विद्यालयमै कुटिएका शिक्षक बेपत्ता

 भदौ २९, २०७५ शुक्रबार १६:३९:५१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – विद्यालय परिसरमै कुटपिटमा परि घाइते हुनुभएका रुकुम पूर्वका एक शिक्षक बेपत्ता हुनुभएको छ । गएको साउन ३१ गते कुटपिटपछि घाइते बनाइएका शिक्षकको फोटो परिवारले सार्वजनिक गरेर उहाँ हालसम्म बेपत्ता भएको जनाएको छ ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाँउपालिका –२, आधारभूत विद्यालय पेल्मा मैकोेटमा अध्यापन गराइरहेका शिक्षक मखन केसी बेपत्ता भएपछि परिवारमा रुवाबासी चलेको छ । बेपत्ता केसीको खोजी गरिदिन प्रशासन तथा अन्य सरोकारवालाहरुलाई परिवारले आग्रह गरेका छन् ।

केसीका दाइ मोहनबहादुरले भाइलाई कुटपिट गरी बेपत्ता पारिएको बताउनुभयो । उहाँले गत साउन ३१ गते भाइ विद्यालयमै कुटिएको र पछि स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि ल्याइएको बेला खिचिएको फोटो सार्वजनिक गर्दै भाइको अवस्था अज्ञात रहेको बताउनु भयो ।  

गएको साउन ३१ गते कुटपिट गरी भदौ १२ गतेदेखि केसीलाई बेपत्ता पारिएको मोहनबाहदुरले बताउनुभयो । २४ वर्ष त्यही विद्यालयमा अध्यापनरत शिक्षकमाथि मरणासन्न हुनेगरी कुटिँदा र बेपत्ता पारिँदासम्म वडा सरकार र विद्यालयको उदासीनता र मौनता रहँदा अपराधीलाई संरक्षण भइरहेको परिवारको आरोप छ । 

रुकुम पूर्वको सिस्ने गाँउपालिका –६, स्थायी घर भई पुथाउत्तरगंगा गाँउपालिकाको आधारभूत विद्यालय पेल्मा मैकोटमा कार्यरत मखन केसीलाई विद्यालय परिसरमा गएको साउन ३१ गते कुटपिट गरिएको र भदौ १२ गतेदेखि बेपत्ता भएको परिवारको दावी छ । घटना घटेको यति समय बित्दासमेत स्थानीय प्रशासनले तदारुकता नदेखाएकोमा परिवारको दुखेसो छ । 

प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बेपत्ता शिक्षकको खोजी कार्य तीव्र बनाइएको बताउनु भयो । उहाले घटनाबारे  अनुसन्धान भइरहेको जनाउनुभयो । 

शिक्षक मखनलाई कुटपिट गर्दासमेत विद्यालय मुखदर्शक बनेको परिवारको आक्रोश छ । कुटपिट कसले र किन गरेको भन्नेबारे केही पनि सार्वजनिक भएको छैन ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया