सर्वोच्चले रिहा गर्न आदेश दिएसँगै फेरि पक्राउ परे प्रकाण्ड

सर्वोच्चले दियो सरकारलाई अवहेलनाको मुद्धा लगाउने चेतावनी

 भदौ २९, २०७५ शुक्रबार १९:२३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सर्वोच्च अदालतको आदेशपछि रिहा भएका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा फेरि पक्राउ परेका छन् । 

दाङबाट काठमाडौं ल्याईएका प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै आज न्यायाधीशहरु अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले प्रकाण्डलाई छाड्न आदेश दिएको थियो । आदेश अनुसार प्रहरीले प्रकाण्डलाई रिहा गरे पनि सर्वोच्च अदालतकै ढोकाबाटै पक्रेको छ । 

चन्दा उठाएको आरोपमा गएको असारमा काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका प्रकाण्ड बन्दी प्रत्यक्षीकरण रिटमार्फत रिहा भएर आज चौथो पटक पक्राउ परेका हुन् । पूर्व मन्त्रीसमेत रहेका प्रकाण्डलाई अर्को अभियोगमा अनुसन्धान गर्नका लागि पक्राउ गरेको भने पनि कारण खुलाइएको छैन । 

यसैबीच सर्वोच्च प्रकाण्डलाई पटक–पटक पक्राउ गरेको प्रति सरकारसँग सर्वोच्च अदालत असन्तुष्ट पनि बनेको छ । नागरिकको व्यक्तिगत स्वतन्त्रताको उपभोगको विषयमा सरकार तथा सरकार मातहतका निकायहरु जिम्मेवार नभए अदालत मौन रहेर बस्न नसक्ने आदेशमा उल्लेख छ ।  

न्यायाधीशहरु अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले प्रकाण्डलाई पटक–पटक पक्राउ गरकोे सरकारले अदालतको अवहेलना गरेको भन्दै अवहेलना मुद्दामा कारबाही गर्नु पर्ने स्थिति आउने तर्फ सचेत गराएको छ । 

विधिको शासन भएको लोकतन्त्रमा अदालतको आदेशलाई पालना नगर्ने काम क्षम्य हुन नसक्ने आदेशमा उल्लेख छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया