शुक्रबार रातिदेखि थुनिएको बडिगाड खोलामा पाँच घण्टापछि  पानी बग्न थाल्यो,  खतरा टर्दै

 भदौ ३०, २०७५ शनिबार ७:४५:४२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – बाग्लुङ्गको ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा शुक्रबार रातिदेखि थुनिएको बडिगाड खोलामा पाँच घण्टापछि पानी बग्न थालेको छ । 

थुनिएको  खोलाको सतहमाथिबाट बिस्तारै पानी बग्न थालेको हुँदा त्यहाँको अवस्था अहिले खतरामुक्त रहेको घटनास्थलवाट बाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बताउनु भएको छ । 

ढोरपाटन नगरपालिका –१, र बडिगाड गाउँपालिका –७, अन्तर्गत भर्याङ क्षेत्रमा माथिबाट सुख्खा पहिरो खसेपछि शुक्रबार रातिदेखि खोला थुनिएको थियो । ‘हामी बिहान ५ः १५ मा खोला थुनएको ठाउँमा आइपुगेका थिययौँ, माथिबाट निकै गहिरिएर पहिरो खसेको रहेछ, ताल २ किलोमिटर जति लामो बनेको छ, पहिरो पनि डेढ किलोमिटर भन्दा लामो गएको रहेछ’, घटनास्थलको अवलोकन गरेपछि प्रमुख जिल्ला अधिकारी खरेलले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारीका अनुसार ताल नफुटे पनि ताल माथिबाट अहिले पानी जान थालेको हुँदा थुनिएको खोलामा ५० प्रतिशत पानी बग्न सुरु गरेको कारण उक्त क्षेत्रको अवस्थाखतरामुक्त रहेको बताउनुभयो ।

खोला थुनिएपछि ढोरपाटन नगरपालिका –२, सिमलचौर क्षेत्रका केही घरहरु डुवानमा परेका छन् । डुवानबाट कुनै मानवीय क्षति भने भएको छैन । पहाड माथिबाट खसेको ठूला–ठूला चट्टानका कारण खोला थुनिएपछि बडिगाड छेउछाउमा रहेका बाग्लुङ्ग र गुल्मीका नागरिक रातभर जाग्राम बसेका थिए । उनीहरु थुनिएको खोलाको ताल कुनै पनि बेला फुट्न सक्ने खतराबाट अझै पनि निकै त्रसित छन् ।

घटनाको जानकारी पाएपछि राति नै बाग्लुङ्गबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोली राति नै सदरमुकामबाट घटनास्थलतर्फ गएको थियो । 

खोला थुनिएपछि गुल्मीको मुसिकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका र रुरु गाउँपालिकाअन्तर्गत पर्ने बडिगाड खोला वरिपरि रहेका बजार र बस्तीहरुमा पनि सुरक्षा सर्तकता बढाइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भएको छ । 

बडिगाड खोला थुनिएपछि मध्य पहाडी लोकमार्ग समेत बन्द भएको छ । बडिगाड थुनिएको स्थान बाग्लुङ्ग सदरमुकामबाट ८५ किलोमिटर उत्तर पश्चिम र गुल्मी सदरमुकामबाट ४५ किलोमिटरको  दूरीमा पर्दछ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया