‘दुस्साहसी’ तसलिमा नसरीन

 भदौ ३०, २०७५ शनिवार १३:२९:३४ | उपेन्द्रराज पाण्डेय
unn.prixa.net

सन् १५२५ मा विलियम टिन्डेलले ग्रीक र हिब्रू भाषामा रहेको बाइबललाई अंग्रेजीमा अनुवाद गरी ल्याटिन र हिब्रू नजान्ने युरोपेली पाठकका लागि महत्वपूर्ण योगदान पुर्‍याए । त्यसको परिणाम आममानिसलाई राम्रै भयो । उनीहरूले बाइबलमा रहेको वास्तविक कुरा थाहा पाए ।

त्यस समयमा बेलायतलगायत युरोपका अन्य देशहरूमा चर्च र यसका पादरीहरूको दबदबा थियो । आमनागरिकलाई चर्चले भ्रममा राख्ने काम गरेको थियो । उनले बाइबल अनुवाद गरेकै र धार्मिक सुधारका पक्षमा आवाज उठाएकाले धार्मिक कट्टरपन्थीहरूको निसानामा परे । उनलाई बेलायतको सरकार र चर्च मिलेर १५३६ मा जिउँदै जलाए । उनले मर्ने समयमा ‘भगवान, बेलायतका राजाको आँखा खोलिदेऊ’ भनेका थिए । त्यस समयमा हेनरी आठौँ बेलायतका राजा थिए ।

त्यसैगरी ग्यालिलियोले सूर्यलाई पृथ्वीले परिक्रमा गर्छ भन्ने कपर्निकसको तथ्यलाई प्रमाणित गरे । उनी पनि धार्मिक अतिवादीहरूको निसानामा परे । धर्म र विज्ञानको बीचमा जहिले पनि द्वन्द्व चलिरहेको हुन्छ । धर्मको डर देखाएर मानिसहरूलाई तर्साउने काम जुनै धर्ममा पनि देखिन्छ । यी घटना त धेरै वर्षअगाडिका हुन् । तर, अहिलेकै परिस्थितिलाई हेर्ने हो भने धेरै देशहरूमा लेखक–कलाकारहरूलाई धर्मको आलोचना गरेकै कारणले आक्रमण तथा हत्या गरिएको छ ।

बंगलादेश यस्ता घटनाहरूका लागि अग्रपंक्तिमा आउँछ । पछिल्ला केही वर्षमा त्यहाँका धार्मिक कट्टरपन्थीहरूको उक्साहटमा धेरै नास्तिक ब्लगर तथा लेखकहरूको हत्या भएको छ । हिफाजत–ए–इस्लाम, अन्सारुल्लाह बांग्ला टिमजस्ता धर्मिक संस्थाहरूको यसमा हात रहेको भनिन्छ ।

ब्लगमार्फत स्वतन्त्रताको अधिकारका पक्षमा ‘मुक्तो मन’ साइटमा कलम चलाउँदै आएका बंगाली मूलका अमेरिकी नागरिक अभिजित रोयको हत्या गरियो । त्यस्तै अनन्त बिजोय दास, बासिकुर रहमान, असिफ मोहिउद्दिनहरूको पनि कलम चलाएकै आधारमा हत्या गरियो ।

भनिन्छ, बगलादेशमा धार्मिक कट्टरपन्थीहरूलाई सरकारले नै प्रश्रय दिइरहेको छ । बंगलादेशमा व्याप्त धार्मिक असिहिष्णुता, नारीवाद र स्वतन्त्रताका पक्षमा प्रगतिशील विचार राख्दै आएकी छन्, बंगलादेशी निर्वासित लेखिका तसलिमा नसरीन । २२ वर्षदेखि निर्वासित जीवन बिताइरहेकी नसरीनले मुस्लिम समुदायमा रहेको महिलाको अवस्थालाई उजागर गर्नुका साथै धार्मिक अतिवादको आलोचना गर्दै आएकी छन् ।

आज बोस्नियामा सर्बियनहरू मस्जिद तोडिरहेका छन्, त्यसैलाई आधार बनाएर हाम्रो देशका कट्टरपन्थीहरू के यस देशमा रहेका गिर्जाघर तोड्न सक्छन् ? अहँ, सक्दैनन् । सरकारले पनि गिर्जाघर तोड्न दिनेछैन किनकि यसले अमेरिकी साम्राज्यवादी रिसाउनेछन् ।

सन् १९६२ मा तत्कालीन पूर्वी पाकिस्तानको मयमनसिंहमा जन्मेकी तसलिमा नसरीनले १४ वर्षकै उमेरमा विद्यालय तहको शिक्षा पूरा गरेकी थिइन् । उनले सन् १९८४ मा एमबीबीएस गरी ढाका मेडिकल कलेजमा स्त्रीरोग विशेषज्ञका रूपमा काम गरेकी थिइन् । सरकारले उनको पासपोर्ट जफत गरिदिएपछि सन् १९९३ मा जागिर छोड्न बाध्य भएकी थिइन् । उनले विभिन्न साहित्यिक पत्रिकाहरूको सम्पादनसँगै लेखनकार्यको सुरुवात गरेकी थिइन् ।

१९८६ मा पहिलो कविता संग्रह प्रकाशित भएपछि उनी चर्चामा आएकी थिइन् । उनले १९८९ मा दोस्रो कविता संग्रह प्रकाशित गर्नुका साथै विभिन्न पत्रिकाहरूमा महिला अधिकारलाई आधार बनाएर स्तम्भहरू लेख्न थालिन् । उनका स्तम्भहरू निकै नै पढिन्थे, किनकि उनी खुलेर समानता तथा स्वतन्त्रताका पक्षमा कलम चलाउँथिन् । १९९० मा उनले इस्लाम धर्मको आलोचना गरेको भन्दै केही इस्लामिक कट्टरपन्थी समूहले उनका विरुद्ध प्रदर्शन गर्नुका साथै पत्रिकाका कार्यालयहरू तोडफोड गरे ।

१९९१ मा उनको ‘प्रतिनिधि स्तम्भहरू’ प्रकाशित भएसँगै उनी बेष्टसेलिङ लेखकका रूपमा स्थापित भइन्, तर उनीविरुद्धका प्रदर्शन झन उग्र भएर गयो । सन् १९९२ मा ‘तसलिमा भगाऊ समिति’ नै गठन गरेर उनका पुस्तकहरू जलाउने काम भयो । नसरीनलाई पुस्तक मेलामा जान प्रतिबन्ध लगाइयो । उनले प्रतिष्ठित भारतीय साहित्यिक ‘आनन्द पुरस्कार’लगायतका थुप्रै पुरस्कार प्राप्त गरेकी छन् । उनका रचनाहरू भारतको पश्चिम बंगालमा सर्वाधिक बिक्री हुने पुस्तकको सूचीमा पर्न सफल भए ।

सन् १९९३ मा उनको बहुचर्चित तथा विवादित उपन्यास ‘लज्जा’ प्रकाशित भयो, जसमा उनले बंगलादेशमा रहेका अल्पसंख्यक हिन्दू समुदायमाथि मुस्लिम समुदायले गरेको हिंसात्मक व्यवहारको चित्रण गरेकी छन् । यो कृतिलाई उपन्यासका रूपमा भन्दा ऐतिहासिक अभिलेखका रूपमा लिँदा हुन्छ । पात्रहरू काल्पनिक भए पनि उपन्यासमा वर्णित घटनाहरू यथार्थ घटनामा आधारित छन् ।

सन् १९९२ मा भारतको अयोध्यामा रहेको बाबरी मस्जिद हिन्दू अतिवादीहरूले भत्काएपछि बंगलादेशमा पनि हिंसा भड्किएको थियो । अयोध्या भगवान रामको जन्मभूमि भएको भन्दै ऐतिहासिक बाबरी मस्जिद भत्काइएको थियो । त्यसपछि पूरा दक्षिण एसियामै हिन्दू मुस्लिमबीचमा एक किसिमको वैमनश्यता पैदा भएको थियो । ‘लज्जा’लाई बंगलादेश सरकारले प्रतिबन्ध लगायो । नसरीनमाथि पुस्तक मेलामा भौतिक आक्रमण भयो ।

मेलामा रहेका स्टलहरू भत्काइए । मेला आयोजकले नसरीनलाई मेलामा नआउन आग्रह गरे । कट्टरपन्थीहरूले उनीविरुद्ध ‘फतवा’ जारी गरे । ‘लज्जा’ले इस्लामको अपमान गरेको भन्दै नसरीनलाई मृत्युदण्ड दिइनुपर्ने माग गरियो । ‘लज्जा’ले नसरीनलाई विश्वसाहित्यको मञ्चमा पुर्‍यायो । उनका कृतिहरू संसारका विभिन्न भाषामा अनुवाद हुने क्रम सुरु भयो । नसरीनका विरुद्ध ३ लाख प्रदर्शनकारीहरू सडकमा ओर्लिए । नसरीनकै कारण बंगलादेशमा लगातार हडतालहरू भए ।

‘लज्जा’ले बंगलादेशमा हलचल नै मच्चायो । नसरीनका पक्षमा अन्तर्राष्ट्रिय समुदायको निकै ठूलो समर्थन थियो, तर पनि एउटा पुस्तक लेखेकै कारण उनले देश निकालासम्मको सजाय भोग्नुपर्‍यो । उनले सन् १९९४देखि सन् २००४ सम्म स्विडेन, जर्मनी, अमेरिकालगायत देशमा निर्वासित जीवन बिताएकी थिइन् । सन् २००२ मा उनले पर्यटक भिसामा भारत भ्रमण गरिन् ।

त्यसो त उनलाई सन् २००० मा मुम्बईमा आफ्नै पुस्तक विमोचनका लागि निमन्त्रणा गरिएको थियो, तर उनलाई इस्लामिक कट्टरपन्थीहरूले जिउँदै जलाइदिने धम्की दिएपछि भ्रमण स्थगित गरेकी थिइन् । बंगलादेश सरकारलाई उनले बंगलादेश प्रवेशमा रोक नलगाउन आग्रह गर्दा पनि उनलाई प्रवेश गर्न दिइएन । उनको बुबाको निधनमा समेत उनलाई बंगलादेश प्रवेशमा रोक लगाइयो ।

त्यतिमात्रै होइन, यसबीचमा उनीविरुद्ध भारतमै पनि तीनवटा ‘फतवा’ जारी भयो । सन् २००४ मा भारतले आवासीय अनुमति दिएपछि कलकत्तामा तीन वर्ष बसिन् । कलकत्ता बसाइका क्रममा उनलाई विभिन्न पुस्तक मेलाहरूमा निमन्त्रणा गरिएको भए पनि व्यापक विरोधका कारण सहभागी हुन सकिनन् । हैदरावादमा भएको एउटा कार्यक्रममा उनीमाथि सांसदबाटै आक्रमण भएको थियो ।

पटक-पटकको आक्रमण र विरोध त थियो नै, पश्चिम बंगाल सरकारले पनि उनलाई कलकत्ता छाड्न आग्रह गर्यो । त्यसपछि केही समय राजस्थान बसेकी उनलाई दिल्लीमा नजरबन्दमा राखियो । करिब सात महिनाको नजरबन्दपछि उनलाई भारत नै छाड्न दबाब दिइएको थियो । सन् २००९ मा भारत सरकारले विभिन्न सर्तमा उनलाई भारत बस्ने अनुमति दिने व्यवस्था गर्‍यो । ती सर्तअनुसार नसरीनले उनले आफ्नो १७ फेब्रुअरीभन्दा अगाडि नै भारत छाड्नुपर्ने थियो । उनले आफ्नो भारत बसाइका लागि दिइएको अनुमतिको म्याद सकिनुभन्दा एक दिन अगाडिको हवाई टिकट देखाउनुपथ्र्यो ।

उनलाई कलकत्ता प्रवेशमा पनि पूर्ण प्रतिबन्ध थियो । अर्को सर्त थियो, मिडियासँग अन्तक्र्रिया नगर्ने । त्यस्तै अर्को सर्त थियो, ३१ मेभन्दा अगाडि भारत प्रवेश नगर्ने किनकि ३१ मे सम्म भारतमा चुनाव सकिएको हुन्थ्यो । भारत चाहन्थेन कि नसरीनको कारणले चुनावको वातावरण खल्बलियोस् । नसरीनसँग अरु विकल्प थिएन, उनले सबै शर्त मानेरै भारत बसिन् । भारतमा बस्दा पनि अल कायदालगायतका विभिन्न संगठनको धम्की आएपछि उनी अहिले विभिन्न देशहरुमा रहेको घुमिरहन्छिन् । नघुमून पनि किन, अाफ्नाे मातृभूमिमा बस्न नपाएपछि जुन देशमा बसे पनि के भाे र ?

उनले ‘लज्जा’मा आफूले इस्लाम धर्मको आलोचना नगरेको र हिंसात्मक घटनाहरूलाई मात्र प्रस्तुत गरेको बताएकी छन् । उनले यो उपन्यास साम्प्रदायिकतामाथि बाधक नभएको भन्दै आफ्नो आत्मकथा ‘द्विखण्डितो’मा भनेकी छन्, “यो किताब साम्प्रदायिक सद्भावमा बाधक छैन । देशमा साम्प्रदायिक सद्भावको अभाव छ, त्यसैले साम्प्रदायिक सद्भाव सिर्जनाका लागि यस पुस्तक लेखिएको हो । ताकि कसैलाई पनि भिन्न धर्ममा आस्था राखेकै कारण आक्रमणको निसाना नबनाइयोस् । शरीरमा ठूलो घाउ भयो । यस घाउलाई कपडा खोलेर देखाउनुको एकमात्र उद्देश्य हो कि त्यसको सही उपचार हुन सकोस् । के यसको मतलब मैले शरीरको अपमान गरेको हुन्छ र ?”

उनले आफूले अरु पुस्तकमा धर्मको कडा आलोचना गरेको स्वीकारे पनि ‘लज्जा’मा भने नगरेको बताएकी छन् । उनले आफ्ना अरु कृतिहरू ‘निर्वाचित कलम’ र ‘भ्रष्ट केटीको भ्रष्ट गद्य’जस्ता कृतिहरू जफत गरिएको भए आफूलाई आपत्ति नहुने बताएकी छन् । उनले ‘लज्जा’मा हरेक धर्म मान्ने मानिसलाई आफ्नो धर्ममा आस्था राख्ने अधिकार भएको र अरु धर्ममा आस्था राख्नेको पनि सम्मान गर्नुपर्ने बताएकी छन् । 

बजारमा रहेको ‘लज्जा’को सम्पूर्ण प्रतिहरू प्रहरीले जफत गर्‍यो । प्रकाशनको पाँच महिनामै ६० हजार प्रति पुस्तक बिक्री भइसकेको थियो । पुस्तकको सातौँ संस्करण चलिरहेको थियो त्यस समय बजारमा । ‘लज्जा’लाई प्रतिबन्ध लागेकोमा धेरै लेखकहरूले विरोध गरे पनि इस्लामिक कट्टरपन्थीहरूको अगाडि बंगलादेश सरकारको केही लागेन ।

डक्टर अहमद शरिफले नसरीनको पक्षमा बोल्दै भनेका छन्, “मलाई लाग्दैन कि कुनै किताबले समाजमा नोक्सान पुर्‍याउनेछ । जुन किताब मानिसको हत्या गर्न उक्साउँछ, फासिवादको गुणगान गाउँछ, त्यस्तो किताबको कुरा अर्कै कुरा हो । जुन देशमा औषधिमा समेत मिसावट हुन्छ । कालाबजारी कायम छ, मिसावट गरी खाद्य पदार्थलाई विषालु बनाइन्छ, जुन देशमा अपराधीहरू खुल्लमखुल्ला हिँडिरहेका हुन्छन्, त्यस देशमा एक सत्यवादी र मुक्तिकामी लेखिकाको किताबमाथि किन प्रतिबन्ध लगाइन्छ ? यसैले कि लेखक या लेखिका निरीह प्राणी हुन् ? नसरीनको ‘लज्जा’ उपन्यासको प्रतिबन्ध फुकुवाका लागि स्वाधिनता तथा स्वतन्त्रतामा विश्वास गर्ने हामी लेखकहरू सरकारसँग माग गर्दछौँ ।”

नसरीनले कुनै धर्मको आलोचना या सर्मथन नगरी मानिसमा रहेको क्रूर पक्षलाई उजागर गरेको भन्दै धेरै लेखकहरू उनको पक्षमा लेख्ने र बोल्ने गरेका थिए ।

ढुंगा हानेर महिलाको हत्या गर्ने परम्परालाई हामीले रोक्नुपर्छ । कानुन भनेको समानताको आधारमा हुनुपर्छ, धर्मका आधारमा होइन ।

तसलिमा नसरीनले बंगलादेशमा हिन्दूहरू अल्पसंख्यामा रहेको र उनीहरूको पँहुच नभएकोले बाबरी मस्जिद काण्डकै कारण निशानामा परेको बताएकी छन् । उनको तर्क ठिक पनि लाग्छ कि भारतमा हिन्दूहरूले गरेको खराब कामको दोषी बंगलादेशमा रहेका हिन्दू कदापि हुनै सक्दैनन् । एउटै धर्ममा आस्था राखेकै भरमा सम्पूर्ण मुस्लिम समुदायलाई कट्टरपन्थी भन्न मिल्दै मिल्दैन । नसरीनले त केवल धर्मका नाममा मानिसलाई साँघुरो घेरामा सीमित पार्ने पद्धतिको विरोध गरेकी छन् ।

उनी ‘द्विखण्डितो’ मा भन्छिन्, “आज बोस्नियामा सर्बियनहरू मस्जिद तोडिरहेका छन्, त्यसैलाई आधार बनाएर हाम्रो देशका कट्टरपन्थीहरू के यस देशमा रहेका गिर्जाघर तोड्न सक्छन् ? अहँ, सक्दैनन् । सरकारले पनि गिर्जाघर तोड्न दिनेछैन किनकि यसले अमेरिकी साम्राज्यवादी रिसाउनेछन् ।”

अर्कोतिर धर्मगुरुहरूले नसरीनको विपक्षमा मानिसहरूलाई भड्काइरहेका थिए । उनले एक इमामले हरेक शुक्रबार नमाज सुरु हुनुभन्दा पहिला आफूलाई गाली गर्ने गरेको कुरा आत्मकथामा भनेकी छन् । उनले भनेका छन्, ‘तसलिमा नामकी एक कुलंघारले यो देशमा जन्म लिएकी छ । यो आइमाई इस्लामविरोधी हो । मुसलमान भएर पनि यसले मुसलमानको सर्वनाश गरिरहेकी छ । हिन्दूहरूबाट घूस खाएर यो पापिनीले एउटा किताब लेखेकी छ । त्यो किताबले सर्वनाश गरिरहेको छ । त्यो किताब यदि तपाईंहरूले पढ्नुभएको छैन भने एकदमै राम्रो गर्नुभयो । त्यो किताबमा मुसलमान जातिलाई घृणित जातिका रूपमा प्रस्तुत गरिएको छ । यो आइमाई, आइमाईहरूका लागि लाजको विषय बनेकी छ । तपाईंहरू त्यसलाई फाँसीको माग गर्नुहोस् । त्यस पापिनीलाई फाँसीमा चढाएपछि मात्रै देश र इस्लाम बच्नेछ ।’

नसरीनको किताबले भन्दा इमामहरूका यस्ता उग्र अभिव्यक्तिका कारण देशमा हिंसा भड्किएको थियो । मानिसहरू किताबमा के छ भन्ने थाहा नपाइकन विरोधमा उत्रिरहेका थिए । नसरीनले ‘शक्तिशाली’ अल्लाहलाई बचाउनका लागि मौलानाहरूले यस किसिमको प्रचारवाजी गर्न नपर्ने भनेकी छन् । उनले एक पटक रिक्सामा यात्रा गर्दा बखतको प्रसंगलाई आत्मकथामा प्रस्तुत गरेकी छन् । उनी र रिक्शावालाबीचको वार्तालाप–

“यत्रो जुलुस केका लागि निस्किएको हो ?”
“तसलिमाको जुलुस थियो ।”
“तसलीमाको जुलुस ? मतलब ?”
“मानिसहरू तसलिमालाई फाँसी चाहन्छन् ।”
“किन ? फाँसी किन चाहन्छन् ? तसलिमाले के गरिन र ?” 
“तसलिमाले मस्जिद तोडिन् ।”
“कुन मस्जिद, तपाईंलाई थाहा छ ?”
“बाबरी मस्जिद ।”
“एउटी महिलाले कसरी मस्जिद तोडी ?”
“कसरी तोडी मलाई थाहा छैन ।”
“तपाईंले कहाँ सुन्नुभयो ?”
“हामी सबैले सुन्छौँ । दिलावर हुसेन सईदीको क्यासेट बाटो बाटोमा बजिरहेको हुन्छ ।”
“तपाईं पनि तसलिमाको मृत्यु चाहनुहुन्छ ?”
“हो, । अवश्य चाहन्छु । अब सबैले त्यसै चाहन्छन् भने म पनि चाहन्छु ।”

– नसरीनको आत्मकथा ‘द्विखण्डितो’ बाट 

मनिसहरू यसरी नबुझिकन नसरीनको विरोध गरिरहेका थिए । त्यसो त उनका हरेक पुस्तक बंगलादेशमा विवादितका साथै प्रतिबन्धित भए । उनले ‘लज्जा’मा हिन्दूहरूले भोगेको दर्दनाक कथालाई प्रस्तुतमात्रै गरेकी हुन् । उनले शक्तिशाली ढंगले बंगलादेशको हिन्दूविरोधी साम्प्रदायिकतामाथि प्रहारमात्रै गरेकी हुन् ।

‘लज्जा’लाई मुस्लिम अतिवादीहरूमाथिको आक्रमण मानिए पनि हिन्दू अतिवादीहरूमाथि पनि यसले उत्तिकै प्रहार गर्छ । उपन्यासमा हिन्दू र मुस्लिम समुदायबीचमा खलबलिएको सद्भावलाई प्रस्तुत गरिएको छ । सुरञ्जन र परविन हिन्दू र मुस्लिम भएकै कारण उनीहरूको प्रेम सफल हुन सक्दैन । उनीहरूको बीचमा धर्म तगारो बन्छ । सुरञ्जनका बुबा सुधामोय दत्त आफ्नी श्रीमती किरनमोय भारत जान चाहे पनि उनी बंगलादेशमै बस्न चाहन्छन् । उपन्यासमा सुरञ्जनको बहिनी मायाको अपहरणलगायत विषयवस्तुहरूमा केन्द्रित हुनुका साथै बंगलादेशमा भड्किएको सामाजिक सद्भावलाई मिहिन ढंगबाट प्रस्तुत गरिएको छ । 

नसरीनका उपन्यास तथा कवितामा उनी प्रवासी भएर बाँच्नुपर्दाको पीडा तथा आक्रोश पाइन्छ ।

आफ्नै देशमा थिएँ प्रवासी
अब परदेशमा छु प्रवासी
तब कहाँ छ मेरो देश ?
सुन्दर देश !
मलाई थाहा छ 
थाहा छ देशलाई पनि
मेरो मनमा छ त्यो देश ।

–प्रवास (तसलिमा नसरीन) 

उनले आफू जुनसुकै देशमा रहे पनि बंगाली संस्कृति, भाषा र बंगलादेशलाई भुल्न नसक्ने बताएकी छन् । उनले अमेरिकी ग्रिनकार्डका साथै स्विडेनको नागरिकता पाए पनि उनलाई बंगलादेश नै प्यारो भएको कुरा उनका कृतिबाट थाहा पाउन सकिन्छ । 

नसरीनले आफूलाई मुस्लिम नभन्न आग्रह गर्दै आफू नास्तिक भएको बताएकी छन् । उनले हरेक धर्ममा महिलाको उचित सम्मान नभएको भन्दै आफू सधैं महिला अधिकारका लागि लडेको बताउँछिन् । उनी भन्छिन्, “ढुंगा हानेर महिलाको हत्या गर्ने परम्परालाई हामीले रोक्नुपर्छ । कानुन भनेको समानताको आधारमा हुनुपर्छ, धर्मका आधारमा होइन ।”

नसरीनले महिला अधिकार र स्वतन्त्रताका लागि निरन्तर आवाज उठाएको पाइन्छ । उनी दोहोरो निसानामा परेकी छन् । एक त पितृसत्तात्मक समाज र अर्को धार्मिक कट्टरपन्थीहरूको निसानामा । उनले विवाह, सम्बन्ध विच्छेदलगायत कुराहरूमा समान अधिकारको व्यवस्था हुनुपर्ने भन्दै कलम चलाइरहेकी छन् ।

तिमी महिला हौ
यो राम्रोसँग ख्याल राख 
जब तिमी घरको चौघेरा नाघ्नेछौ
मानिसहरू तिमीलाई कर्के नजरले हेर्नेछन् 
जब तिमी गल्ली हुँदै हिँड्नेछौ 
मानिसहरू तिम्रो पिछा गर्नेछन्
सिठी बजाउनेछन् । 
जब तिमी गल्ली पार गरी मुख्य सडकमा पुग्नेछौ 
मानिसहरूले तिमीलाई चरित्रहिन भन्दै गाली गर्नेछन् 
तिमी हुनेछौ बेइमानी
जब तिमी पछाडि फर्कन्छौ 
नत्र जसरी गइरहेकी छौ
जाऊ ।

– चरित्र 

नसरीनले समाजमा पुरुषले गल्ती गरे पनि त्यसको दोष महिलालाई थोपर्ने प्रवृत्तिको विरोध गरेकी छन् । धार्मिक कट्टरताविरुद्ध निरन्तर लड्दै आएकी नसरीनको आत्मकथा ‘निर्वासन’मा बंगाली चलचित्र बनेको छ । उनका प्रमुख कृतिहरूमा ‘निमोन्त्रन’ (निमन्त्रणा), ‘आमार मेयेबेला’ (मेरो बाल्यकाल), ‘द्विखण्डितो’ (द्विखण्डित), ‘सेइ सोब अन्धोकार’ (सबै अन्धकार), ‘अमी भालो नेइ तुमी भालो थेको प्रियो देश’ (म ठीक छैन, तिमी ठीक होऊ प्रिय देश), ‘नारीर कोनो देश नेइ’ (महिलाको कुनै देश छैन) हुन् ।
 

अन्तिम अपडेट: असोज ८, २०७५

उपेन्द्रराज पाण्डेय

कला, साहित्य र संस्कृतिमा कलम चलाउने उपेन्द्रराज पाण्डेयलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया