वर्षभरी खान पुग्ने अन्न नफल्ने खेतबाट विदेशमा जत्तिकै कमाई गर्दै

 भदौ २९, २०७५ शुक्रबार १४:१२:२९

प्रमिला दाहाल/मिनप्रसाद आचार्य । 

खोटाङ – टनेलमा लटरम्म फलेका गोलभेंडा, बारीमा बन्दा अनि अकबरे खुर्सानी । बारीमा भएका सागपात हेरेर फुरुङ्ग हुनुहुन्छ वीरबहादुर पुरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी २ तालखर्कका वीरबहादुर खेतबारीमा रमाउन थालेको दुई महिना मात्रै भयो । त्यो भन्दा अघि वीरबहादुर खेती गर्नुहुन्थ्यो ।

तर अहिलेको जसरी होइन । खेती गरेर एक वर्षलाई खान पुग्दैनथ्यो । दुई छोरामध्ये वीरबहादुरका कान्छा छोरा कमाउन कतार गएको २ वर्ष भइसक्यो । वीरबहादुरलाई छोराको विदेशको कमाई बचाउनुपर्छ भन्ने लाग्थ्यो । तर कसरी थाहा थिएन । 

पहिल्यैदेखिको त्यही खेतमा उहाँले २ महिना अघिदेखि व्यवसायिक रुपमा खेती थाल्नुभयो । अघिल्लो वर्षमा खान पुग्ने अन्न नफल्ने त्यही खेतमा १५ हजार रुपैयाँ लागनी गरेर खेती थालेका वीरबहादुरले बन्दा बेच्न थाल्नुभएको छ । गोलभेंडा बेच्न ठिक्क भएको छ । दसैँमा गोलभेंडा बेच्दा ५० हजार रुपैयाँ हात पर्ने हिसाबकिताब पनि गरिसक्नुभएको छ ।

विदेशको पैसा कसरी जोगाउने भनेर सोच्नै परेन । आफ्नो कमाइले घर चलेर बचत पनि भयो । छोराले पठाएको पैसा पनि चोखै जोगियो । वीरबहादुरले तीन वटा टनेल बनाएर गोलभेंडा र त्यो भन्दा बाहिर तरकारी रोप्नुभएको छ ।

आम्दानी हुने भएपछि अहिले वीरबहादुर मात्रै एक्लै हुनुहुन्न खेतमा ओर्लिने । श्रीमती, जेठा छोरा अनि छोरीपनि सँगै खट्नुहुुन्छ । खेती थाल्नुअघि जेठा छोराले पनि विदेश जाने योजना बनाएका थिए ।

तर खेतबारीकै आम्दानी गज्जबको हुन थालेपछि वीरबहादुरले जेठा छोरालाई विदेश जान दिनुभएन । ‘यसरी पनि कमाउन सकिन्छ भन्ने हामीले सोचकै थिएनौं’ वीरबहादुरले भन्नुभयो । परिवारसँगै बसेर काम गर्दाका फाइदा पनि सुनाउनुभयो वीरबहादुरले ।

सबैको सहयोग पाइने अनि सबैको सल्लाहमा काम गर्न पाउँदा वीरबहादुर खुशी हुनुहुन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै १ दिक्तेलबारीका देवीकुमारी आचार्यको पनि आम्दानीको बाटो फेरिएको छ । उहाँका छोरा मलेसिया गएका छन रोजगारीका लागि । 

छोरा विदेशमा भएपनि खान लाउन ४३ वर्षकी देवीकुमारी खेती गर्नुहुन्थ्यो । अहिले पनि उहाँ त्यही खेती गर्नुहुन्छ तर फरक तरिकाले । गोलभेंडा लगाउन टनेल बनाउनुभएको छ । 

तरकारी पनि ड्याङ बनाएर रोप्नुहुन्छ । टनेलमा गोलभेंडा अनि बाहिर सिमी, बन्दा अनि काउली । यो कमाइ थप्ने तरिका हो देवीकुमारीको । यस्तो तरिका उहाँले वित्तीय साक्षरता कक्षाबाट सिक्नुभयो । 

कक्षामा बस्नु अघि साग र करेला मात्र रोप्ने  देविकुमारीले झण्डै ३ रोपनी जग्गा गोलभेंडा, बन्दा, काउली,  लसुनले भर्नु भएको छ । ६ हजारको लगानीमा सुरु गरेको खेती देवीकुमारीको आम्दानीको स्रोत बनेको छ । तरकारीबाट महिनाको ४ हजार कमाइरहेकी देवीकुमारी गोलभेंडा बेच्न थालेपछि कमाइ बढेर १६÷१७ हजार पुग्ने सुनाउनुहुन्छ । 

तरकारी खेती गर्ने काइदा सिकेकाहरुलाई बालसेवा समाज नेपाल नेर्पा खोटाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले टनेल बनाउन प्लाष्टिक पनि सहयोग गर्‍यो । 

पहिले आफूलाई खान पुग्ने तरकारी फलाउने देवीकुमारीले अहिले त्यसलाई आम्दानीको स्रोत बनाउनुभएको छ । उहाँले त्यही तरकारीबाट महिनाको चार हजार आम्दानी गर्नुहुन्छ । 

देवीकुमारीलाई कमाउने तरिकासँगै बचाउने काइदा पनि सिकायो वित्तीय साक्षरता कक्षाले । अहिले उहाँले सहकारीमा बचतसँगै जीवन बीमा पनि गर्नुभएको छ । 
कामको खोजीमा विदेशिनेहरुको धेरैको कमाई २०/२२ हजारबाटै सुरु हुन्छ अनि बचत १४/१५ जति । त्यति पैसा खोटाङबाट विदेश गएकाहरुका परिवारका सदस्यले खेती गरेर कमाइरहेका छन् । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया