मध्यमोदी जलविद्युत आयोजनाको काम पाँचदिनदेखि ठप्प

 भदौ २८, २०७५ बिहिबार २०:०:१२ | सन्तोष थापा
unn.prixa.net

पर्वत – आयोजना निर्माणका क्रममा सुरुङभित्र बम विस्फोट गर्दा घर चर्किएको भन्दै पुनर्वासको माग गरेर प्रभावित क्षेत्रका बासिन्दाहरु आन्दोलित बनेपछि पर्वत र कास्कीको सिमानामा निर्माणाधीन मध्यमोदी जलविद्युत आयोजनाको काम पाँच दिनदेखि ठप्प बनेको छ । 

चौधरी ग्रुपले निर्माण गरिरहेको मध्यमोदी जलविद्युत् आयोजनामा विभिन्न मागसहित प्रभावित क्षेत्रका बासिन्दाहरु आन्दोलित बनेपछि निर्माण कार्य रोकिएको हो । स्थानीयवासीले आइतबारदेखि आयोजनाको कार्यालयमा तालाबन्दी गरेर विरोधमा उत्रिएका छन् । आयोजनाको सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा स्थानीय बस्ती जोखिममा परेको भन्दै स्थानीयवासीले पुनर्वासको माग सहित तालाबन्दी गरेका हुन् । 

बम विस्फोट गर्दा स्थानीयवासीको १६ घरमा क्षति भएको छ। मोदी गाउँपालिका वडा नं. २ देउपुर अन्तर्गतका ५७ घर धुरी र वडा नंं १ अन्तर्गत ३२ प्रभावित घर धुरी रहेका छन् । 

कास्कीको अन्नपूर्ण गाउँपालिका विरेठाँटीमा इन्टेक रहने गरी मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन जलविद्युत् आयोजनामा बम विस्फोट गर्दा घरहरू भत्किन थालेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासनमा समेत जानकारी गराएको भए पनि कुनै सुनुवाइ नभएपछि तालाबन्दी गर्नु परेको दुखेसो गरे । पटक-पटक वार्ता गरेर समन्वय गर्न खोज्दा पनि वार्ता टुङगाउन नसकिएको वडा नं. २ का वडा सदस्य जीवन चापागाईँले बताउनुभयाे । शुक्रबार पनि पुनः वार्ताका लागि बाेलाइएकाे उहाँले जानकारी दिएनुभयाे। 

आगामी मङ्सिरमा सम्पन्न हुने गरी निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम लक्ष्यअनुसार हुन सकेको छैन । २०७१ मङ्सिर ७ मा उद्योगपति विनोद चौधरीले दुई अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजनाले आगामी मङ्सिरभित्र उत्पादन दिने दावी गरेका थिए ।

तर, निर्माणको काममा भएको ढिलाइले सम्पन्न हुन समय लाग्नुका साथै लागत पनि बढ्ने अवस्था छ ।  प्रतिशत जति प्रगति देखिए पनि समग्रमा सन्तुष्ट हुन सकिने प्रगति छैन ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया