पानीको जोहो गर्न प्लाष्टिक पोखरी !

 भदौ ३०, २०७५ शनिबार १३:३४:५० | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – जलवायु परिवर्तनसँगै धनकुटा नगर क्षेत्रमा पानीको मुहान सुक्दै गएकोे छ । पानीको मुहान सुकेपछि सब्जीखेती, माछा पालन गर्न र गाईबस्तुलाई आवश्यक पर्ने पानीको लागि धनकुटा नगरपालिकाले प्लाष्टिक पोखरी निर्माण अभियान संचालन गरेको छ ।

वर्षातकाे समयमा बगेर आएको पानी पोखरीमा संकलन गरेपछि हिउँदमा पानीको अभाव हुदाँ उपयोग गर्न सहज होस् भन्ने उद्देश्यले प्लाष्टिक पोखरी निर्माणलाई अभियानको रुपमा धनकुटा नगरपालिका धनकुटाले सञ्चालन गरेको हो ।

धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा नगरपालिकाको वडा नं. १ मा ५० वटा प्लाष्टिक पोखरी निर्माण गरिएको धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले बताउनुभयो ।

गएको आर्थिक वर्षमा स्मार्ट भिलेज बनाउने लक्ष्यका साथ नगरपालिकाको वडा नं. १ अन्तगरत सुकेपोखरीदेखि नगरपालिकाको वडा नं. ३ भन्दा माथि पर्ने निगाले, तामाङ टोल र कैलेनी टोलमा ५० वटा प्लाष्टिकको पोखरी निर्माण गरिएको वातावरण शाखा प्रमुख खनालले बताउनुभयो ।

‘धनकुटा नगरपालिकालाई स्मार्ट सिटी बनाउने अभियान अन्तरगत पहिलो चरणमा निगाले, तामाङ टोल र कैलेनी टोललाई स्मार्ट भिलेज बनाउन लागिएको हो’, वातावरण प्रमुख खनालले भन्नुभयो ।

नगरपालिका क्षेत्र भित्रका प्रत्येक घरमा प्लाष्टिकको पोखरी निर्माणको काम अघि बढेको छ । प्रत्येक प्लाष्टिकको पोखरी निर्माण गर्न झण्डै ९ हजार लागत लाग्ने गर्दछ । त्यस मध्ये नगरपालिकाको ६ हजार बेहोर्ने गरेको छ भने सम्बन्धित व्यक्तिले ३ हजार बराबरको जनश्रमदान गर्ने गरेका छन् ।

९ हजारको लागतमा निर्माण गरिएको प्लाष्टिक पोखरीको साइज एक मिटर उचाई, २४ मिटर लम्बाई र १८ मिटर चौडा रहेको छ भने पोखरीमा झण्डै १० हजार लिटरभन्दा बढी पानी अट्छ ।

धनकुटा नगरपालिकाले वडा नं. १ देखि प्लाष्टिकको पोखरी निर्माण अभियान संचालन गरिपछि यो अभियान प्रभावकारी बन्दै गएकाले नगरपालिकाको वडा नं. २ मा ६ वटा, वडा नं. ४ मा प्रत्येक घरमा एक वटा प्लाष्टिक पोखरी आफ्नै लगानीमा स्वतस्फूर्त निर्माण गरिएको धनकुटा नगरपालिकाले जनाएको छ ।

प्लाष्टिक पोखरीमा संकलन गरिएको पानीले खास गरेर सुख्खा समयमा बोटविरुवा तथा सागसब्जीमा लगाउन, गाईबस्तुलाई खुवाउन, भौतिक निर्माणको लागि र माछा पालन गर्न समेत सहज भएपछि धनकुटा नगरपालिका–४, स्कुलडाँडामा निर्माणाधिन अवस्थामा रहेको ह्रिन्छेन छ्योलिङ्गगुम्बाले आफ्नै लगानीमा २५ हजार लिटर क्षमताको आकासे प्लाष्टिक पोखरी निर्माण गरेको छ ।

गुम्बा निर्माणको क्रममा पानीको अत्यन्तै समस्या भएपछि आफ्नै लगानीमा २५ हजार लिटर क्षमताको आकासे प्लाष्टिक पोखरी निर्माण गरिएको गुम्बा निर्माण समितिका अध्यक्ष इमानसिंह तामाङले बताउनुभयो । पोखरी निर्माणको क्रममा खाल्डो खन्दा ६ हजार, प्लाष्टिक किन्दा ६ हजार, अन्य आवश्याक सामग्री खरिद गर्दा र जनश्रमदान सहित ६ हजार गरी झण्डै १८ हजार खर्च भएको अध्यक्ष तामाङको भनाई छ ।

गएको आर्थिक वर्षमा ५० वटा प्लाष्टिक पोखरी निर्माण गरेको नगरपालिकाले चालु आर्थिक वर्षमा एक सय वटा प्लाष्टिक निर्माण गर्ने जनाएको छ । नेपालकै सफा नगरपालिकाको रुपमा गएको वर्ष पुरस्कृत समेत भइसकेको धनकुटा नगरपालिकाले नगरलाई स्मार्ट सिटी बनाउने अभियान अन्तरगत अहिले धनकुटा बजार क्षेत्रका सम्पूर्ण निजी तथा सरकारी खाली जमिनहरु सफा गर्दै विभिन्न प्रजातिका फलफूलहरु रोपेको छ ।

फोहोरबाट मोहोर समेत कमाउदै आएको धनकुटा नगरपालिकाले फोहोर फाल्ने डम्पिङ साइडमा फूल रोपेर सफा र नमुना डम्पिङ साडइ निर्माण गरी बाहिरबाट अवलोकन गर्न आउने विभिन्न संघसंस्थाहरुसँग पटकको ५ हजार रुपैयाँ शुल्क लिएर आम्दानी पनि गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया