नेपालको कम्युनिष्ट आन्दोलनबाट विश्व समुदाय चकित : प्रचण्ड

 भदौ २९, २०७५ शुक्रबार १८:४९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर –  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट सरकारबाट मात्र मुलुकको रुपान्तरण सम्भव हुने बताउनुभएको छ । 

नेपालको पहिलो कम्युनिष्ट विद्यालयको रुपमा स्थापना भएको मदन भण्डारी एसियाली विद्यालयले भक्तपुरको खरिपाटीमा संचालन गरेको २१ दिने विश्वको कम्युनिष्ट इतिहास र वर्तमान बिषयको प्रशिक्षण कार्यक्रमको शुक्रबार समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

विश्व कम्युनिष्ट आन्दोलनमा नेपालको दश वर्षे युद्ध, शान्ति पुर्नस्थापना, पार्टी एकीकरण र दुई तिहाईको समर्थित सरकारसम्मको यात्रा अभूतपूर्व भएको उहाँको भनाई थियो । नेपालको कम्युनिष्ट आन्दोलन र अभियानबाट विश्व समुदाय चकित भएको चर्चा गर्दै उहाँले यही सरकारले नेपालको रुपान्तरण गर्ने भनाई राख्नुभयो । 

अध्यक्ष दाहालले अहिले पूँजीवादी बजारीकरणको संरचना भत्काएर नयाँ जनवादी एवम् राष्ट्रवादी संरचना निर्माण गर्दै समाजवाद उन्मुख राज्य निर्माण गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।  अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक क्रान्ति पूरा भएकाले अब सामाजिक, आर्थिक र साँस्कृतिक रुपान्तरण गरिने बताउनुभयो ।

गत भदौ ९ गतेदेखि सुरु भएको मदन भण्डारी एसियाली विद्यालयबाट विभिन्न १४ देशका ४९ जना विद्यार्थीले पहिलो ब्याचको अध्ययन आजबाट पूरा गरेका छन् । प्रशिक्षणमा सहभागीहरुलाई अध्यक्ष प्रचण्डले शैक्षिक प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।

अन्तर्राष्ट्रिय स्तरको यस विद्यालयमा माक्र्सवाद, लेलिनवाद एवं कम्युनिजमका बारेमा पढाइएको थियो । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया