नागरिकले जे मन पराउँछन् त्योे गर्नुहोस्, जे मन पराउँदैनन् त्यो नगर्नुहोस् : प्रधानमन्त्री ओली

 जेठ २१, २०७५ सोमबार १४:५८:१७ | उज्यालो सहकर्मी

मकवानपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश तीनका सांसदहरुलाई सुशासनमा रहेर काम गर्न आग्रह गर्नुभएको छ ।

प्रदेश तीनको प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू मात्र स्वच्छ छविको भएर नहुने भन्दै आफू मातहत पनि स्वच्छ छविका व्यक्ति राख्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालमा मौलिक व्यवस्था स्थापना गर्न खोजेको बताउँदै भन्नुभयो, ‘हामीले एकदम नयाँ प्रणाली ल्याएका छौं । हाम्रा संरचना पूर्ण रुपमा नबने पनि हामीले सुरुवात गरेका छौँ । नयाँ अभ्यास र व्यवस्थाबाट हामीले विकास गर्न सक्नेछौं ।’ 

अधिकारको बाडफाँड भन्दा पनि विकास गर्नका लागि एकजुट हुनुपर्ने उहाँको भनाई थियो । ‘हामी फुट्नु हुँदैन, हामी जुट्नुपर्छ । ७६१ वटा सरकार बनेका छन्’, ओलीले भन्नुभयो, ‘अधिकार उपभोग भन्दा पनि सेवा उपलब्ध गराउन सजिलोका लगि औजार तथा संयन्त्रहरुका रुपमा स्थानीय तहले काम गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधिहरुले नागरिकको आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘जनताले जे मन पराउँछन्, त्यो काम गर्नुहोस्, जे मन पराउँदैनन्, त्यो नगर्नुहोस्’, ओलीले भन्नुभयो, ‘जनताले सोधेको प्रश्नको जवाफ दिनुपर्छ । चाकडी छाड्नुहोस । पारदर्शीतामा काम गर्नुहोस ।’ 

प्रधानमन्त्री ओलीले हरिभक्त कटुवालको कविता सुनाउन पनि पछि पर्नुभएन । ‘टाडाबाट होइन साथी नजिकबाट हेर’,  विपक्ष दलतिर लक्षित गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सक्छौं भने साथी दाग, धब्बा पत्ता लगाएर देखाउ ।’

ओलीले दाग धब्बारहित भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले नागरिकसँग डराएर काम गर्न जनप्रतिनिधिलाई सुझाब दिनुभयो । ‘चित्रगुप्तको भन्दा डरलाग्दो हुन्छ जनतासँगको हिसाब किताब’, ओलीले भन्नुभयो, ‘जनताको अगाडि डराएर काम गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले आफूले देशको विकास गर्नकै लागि शरीरको पाटपूर्जा फेरेर काम गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सदरमुकाम कहाँ राख्ने र नामांकन के गर्ने भन्ने विषयका विवाद आवश्यक नरहेको बताउनुभयो । ‘कुनै पनि ठाउँ सदरमुकाम हुनबाट कम छैनन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विमानस्थल नबन्ने शहर छैन, उद्योग कारखान नबन्ने शहर छैन । यातायात नपुग्ने ठाउँ छैन । अनि सदरमुकाम र नामांकनको विषयमा किन विवाद ?’

प्रधानमन्त्री ओलीले सहमतिका साथ विकास गर्नतिर ध्यान दिनुपर्ने बताउनुभयो । पैसा भएर मात्रै स्थानीय तहमा काम नहुने र दक्ष जनशक्तिको अभावले सबै स्थानीय तहको काम तिब्र गतिमा अगाडि नबढेको ओलीले बताउनुभयो । उहाँले असार मसान्तपछि प्रशासनिक, आर्थिकलगायतका काम तिब्र गतिमा अगाडि बढ्ने बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया