सबै कम्युनिष्ट पार्टीलाई संसदीय व्यवस्थामा आउन कांग्रेस प्रवक्ता शर्माको आग्रह

 जेठ २१, २०७५ सोमबार १३:२०:२४ | राजु लामिछाने

रुकुम (पश्चिम) – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालका सबै कम्युनिष्ट पार्टीलाई संसदीय व्यवस्थामा आउन आह्वान गर्नुभएको छ । 

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा सोमबार बिहान भएको पत्रकार भेटघाटमा उहाँले विप्लवको भावना पनि देशलाई बनाऔै भन्ने नै रहेको आफूले पाएको भन्दै संसदीय प्रक्रियाको बाटोमा आउन आग्रह गर्नुभयो । 

सरकारले नारा वायुपंखी घोडाको दिने तर कामको पारा भने बयलगाडाको रहेको टिप्पणी गर्दै प्रवक्ता शर्माले सरकारलाई कांग्रेसले रचनात्मक र सृजनात्मक प्रतिपक्षको भूमिकामा सहयोग गरिरहेको बताउनुभयो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसको भूमिकालाई कमजोर देख्ने, मुलुकमा कम्युनिष्ट बाहेक अरु नदेख्ने, बहुमतको दम्भले जे गरे पनि जे बोले पनि हुने मनस्थिति पालिरहेमा कांग्रेस कडा रुपमा प्रस्तुत हुने समेत उहाँले बताउनुभयो । 

उहाँले अहिलेको सरकार संघीयताप्रति गम्भीर नभएको आरोप पनि लगाउनुभयो । ‘संघीयता शक्तिको अधिकतम विन्यास हो’, उहाँले भन्नुभयो, ‘तर प्रधानमन्त्रीकै पार्टीका मन्त्रीहरु अहिलेको बजेट र सरकारका निर्णयमा केन्द्रीयता लादिएको अभिव्यक्ति दिइरहेका छन् । ’ 

प्रतिपक्षीलाई होच्याउने, विदेशी सेना बोलाएर नेपालमा परेड गराउने, निराशाजनक श्वेतपत्र ल्याउने, उमंगहीन बजेट ल्याउने जस्ता काम सरकारले गरेको भन्दै उहाँले बालकृष्ण ढुंगेललाई  थुनामुक्त गथरेर गणतन्त्रको उपहार दिनु कानूनी राज्यको उपहास भएको टिप्पणी समेत गर्नुभयो । कांग्रेसले चुनाव हारे पनि उसले रोजेको र विश्वास गरेको परिपाटीको जित भएको प्रवक्ता शर्माको भनाई छ । 

प्रवक्ता शर्माले कांग्रेसको संरचनाहरुको पूर्णता नहुनु, नाकाबन्दीताका खुलेर बोल्न नसक्नु पनि कांग्रेस हारको कारण रहेका स्विकार्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया