‘पार्टीसँग बार्गेनिङ गर्न मेयर सरावगीले चलाए राजीनामाको हल्ला’

 भदौ २९, २०७५ शुक्रबार १५:४७:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाेस्राे नगरसभामा बाेल्दै मेयर सरावगी

काठमाडौ‌ं – वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले संघीय समाजवादी फोरम नेपालको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको हल्ला बिहानैदेखि चल्यो । धेरैजसो सञ्चारमाध्यमले पार्टीको अनावश्यक दबाब खेप्न नसकेर राजीनामा दिएको भन्ने समाचार प्रकाशन गरे । 

तर सरावगीले अहिलेसम्म राजीनामा नदिएको प्रतिनिधिसभा सदस्य समेत रहेएका संघीय समाजवादी फोरम पर्साका अध्यक्ष  प्रदीप यादवले बताउनुभयो । 

‘पार्टीसँग उहाँको असन्तुष्टि होला तर राजीनामाको बारेमा भने हामीलाई अहिलेसम्म कुनै जानकारी आएको छैन’, यादवले भन्नुभयो । ‘मेयरमा निर्वाचित भएको एक वर्ष पुग्नै लागेको र पार्टीले एक वर्षमा के–के गर्नुभयो भनेर सोध्न खोज्दा यस्तो हल्ला बाहिर आएको हो’ यादवले भन्नुभयो, ‘मेयरले जे पायो त्यही गल्ती त गर्नु भएन नि ।’

एक वर्ष पुग्दा पनि वीरगंजका नागरिकले सहज अनुभूति गर्न नपाएको, महानगरमा जथाभावी कर्मचारी नियुक्त गरिएको, एडीबीसँगको सहकार्यमा भएको सबै प्रोजेक्टहरुको काम सकिएको भनिए पनि डुबानको अवस्था अझै उस्तै रहेको लगायत विभिन्न ५ वटा विषयमा पार्टीले जवाफ मागेपछि मेयर सरावगीले राजीनामाको हल्ला फैलाएको उहाँले बताउनुभयो । 

पार्टीको नगर कमिटीले मेयर सरावगीसँग विभिन्न ५ वटा विषयमा जवाफ माग गर्ने निर्णय गरेको थियो । पार्टीको नगर इकाई कमिटीका अध्यक्ष इश्वर यादवले बुधबार जवाफ माग गर्दै पत्र दिन जाँदा आफूले राजीनामा दिएको भन्दै सरावगीले पत्र बुझ्न अस्वीकार गर्नुभएको थियो ।

नागरिकले अनुभूति गर्ने गरी काम गर्नुपर्यो भन्दा पार्टीले दबाब दिएको भन्दै राजीनामाको हल्ला चलाएर पार्टी नेतृत्वसँग बार्गेनिङ गर्न खोजेको जिल्ला अध्यक्ष यादवले आरोप लगाउनुभयो ।  

यसअघि मेयर सरावगीले महानगरको विशेष नगरसभामा काम गर्न नदिए राजीनामा दिने अभिव्यक्ति दिनुभएको थियो ।

महानगरमा इञ्जिनियर तथा कर्मचारी करारमा नियुक्ति गर्दा पार्टी हित विपरीत एकलौटी गरेको भन्दै पार्टी भित्रै उहाँको विरोध भएको थियो । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया