दीपालाई दीपकले भने, ‘तिमी मलाई जेल पठाउने कुरा नगर’

 भदौ २९, २०७५ शुक्रबार १२:१८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा छक्का पञ्जा–३ का दुईवटा गीत सार्वजनिक भैसकेका छन् । सिनेमाको ट्रेलर भने निर्माण पक्षले सिनेमा प्रदर्शनमा आउनु भन्दा केही दिन अगाडि मात्रै गर्ने बुझिएको छ ।

सार्वजनिक सिनेमाको पहिलो गीतले त युट्यूबमा छोटो समयमा एक करोड भन्दा धेरै पटक हेरिने गीतको रेकर्ड कायम गरेको छ । यहि खुशीमा निर्माण पक्षले केक पनि काटिसकेको छ ।

यो गीतलाई सार्वजनिक भएको ३७ दिनमै एक करोड भन्दा धेरै पटक हेरिएको हो । यस अघि यो रेकर्ड सिनेमा दुई रुपैयाँको कुटुमा कुटुले राखेको  थियो ।

यो गीतलाई ४७ दिनमा एक करोड भन्दा धेरै पटक हेरिएको थियो । सोमबार मात्रै छक्का पञ्जा ३ मा समावेश दोस्रो गीत पछि उमेर ढल्किन्छ सार्वजनिक भएको छ । सिनेमाको दोस्रो गीत सार्वजनिक भएसँगै सिनेमाको प्रचारमा तिव्रता देखिएको छ ।

दीपक र दीपालाई हामीले पहिलो नम्बर लाई एक करोड पटक हेरिएको खुशीमा गरिएको सेलिब्रेशनमा फेला पारयौँ र केही कुराकानी पनि गर्यौँ ।

कुराकानीको क्रममा दीपक र दीपाले आफूहरुको सम्बन्धको बारेमा कुरा गरे ।
उनीहरुले एकले अर्कालाई  दिएको साथको खुलेर प्रशंसा पनि गरे  ।

उनीहरुको सम्बन्धको चर्चा नेपाली सिने बजारमा हुने गर्दछ । रेडियो नेपालको राम विलास र धनियाँबाट सुरु भएको उनीहरुको जोडी तितो सत्यमा पनि एक साथ देखियो । 

टेलिसिरियलमा एक साथ देखिएपछि उनीहरुलाई धेरैे वास्तविक जीवनकै श्रीमान् श्रीमती भन्ने ठाने । हुन त दीपा र दीपकले आफूहरु प्रेममा रहेको कुरा कहिल्यै लुकाएका छैनन् । दीपाले त आफू दीपकसँग विवाह गर्न तयार भएको बताउँदै आएकी छिन् ।

दीपाका केही शुभ चिन्तकहरुले पनि उनलाई  दीपकसँग विवाह गर्न  सुझाव दिन्छन् । दीपाले हामीसँगको कुराकानीमा पनि दीपककै अगाडि आफू विवाहको लागि तयार भएको बताउँदै दीपकलाई तिमी तयार छौ ? भनेर प्रश्न गरिन् । यसको जवाफमा दीपकले  भने, देशमा भर्खरै मुलुकी ऐन बनेको छ मलाई जेल पठाउने कुरा नगर्नु न ।

दीपकले यसो भन्दा दीपा भने मुस्काइन् । 

 

–उज्यालो र गफगाफ डटकमको सहकार्य 
  

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया