३ नम्बर प्रदेशको मन्त्री परिषद बैठकले गर्‍याे ६ वटा छुट्टाछुट्टै निर्णय

 भदौ २९, २०७५ शुक्रबार १३:४३:१६ | हरि हुमागाईं

मकवानपुर – ३ नम्बर प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले छ वटा निर्णयहरु गरेको छ ।

बैठकबाट सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश प्राविधिक शिक्षा परिषद स्थापना र सञ्चालन गर्न बनेको विधेयक २०७५, प्रदेश खेलकुद विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र भौतिक पूर्वाधार विकास मन्त्रालयले पेश गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक २०७५ स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो । 

यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयले पेश गरेको प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक (अवधारणा) स्वीकृत सम्बन्धमा, आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको प्रदेश सार्वजनिक खरिद सम्बन्धमा अन्तरिम कानुनी व्यवस्था गर्न बनेको कार्यविधि २०७५ को मस्यौदा स्वीकृति सम्बन्धमा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सैद्धान्तिक स्वीकृति दिने सम्बन्धमा निर्णय गरिएको प्रवक्ता ढुंगेलले जानकारी दिनुभयो ।

बैठकमा मुख्यमन्त्री  पौडेल, आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित, सामाजिक विकास मन्त्री युवराज दुलाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, उद्योग, पर्यटन, वन तथा वताबरण मन्त्री अरुण नेपाल, ३ नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाललगायत सहभागी हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: चैत २४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया