माथिल्लो तामाकोशीको शेयरबारे अझै तथ्यांक सार्वजनिक भएन

 भदौ २९, २०७५ शुक्रबार १२:५६:१० | उषा तामाङ
unn.prixa.net

दोलखा – दोलखालीबाट संकलन भएको अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरको यकिन तथ्यांक अझै सार्वजनिक भएको छैन । 

जिल्लावासीबाट आयोजनाको १० प्रतिशत शेयर खरिदका लागि कतिले शेयर आवेदन दिए भन्नेबारे जानकारी अझै सार्वजनिक नभएको हो । भदौ २१ गतेसम्म माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर आवेदन फारम संकलन भएको थियो । 

संकलन मिति सकिएको एक हप्ता बित्दासमेत शेयर संकलन गर्ने बैंकहरुले तथ्यांकसहित फारम उपलब्ध नगराउँदा हाल सम्म तथ्यांक प्राप्त नभएको हो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बैंकहरुमा जनशक्तिको अभाव भएका कारण एक साता बित्दा समेत तथ्यांक प्राप्त नभएको बताउनुभयो । उक्त विषयमा आयोजनाका प्रतिनिधिसहित बैंकका प्रतिनिधिसँग छलफल गरी केही दिनभित्रै तथ्यांक सार्वजनिक हुने उहाँको भनाई छ । 

आयोजनाले एक साताको अवधिसम्म सम्पूर्ण तथ्यांक उपलब्ध हुने अनुमान गरेको थियो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर खरिदका लागि २ लाख १० हजार दोलखावासीले करिब ३ अर्व रुपैयाँ बराबरको आवेदन दिएको अनुमान गरिएको छ । स्थानीयवासीका लागि कम्पनीले १ अर्व ५  करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयवासीलाई १० प्रतिशत निष्काशन गरेको हो । स्थानीयवासीलाई न्यूनतम ३० देखि अधिकतम ३ सय कित्तासम्म शेयर आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

अन्तिम अपडेट: फागुन २८, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया