हाम्रा खोलामा सुन त्यसै बगेर खेर गइरहेको छ : प्रधानमन्त्री ओली

 जेठ २१, २०७५ सोमबार १३:३८:३५ | उज्यालो सहकर्मी

मकवानपुर – तीन नम्बर प्रदेशको प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दे ओलीले नेपालमा प्रशस्तै सम्भावना भएको बताउनुभएको हो । 

उहाँले नेपालले आयातभन्दा धेरै निर्यात गर्नुपर्ने बताउँदै नचाहिने बस्तुको आयात र उपभोग गर्ने बानीलाई हटाउँदै लैजानुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपालले भारत र बंगलादेशलाई सिमेन्ट उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा निर्यात गर्न सक्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘भारतलाई नेपालले सिमेन्ट उपलब्ध गराउन सक्छ । भारतले नेपालसँग गुणस्तर र मूल्यमा प्रतिस्पर्धा गर्न सक्दैन । हामीसँग प्रशस्त मात्रामा ढुङ्गा खानी छ । हामीसँग सुन खानी छ । मान्छेहरुले खोलाको बालुवामा सुन चालेर जीविका चलाइराखेका छन् । खोलामा पानीसँगै बगिरहेको सुन छ ।’

प्रधानमन्त्री ओलीले नेपालमा खनिज नै खनिज भएको बताउँदै भन्नुभयो, ‘हामीसँग फलाम खानी छ । पर्वतमा फलाम खानी गाविस थियो । हामीसँग तेल र खनिज खानी पनि प्रशस्त छ । हामीकहाँ ६ सय रुपैयाँ बोतलका पानी छन् । नेपाल आफै पानीको धनी देश छ । आफ्नो पानीमा फोहोर मिल्काउँछौँ । अरुको पानी किनेर खान्छौँ । मिनरल वाटर भनेको के हो ? मिनरल वाटर त हाम्रा मूलबाट खलल बगेका पानी हुन्’ ओलीले भन्नुभयो । उहाँले रारा जाँदा पनि मिनिरल वाटरको प्रसंग निकाल्नु भएको थियो । ओलीले नेपालमा हिमालबाट बगेर आउने सफा र स्वच्छ पानी पाइने बताउनुभयो । 

प्रधानमन्त्री जडिबुडी पखालेर आएको पानी स्वच्छ पानी रहेको बताउनुभयो । उहाँले हिमाली क्षेत्रमा रहेको चौरीको व्यवसाय पनि उन्नतिको आधार हुने बताउनुभयो । हाम्रा अगाडि सम्भाव नै सम्भावना रहे पनि चिन्न नसकेको बताउनुभयो । उहाँले समय र जमिन अत्यन्तै महत्वपूर्ण हुने र तिनीहरुको अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयो । स्रोतसाधनको अधिकतम सदुपयोग गरेर मात्रै विकास गर्न सकिने बताउनुभयो । उहाँले पर्यटनको क्षेत्रमा पनि नेपाल सबैभन्दा ठूलो सम्भावना भएका बताउनुभयो । 

उहाँले नेपालमा संसारमै नपाइने वन्यजन्तु तथा बोटविरुवा रहेको बताउनुभयो । ओलीले नेपालमा धार्मिक पर्यटनको पनि प्रशस्त सम्भावना रहेको बताउनुभयो । आत्माविश्वास, योग्यता र सदुपयोगले मात्रै काम गर्न सकिने उहाँले बताउनुभयो । उहाँले आफूले छिमेकसँगको सम्बन्धमा पनि सुधार गरेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • Nagarik Pati

    June 4, 2018, 3:06 p.m.

    super

  •  0 Reply

तपाईको प्रतिक्रिया