मोरङ फुटबल एकेडेमी डाँगीहाट अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा

 भदौ २८, २०७५ बिहिबार २०:१३:७ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - मोरङ फुटबल एकेडेमी मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा जारी दोस्रो डाँगीहाट अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

लक्ष्मीमार्गमा रहेकाे मैदानमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौंलाई २–१ गोल अन्तरले हराउँदै मोरङ उपाधि होडमा पुगेको हो । उसले आगामी शनिबार रेड हर्स क्लब इलाम र विर्तामोड युनाइटेडबीचको विजेताको समाना गर्नु पर्नेछ ।

मोरङको जितका लागि दुवै गोल पहिलो हाफमै सम्भव भएको हो । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे पनि चर्च ब्वाइजले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा नतिजा मोरङको पक्षमा पुग्यो । दोस्रो हाफपछि खेललाई सुधार गरे पनि मोरङले गोल संख्या तीन पुर्‍याउन सकेन ।

मोरङको जितका लागि संजोग राई र विदेशी खेलाडी प्रेकले एक-एक गोल गरे । चर्च ब्वाइजका तर्फबाट निरज बस्नेतले एक गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन ।

३७ औं मिनेटमा संजोग राईले गोल गर्दा मोरङ अगाडि बढ्यो । 

पहिलो हाफको अन्त्यमा अर्को गोल थप्दा मोरङलाई जितका लागि पर्याप्त बन्यो । एक्लै बल लिएर अघि बढेका विदेशी खेलाडी प्रेकले वान भर्सेस वानको स्थितिमा नजिकैबाट गाेल गरेपछि खेल २–०को स्थितिमा पुग्यो ।  

७८ औं मिनेटमा निरज बस्नेतले गोल फर्काए पनि चर्च ब्वाइजले अर्को गोल गर्न  सकेन ।

चर्च ब्वाइजका तर्फबाट पहिलो हाफमा कुनै पनि गोल हुन सकेन । ६९ औं मिनेटमा निरज बस्नेतकाे प्रहार क्रसबारमाथिबाट बाहिरिनु चर्च ब्वाइजका लागि दुर्भाग्यपूर्ण बन्यो । 

खेलको म्यान अफ दी म्याच मोरङका विवेक पौडेललाई उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले पुरस्कार प्रदान गरे । शुक्रबारको दोस्रो सेमिफाइनल खेलमा रेड हर्स क्लब इलाम र विर्तामोड युनाइटेडबीच प्रतिष्पर्धा हुने छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया