएकाले समस्या रहेको दावी गरेको छ ।

स्थानीयको ध्यानाकर्षपछि मौखिक रुपमा डिभिजन कार्यालयका प्रमुख ईश्वर रिजाललाई स्पष्टीकरण सोध्नुभएका प्रजिअ पन्तले पानी कटाउने विभिन्न स्थानमा जग्गामा समस्या देखिएकाले काम थाल्न ढिला भएको बताएको जानकारी दिनुभयो । पटक पटक सम्पर्क गर्न खोजेपनि रिजालको फोनमा सम्पर्क हुन सकेन । कार्यालयको लापरवाहीले भत्किएका ठाउँमा सडक मर्मत नहुँदा कालोपत्रे भएको सडक पनि कच्ची सडकमा रुपान्तरण हुँदै गएको छ ।

 

अन्तिम अपडेट: चैत १६, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया