‘मन्त्रीलाई कालो झण्डा नदेखाएर लट्ठी, भाला, बन्दुक देखाउने हो ?’

 भदौ २९, २०७५ शुक्रबार १४:८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रिय जनता पार्टीले संसदीय छानबिन समिति बनाएर प्रहरी हिरासतमा  मृत्यु भएका बर्दियाका राममनोहर यादवको घटनाको छानविन गर्न माग गरेको छ । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा राजपाका सांसद लक्षमणलाल कर्णले संसदीय छानबिन समिति बनाई यादवको मृत्युको घटनाबारे छानबिन अघि बढाउन माग गर्नुभयो ।

उहाँले घटनाबारे सत्यतथ्य बाहिर ल्याउन समिति बनोस् जाँचबुझ होस् भनेर पटक–पटक सरकारको ध्यानाकर्षण गराउदा सुनुवाइ नभएको भन्दै उहाँले त्यसबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘मुलुकमा दिनहुँ बलात्कार र हत्या भइरहेको छ संसदका माननीयहरुले हरेक दिन प्रश्न उठाइरहनुभएको छ तर सरकार गम्भीर छैन ।

प्रहरी हिरासतमा नै राम मनोहर यादवको हत्या भएको छ । प्रहरी हिरासतमै व्यक्ति हत्या हुन्छ भने अब कसले जिम्मेवारी लिने ?’ बर्दियाका राममनोहर यादवलाई मन्त्रीलाई कालो झण्डा देखाएको नाममा नियन्त्रणमा लिने काम भएको भन्दै उहाँले भन्नुभयो, ‘अब के गर्ने लठ्ठी देखाउने ? भाला देखाउने ? बन्दुक देखाउने ? आफ्नो विरोध प्रर्दशनका लागि उसले कालो झण्डा देखायो ।

प्रहरी हिरासतमै ७ गते देखि १६ गते सम्म बस्दा व्यक्तिको मृत्यु भयो भने के कारणले मृत्यु भयो ? किन प्रहरीले मारे ? किन गृह प्रशासनको जिम्मेवारी हो कि होइन ? किन अवगत गराएन आज सम्म ?’

घटनाबारे सरकारको चित्त बुझ्दो जवाफ नआएसम्म सदन चल्न नसक्ने भन्दै उहाँले भन्नुभयो, ‘लापरर्वाही र मानवअधिकार हनन यो देशमा हुन्छ भने यो संसदको कुनै औचित्य हुदैन । त्यसकारण हामी आज यस संसद चल्न दिन्नौँ ।’

कर्णले बोलिसकेपछि पनि राजपाका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुखले त्यसबारे गृहमन्त्रीले जानकारी दिने कार्यक्रम रहेको बताएपछि उनीहरुले आसन ग्रहण गरेका थिए ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया