जानकी मेडिकल कलेजको अवस्था सुधार हुँदै, नियमित पठनपाठन हुन थालेपछि विद्यार्थी खुसी

 भदौ ३०, २०७५ शनिबार ११:५:११ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – यस क्षेत्रको एक मात्र मेडिकल कलेज धनुषाको रमदैयास्थित रहेको जानकी मेडिकल तथा शिक्षण अस्पतालको अवस्था समान्य बन्दै गएको छ ।

पछिल्लो ४ वर्षदेखि पहिलेका व्यवस्थापन पक्षहरुको कमीकमजोरीले कहिले कर्मचारी र कहिले विद्यार्थीको आन्दोलनको कारण जानकी कलेजको अवस्था दयनीय बनेको थियो । तर गएको असारदेखि आएको ओपी पाण्डे नेतृत्वको नयाँ व्यवस्थापन पक्षले लामो समयदेखि तलबभत्ता नपाएका आन्दोलनरत्त कर्मचारीहरुको बाँकी बक्यौता तलब भुक्तानी दिएपछि कलेजको अवस्था क्रमशः सुधार हुँदै गएको छ ।   
 
कलेजको पठनपाठनको अवस्थामा पनि परिवर्तन आएको छ । कलेजको मुख्य समस्याको रुपमा रहेको कर्मचारीको तलबभत्ताको समस्या नयाँ व्यवस्थापन पक्षले गएको असार महिनामा किनारा लगाएपछि कर्मचारीहरु नियमित काममा जुटेको कर्मचारीका नेतृत्वकर्ता उमेश यादवले बताउनुभयो ।
 
विगतमा तलबभत्ताको कारण पटक–पटक बन्द हुने गरेको कलेजको पठनपाठन र अस्पतालको उपचार सेवा अब नियमित सञ्चालन भइरहेको छ । विगतको आन्दोलनका कर्मचारी हकहित संरक्षण तथा संघर्ष समितिका संयोजक समेत रहनुभएका यादवले भन्नुभयो, ‘असारदेखि कर्मचारी र चिकित्सकहरु नियमित काममा जुटेका छन् । यसले विगतमा पटक–पटक बन्द हुने गरेको कलेजको पठनपाठन नियमित हुनुको साथै पूर्ण रुपले  अस्पतालले दिने सेवा सुरु भएको छ ।’
 
नियमित पठनपाठन हुनथालेपछि त्यहाँ अध्ययनरत्त विद्यार्थीहरु समेत खुसी भएका छन् । ‘पहिलेका कलेज व्यवस्थापन पक्षको कमजोरीले पटक–पटक कलेज नै बन्द हुँदा भविष्य नै अन्धकार हुने भन्ने चिन्ता थियो, विद्यार्थीहरु होस्टेलमै बसेर अध्ययन गर्नुपथ्र्यो’, विगतका कहालीलाग्दो दिन सम्झिदैँ कलेजको विद्यार्थी मनोज रजकले भन्नुभयो, ‘अहिले धेरै परिवर्तन आएको छ । नियमित पठनपाठन भइरहेको छ । यसले हामी विद्यार्थीहरु निकै खुसी छौँ ।’

यस्तै कलेजको एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत्त विद्यार्थी आशुतोष मिश्रले भन्नुभयो, ‘ अहिलेको व्यवस्थान पक्षको कदमले हामी ठूलो राहत महसुस गरेका छौँ, नियमित पठनपाठन हुनुको साथै प्रयोगात्मक क्रियाकलाप पनि हुने गरेको छ । अगामी दिनमा पनि यस व्यवस्थापन पक्षले राम्रो गर्छ भन्ने हामीलाई लागेको छ  ।’
 
यता नयाँ व्यवस्थापन पक्ष एवं कलेज प्रशासनका प्रमुख प्रशासकीय अधिकृत धनध्वज मल्ल ठकुरीले अब यस कलेजमा पहिलाको जस्तो अवस्था सृजना नहुने बताउनुभयो । ‘गत असार महिनाबाटै नयाँ ढंगबाट कलेज एवं अस्पतालको कामकारबाही हामीले अगाडि बढाएका छौँ । अहिले ओपी पाण्डेको एकल नेतृत्वमा कलेज सञ्चालनमा आएको छ । त्यसैले विगतको जस्तो दिन हामीले दोहरिन दिन्नौँ’, ठकुरीले भन्नुभयो, ‘अब समयमै कर्मचारीले तलब पाउँछन्, पठनपाठन हुन्छ । अस्पतालको सबै सेवा पनि सञ्चालन भइरहनेछ ।’  
 
गएको जेठ महिनासम्म पाँचजनाको संयुक्त सञ्चालनमा रहेको बेला समयमा तलबभत्ता नदिँदा कर्मचारीहरु पटक–पटक आन्दोलन गर्ने गरेका थिए । जसको कारण कलेजको पठनपाठनको साथै अस्पतालको उपचार सेवा समेत बन्द हुने गरेको थियो । 

गएको असार महिनाबाट कलेज ओमप्रकाश पाण्डेले एकल स्वामित्वमा लिएर कर्मचारीहरुको बाँकी बक्यौता तलबभत्ता भुक्तानी गरेर नयाँ शिराबाट सुरु गरेपछि कलेजको अवस्थामा सुधार आएको कर्मचारी र विद्यार्थीहरु बताउँछन् । 

यस क्षेत्रकै एकमात्र मेडिकल कलेजको रुपमा रहेको जानकी मेडिकल कलेजमा करिब ३ सय विद्यार्थी अध्ययनरत्त छन् भने अस्पताल र कलेजका गरी करिब ४ सय कर्मचारीहरु कार्यरत छन् ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया