संखुवासभा र भोजपुर जोड्ने लम्सुवा पुलको बेहाल

आठ वर्षमा ३० प्रतिशत काम

 भदौ २९, २०७५ शुक्रबार १०:२:१३ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – पूर्वी पहाडी जिल्लाहरु संखुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पर्ने लम्सुवाघाटको मोटरेबल पुल आठ वर्षमा ३० प्रतिशत मात्रै काम भएको छ ।

२०६७ मा तत्कालीन उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले शिलान्यास गर्नुभएको यो मोटरेबल पुल आठ वर्ष वित्दासमेत काम सम्पन्न हुन सकेको छैन । आठ वर्षको अवधीमा ७ ओटा पिलर मात्र ठड्याइएको छ । तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी स्वच्छन्द निर्माण कम्पनीले २०६७ साल असार २५ गते सम्झौता गरे पनि पिलर राख्ने र खाल्डो खन्ने क्रममा चट्टान भेटिएको भन्दै ठेकेदारले काम छोडेको थियो । लामो समय निर्माण कार्य रोकिएपछि केही डिजाइन परिर्वतन गरेर समय पनि थपिएको थियो । 

०७० असार २५ सम्ममा काम सक्नुपर्ने भए पनि विभिन्न कारण देखाउँदै काम नगरेपछि २०७४ असार २४ सम्म समय थप गरिएको थियो । यसरी थपिएको समय भित्रपनि निर्माण कम्पनीले आयोजना सम्पन्न गर्न सकेको छैन । अझै निर्माण कम्पनी काम सम्पन्न गर्ने छाँटकाँट देखिएको छैन । निर्माण कम्पनी अझै समय थपको अपेक्षामा रहेको प्रष्ट देखिन्छ । पछिल्लो डिजाइन अनुसार ४ ओटा पिलर १६ मिटर गहिराइसम्म गाडिनु पर्नेमा आधा खन्दा नै ठूला चट्टान भेटिएको भन्दै पुनः काम रोकिएको हो । सोही चट्टानको कारण थप गरिएको समयमा पनि काम नभएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ ।

विभिन्न वाहाना बनाउदै ठेकेदार कम्पनीले पुल नबनाउने चलखेलमा लागेको तुम्लिङ्गटारका स्थानीय इन्द्र कार्कीले बताउनुभयो । पुल बनाउने भनेर ठेक्का लिएपछि विभिन्न वाहाना बनाएर झारो टार्ने काम गर्न हुँदैन । आलटाल गर्ने, चट्टान भेटियो, कहिले के भेटियो भनेर समय थप्दै बजेट थप्ने मात्रै गर्दा समस्या भएको उहाँले बताउनुभयो ।

पुल बनाउने ठाउँमा भित्र ठूला–ठूला चट्टान भेटिए भन्दै काम अवरुद्ध भैरहँदा ठाउँ नै सार्नुपर्ने स्थानीयहरुले जोड दिएका छन् । लम्सुवा घाटलाई छोडेर मनकामना मन्दिर नजिकैबाट नयाँ सर्भे गर्नु पर्नेमा स्थानीयहरुको भनाइ छ । यात्रुहरुले मनकामना मन्दिरको दर्शन गर्दै यात्रा समेत गर्न सक्ने भएकाले ठाउँ सार्नु नै राम्रो हुने देखिन्छ ।

चट्टान फुटाउन नसकेर योजनाको काम अगाडी नबढेको भनेको सुन्नु पर्दा लाजमर्दो कुरा भएको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनुभयो । डिजाइनमा बजेट बढ्न सक्ला तर योजनाको चार भाग मध्ये एक भाग काम अगाडि बढिसकेकाले मेसिन लगाएर, चट्टान फुटाएर योजना चाँडो सम्पन्न गर्नुपर्नेमा समन्वय समितिका प्रमुख शाक्यले जोड दिनुभयो ।

१३ करोड ५ लाख रुपैयाँको लागतमा सम्पन्न गर्ने गरी पहिलो पटक सम्झौता गरिए पनि समय थप्ने क्रममा पिलरको डिजाइन परिर्वतन गरेसँगै यो पुलको लागत १६ करोड ६३ लाख पुर्‍याइएको छ । १ सय ५७ मिटर लम्बाई रहेको सो पुलको निर्माण कार्य नहुँदा उक्त पुलसँगै जोडिने ९० मिटरको अर्को खण्डको पुलको ठेक्का लगाउन सकिएको छैन ।

करोडौंको लागतमा निर्माण हुने भनिएको पुल अहिलेसम्म नबन्दा स्थानीय नागरिक सास्ती भोग्न बाध्य छन । संखुवासभा र भोजपुर आवतजावत गर्ने नागरिकहरू हिउँदको समयमा जोखिमपूर्ण डुङ्गाको सहारा लिनुपर्छ भने वर्षातको समयमा करिब अढाई घण्टाको बाटो घुमेर सतिघाटको झोलुङ्गे पुलबाट वारपार गर्नु परेको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया