काठमाडौंमा मोनोरेल : पूर्वाधार विज्ञ भन्छन् – यो व्यापारिक स्वार्थ हो

 भदौ २९, २०७५ शुक्रबार ११:४२:२ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडौं – काठमाडौंमा फेरि मोनोरेलको चर्चा बढेको छ । चिनियाँ कम्पनी सीआरसीसीले काठमाडौंमा मोनोरेल सञ्चालनको लागि सम्भाव्यता गरेर प्रतिवेदन बुझाएपछि यसबारेको चर्चा बढेको हो । 

बिहीबार काठमाडौं र ललितपुर महानगरपालिकालाई आफूले तयार गरेको प्रतिवेदन हस्तान्तरण गर्दै चिनियाँ टोलीले भौगोलिक र प्राविधिक हिसाबले पनि चक्रपथमा मोनोरेल निर्माण सम्भव रहेको जनाएको छ । 

दुवै महानगरपालिकाले सहमति दिएमा आफूहरु डीपीआरका लागि पनि तयार भएको कम्पनीको भनाई छ । काठमाडौं र ललितपुर महानगरपालिकाका प्रमुखहरुले पनि छिटै डीपीआर तयार गरेर रेलमार्ग निर्माणको काम सुरु हुने विश्वास दिलाएका छन् । तर पूर्वाधार विज्ञ भने आशावादी छैनन् ।

पूर्वाधार विज्ञ सूर्यराज आचार्य भन्नुहुन्छ, ‘भौगोलिक हिसाबले पनि काठमाडौंमा मोनोरेल सम्भव देखिंदैन ।’ सन् १९६० को दशकमा जापानमा मोनोरेल सञ्चालनमा आएको थियो । पछि मलेसियाको क्वालालम्पुर, इन्डोनेसियाको जाकर्ता, फिलिपिन्सको मनिलामा पनि यसको निर्माणको बहस चल्यो । जाकर्तामा यो बन्दाबन्दै रोकियो । ‘विश्वका जतिपनि देशहरुले यो बनाए सबै पछुताएका छन्’ आचार्यले भन्नुभयो ।

पूर्वाधार विज्ञ आचार्य बताउनुुहुन्छ, ‘यसरी यो प्रविधि सही हो या होइन भनेर कुनै अध्ययन नै नगरी व्यापारिक स्वार्थकोे साँघुरो घेरामा रहेर निर्माण प्रक्रिया अघि सार्नु राम्रो होइन ।’ 

उहाँले सहरी यातायात व्यवस्थापनका लागि मोनोरेल असफल प्रविधि भएको बताउनुभयो । काठमाडौंमा यातायात व्यवस्था कस्तो बनाउने, यहाँको ‘मास ट्रान्जिट’लाई कसरी व्यवस्थित गर्ने भनेर बहस भइरहन्छन् । कहिले विश्व बैंक र कहिले एसियाली विकास बैंकले काठमाडौंमा ‘मास ट्रान्जिट’को लागि अध्ययन गरेको छ । भर्खरै एसियाली विकास बैंकले काठमाडौंमा ६३ वटा नयाँ रुटको अध्ययन गरेको छ । चिनियाँ सरकारको अनुदानमा चक्रपथ विस्तारको काम भइरहेको छ । 

जहिले पनि अरुले गरेकै योजनामा अल्झिँदा काठमाडौंको अवस्था भद्रगोल भएको र यहाँको राजनीतिक, भौगोलिक, सामाजिक अवस्थालाई नहेरी विदेशी पक्षले गरेको योजनामा लाग्नु उचित नभएको आचार्य बताउनुहुन्छ ।

मोनोरेल निर्माणको लागि एक खर्ब १६ अर्ब लागत लाग्न सक्ने अनुमान चिनियाँ कम्पनीले गरेको छ । तर मोनोरेल सञ्चालन खर्च र यसको क्षमताका हिसाबले पनि यो प्रविधि उपयुक्त नभएको आचार्यले बताउनुभयो । निर्माणपछि यसको सामान्य मर्मत सम्भारको लागि पनि विदेशी कम्पनी नै गुहार्नुपर्ने हुन्छ । ‘सस्तो प्रविधि मानिएको ट्रलिबसलाई त निरन्तरता दिन सकिएन भने मोनोरेल अझै जटिल प्रविधि भएकाले यसको प्रयोग गर्नु उचित देखिंदैन’ उहाँले भन्नुभयो ।

उहाँले थप्नुभयो, ‘काठमाडौं जस्तो कम क्षेत्रफल भएको सहरमा मोनोरेल मास ट्रान्जिटको राम्रो विकल्प हुँदै होइन । अहिले चक्रपथ निर्माणको कार्य भइरहेकाले यस रुटमा रेलको लािग हतारिनु पर्ने केही छैन ।’

काठमाडौंमा मोनोरेल भन्दा पनि मेट्रो रेलको आवश्यकता रहेको आचार्य बताउनुहुन्छ । उहाँका अनुसार भूमिगत, जमिन र आकाशे पुलमा पनि गुडाउन सकिने भएकाले मेट्रोरेल बढी उपयुक्त हुनसक्छ ।
 

अन्तिम अपडेट: चैत ३, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया