हराएका १४ वटा मोटरसाइकल भेटियो

 भदौ २९, २०७५ शुक्रबार १४:३६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार १४ वटा चोरीका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार बिहान चोरीका १४ वटा मोटरसाइकल खोजी गरी रामशाहपथस्थित कार्यालयबाट सम्बन्धित सवारी धनीलाई बुझाएको हो । काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट हराएका १४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बोलाएर बुझाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिनु भयो । उहाँले मोटरसाइकल हराउन नदिन सचेत रहन पनि पनि सम्बन्धित सवारी धनीहरुलाई अपील गर्नुभयो ।

हराएका मोटरसाइकल पाएकोमा खुसी व्यक्त गर्दै सवारी धनीहरुले पनि ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन । कीर्तिपुरबाट ३ महिना अघि मोटरसाइकल हराएका जुम्लाका अनिल उपाध्यायले आफ्नो मोटरसाइकल भेट्टाइदिएकोमा ट्राफिक प्रहरीलाई धन्यवाद दिनुभयो । उहाँको मोटरसाइकल ३ महिना अघि कीर्तिपुरबाट हराएको थियो ।

ललितपुर ग्वार्कोका दिपक खड्काले पनि चोरी भएको २ महिना पछि मोटरसाईकल आफूले पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले खोजी गरेर मोटरसाईकल बुझाएकोमा ट्राफिक प्रहरीको प्रशंसा गर्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकामा मात्रै साउन र भदौं महिनामा २ सय ५६ वटा सवारी साधान हराएको पाइएको छ । त्यसमध्ये ६० वटा सवारी साधन भेटिएकोमा ३६ वटा सम्बन्धित धनीलाई बुझाइएको महाशाखाका प्रमुख पन्तले जानकारी दिनुभयो ।

यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा सवारी साधन चोरीको घटना बढ्दै गएको उल्लेख गर्दै सचेत रहन सबै सवारी धनीलाई आग्रह गरेको छ । सवारी साधनको चोरीको घटना हुन नदिन सवारी धनीहरुलाई महाशाखाका प्रमुख पन्तले आग्रह गर्नु भएको हो । उहाँले चोरसँग ट्राफ्रिक प्रहरीले मिलेमतो गरेको पाइए कडा कारबाही गर्ने चेतावनी पनि दिनुभयो ।

महाशाखाले चोरीको सवारी साधन खोजविनका लागि प्रहरी निरीक्षकको नेतृत्वमा १७ जना जनशक्ति नै परिचालन गरेको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया