आउँदो १० महिनाभित्र काष्ठमण्डपको पहिलो तल्ला निर्माण गरिने

 भदौ २९, २०७५ शुक्रबार १६:१४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आगामी १० महिनाभित्र काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण गरिसक्ने निर्णय भएको छ । 

२०७२ सालको भूकम्पले भत्केको काष्ठमण्डपलाई २०७६ असार मसान्तभित्र पहिलो तल्ला पुनर्निर्माण गरिसक्ने गरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय भएको हो । काण्ठमण्डप पुनर्निर्माण समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले काष्ठमण्डपको काम योजनाबद्ध ढंगले तत्काल अघि बढाउन निर्देशन दिनुभयो । 

उहाँले पुनर्निर्माणमा गुणस्तर कायम गर्नका लागि समय समयमा निर्माण सामग्रीको प्रयोगशाला परीक्षण गराउन पनि सुझाव दिनु भएको छ । बैठकमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल लगायतको पनि उपस्थिति थियो । 

काण्ठमण्डप पुनर्निर्माणका लागि आवश्यक सबै रकम काठमाडौं महानगरपालिकाले उपलब्ध गराउनेछ भने पुरातत्व विभागले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया