बजेट नभएपछि अलैँची सुपर जोन कार्यक्रम प्रभावित

 भदौ २९, २०७५ शुक्रबार १४:४८:३७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पाँचथर जिल्लामा अलैंची विस्तारका लागि लागू भएको अलैंची जोन कार्यक्रममा बजेट अभाव भएको छ । 

अलैँची उत्पादनको लागि पकेट क्षेत्र मानिएको जिल्लाको फालेलुङ गाउँपालिकाको वडा नम्बर  १, २, ६ र ७ वडामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई अलैँची जोन कार्यक्रममा बजेट अभाव भएको हो ।

बजेट अभाव भएपछि अलैँची जोनबाट सुपर जोन विस्तार गर्न समस्या भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई अन्तर्गत अलैँची जोन कार्यक्रमका सूचना अधिकारी प्रकाश विश्वकर्माले बताउनुभयो ।

अघिल्लो वर्षबाट सुरु भएको अलैँची जोनलाई सुपर जोनमा जानसक्ने सम्भाव्यता तयार भए पनि सरकारले आवश्यकबवजेट व्यवस्थापन  गर्न नसक्दा थप कार्य अघि बढ्न समस्या भइरहेको विश्वकर्माको भनाई रहेको छ । 

यस क्षेत्रमा अलैँची उत्पादन हुने ५ सय हेक्टरका  कृषकलाई सहयोग गर्दै आएको जोनले अहिले अलैँची उत्पादन हुने १५ सय हेक्टर क्षेत्रका कृषकलाई सहयोग गरिरहेको छ । एक हजार हेक्टर भन्दा बढी खेती भए त्यस्तो क्षेत्रलाई सुपर जोनको रुपमा विस्तार गर्न सकिने सरकारी प्रावधान रहेको छ ।

जिल्लाको फालेलुङ गाउँपालिकाको चार वटा वडाको क्षेत्रमा विस्तार भएको अलैँची जोन परियोजनालाई जिल्लाका अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्ने अलैँची कृषकहरुको माग रहेको छ ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया